+
+

चौधरी ग्रुपलाई सञ्चारमन्त्रीको प्रश्न-सवा करोड डलर सरकारी अनुदानले के गर्नुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १ गते १६:४९

१ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले चौधरी ग्रुपको सीजी टेलिकमसँग सरकारले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि दिएको सवा करोड डलर अनुदानबाट भएको कामबारे प्रश्न उठाएका छन् । सिजी टेलिकमले सरकारबाट लिएको उक्त अनुदान रकम हिनामिना भएको हुन सक्ने उनको आशंका छ ।

बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बास्कोटाले सीजीले स्वामित्व किमेको एसटीएम कम्पनीलाई सरकारले सन् २००४/०५ ताका  दिएको १ करोड १८ लाख ६५ डलर (एक अर्ब ३५ कुरोड रुपैयाँ) अनुदान उपयोग कहाँ कसरी भयो देखाउनुपर्ने बताएका छन् । कम्पनी किनेपछि दायित्व पनि सर्ने भएकाले चौधरी ग्रुपले त्यसको परिणाम देखाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री बास्कोटाले यो रकमको सदुपयोग भयो/भएन भनेर अब अध्ययन हुने बताए । ‘पूर्वाञ्चलमा ५३४ गाविसमा दूरसञ्चार सेवा पर्‍याउन सरकारले विश्व बैंकसँग ऋण लिएर उहाँहरुलाई रकम दिएको थियो,’उनले भने, ‘त्यसमा पूर्वशर्तहरु थिए, १०६८ वटा पीएसओहरु खोल्नुपर्ने शर्त थियो, खै त ती भिस्याटमा उपकरण ?’

उनले सीजी प्रक्रिया पुुरा गरेर आए लाइसेन्स दिन सकिने भन्दै ढोका हुँदा हुँदै झ्यालबाट छिर्न खोजेको आरोप पनि लगाए । सीजीले ४१ जिल्ला र ५३५ गाविसमा मोबिलटी सर्भिस पुर्‍याउन लाइसेन्स पाएपनि त्यसको पूर्वशर्तहरु पुरा गरे/नगरेको सरकारले हेर्ने बताए ।

‘विगतमा मन्त्रिपरिषदबाट लाइसेन्स पूर्वशर्त आफ्नो अनुकुलतामा बदल्ने काम भयो, जो राजपत्रमा प्रकाशित भएको छैन, राजपत्र निकाल्ने काम त्यो काम दूरसञ्चार प्राधिकरणको हैन,’ उनले भने ।

उनले लगानीकर्तालाई सरकारले सँधै स्वागत गर्ने भएपनि उनीहरुमा पनि इमान्दारिता आवश्यक हुने बताए । उनले उल्टोपाल्टो गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए ।

मन्त्री बास्कोटाले लाइसेन्सबापत कति तिर्नुपर्ने हो भन्ने आफूलाई जानकारी नभएको बताए । तर, नीतिगत रुपमा प्रक्रिया पुर्‍याएर आउन आफूले बारम्बार भनिरहेको उनको भनाइ छ ।

‘जिद्दी र फट्याइँसँग किन झुक्नुपर्‍यो, मैले माफी माग्नुपर्ने केही छैन, जहाँ कति बर्बराउने बर्बराउनुस्,’ सीजीलाई संकेत गर्दै भने भने,’तोकिएको पूर्वशर्तहरु पालना नगर्दा कसको अधिकार छिनियो ?’

उनले सीजीले गरको जत्ति मन्त्रीले गरको भए भ्रष्टाचारको आरोप लागिसक्ने बताए । ‘कर्मचारीतन्त्रलाई त अख्तियारले पाता फर्काइसक्थ्यो,’ उनले भने ।

बार्सिलोनामा सीजीले प्रविधि भित्र्याउनेबारे एक विदेशी कम्पनीसँग सम्झौता गर्दा आफू संयोगले त्यहाँ पुगेको उनले बताए ।  ‘घुम्दै जाँदा उहाँहरु त्यही उभिनुभएको रहेछ, प्रविधि भित्र्याउनेबारे सम्झौता हुँदैछ, बसिदिनुपर्‍यो भन्नुभयो,’ उनले भने,’म कतै साक्षी बसेको छैन, लाइसेन्स दिन्छु भनेर ल्याप्चे पनि हानेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?