Comments Add Comment

बलात्कार प्रयास मुद्दामा महराले पाए सफाइ

५ फागुन, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् ।  जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर सोमबार सफाइ दिने फैसला सुनाएको छ ।

अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठकाअनुसार पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएका हुन् । महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद सचिवालयकी कर्मचारीले अदालतसमक्ष भने महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन् ।

त्यस्तै औंठाछापलगायत फरेन्सिक जाँचको रिपोर्टबाट पनि महरा उक्त घटनामा संलग्न नभएको देखिएकाले सफाइ पाएका श्रेष्ठले बताए । आदेश लगतै महरा डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

आज भएको फैसलामा प्रतिवादी कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । त्यसको संक्षिप्त आधार प्रतिवादीको अनुसन्धानका क्रममा भएको बयान, र यस अदालतमा भएको बयान पुष्टि गर्दै जाहेरवाली पीडितले दिएको वकपत्रले प्रतिवादीको इन्कारी बयानलाई पुष्टि गर्दै यी प्रतिवादी वारदातका दिन आˆनो कोठामा आउँदै नआएको र प्रतिवादीले कुटपिटलगायतका र अभियोग दाबी बमोजिमको कोशिश नगरेको भनी स्पष्ट खुलाइदिएको र साथै औंठाको छाप जाँच गर्ने विशेषज्ञको प्रतिवेदन र वकपत्र, परीक्षणका लागि पठाइएको गिलास, चश्मालगायत औंठाको छाप प्रतिवादीको औंठाको छापसँग तुलनात्मक रुपमा विश्लेषण गर्न नपाइएको भन्नेसमेतका आधारमा अभियोग दावी बमोजिम कसुर गरेको स्थापित हुन नआएबाट प्रतिवादीले अभियोगबाट सफाइ पाउने ठहर्छ-

आनन्दप्रसाद श्रेष्ठ, जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार

के हो मुद्दा ?

प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो ।

यो घटना १३ असोजमा बाहिर आयो ।  त्यसबेला महरा र उनको सचिवालयले आरोप अस्वीकार गरेको थियो । त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए । तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकाल्यो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।

लगत्तै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन् । उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा उनले बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।

पीडित भनिएकी महिलाले अदालतमा पनि बलात्कार प्रयास नभएको बयान दिएकी थिइन् । तर  उपलब्ध प्रमाणका आधारमा महरा कसूरदार होइनन् भनी मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो ।

डिल्लीबजार कारागारमा रहेकै अवस्थामा महरा उच्च अदालत पाटनमा पुगे । उच्च अदालतले जिल्लाको आदेश सदर गर्‍यो, तर मुद्दाको अन्तिम फैसला छिटो गर्न आदेश दियो । त्यसअनुसार सुरू भएको बहस आइतबार नै सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment