+
+

नेकपाका प्रवक्ता भन्छन् – अडियोबारे पार्टीमा छलफल होला

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते १३:०६

८ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारमन्त्रीको अडियोको आधिकारिकताबारे पार्टीले बुझ्ने र त्यसमाथि छलफल हुन सक्ने बताएका छन् ।

सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले करौडौं कमिसन मागेको र कर्मचारीबारे अश्लील टिप्पणी गरेको अडियो भाइरल भएपछि हामीले नेकपाका प्रवक्तासँग यसबारे पार्टीले के गर्छ भनेर सोध्यौं ।

जवाफमा नेकपा सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामीले यो अडियोको आधिकारिताकताका बारेमा बुझेर पार्टीभित्र कुनै छलफल गरेका छैनौं, हामी यसको आधिकारिकताका बारेमा बुझ्छौं, त्यसपछि पार्टीमा छलफल होला ।’

सञ्चारमन्त्रीसँग यथार्थ बुझेपछि थप कदम

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग कुरा गरेपछिमात्र अडियो प्रकरणमा निर्णय लिने भएका छन् । पार्टी अध्यक्ष प्रचण्डसँगको छलफलमा ओलीले बास्कोटाबाट यथार्थ कुरा बुझेपछि अरु कदम चाल्ने बताएका हुन् ।

सुरक्षण मुद्रण छापाखानासम्बन्धी एक विदेशी कम्पनीका एजेण्ट र मन्त्री बास्कोटाबीच भएको भनिएको अडियो संवाद प्रकरणमा छलफल गर्न प्रचण्ड बिहीबार विहानै बालुवाटार गएका थिए । दुई नेताबीच के कुरा भयो भन्ने जानकारी दिइएको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पहिले मन्त्रीको कुरा सुनेपछि अरु कुरा आउने बताए । मन्त्री बास्कोटा कन्चनपुरमा रहेकाले काठमाडौं फर्किएपछि कुरा कुरा हुने थापाले बताए ।

सुरक्षण मुद्रण खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग सञ्चारमन्त्री बास्कोटाले कमिसनको विषयमा कुराकानी गरेको अडियो यतिबेला भाइरल भएको छ । अडियोमा मन्त्रीले आर्थिक विषयमा मात्र कुरा गरेका छैनन्, कर्मचारीलाई अश्लील शब्दले गाली गरेर सांस्कृतिक दरिद्रतासमेत देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?