१८ फागुन, पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा फागु पूर्णिमाको अवसरमा तेस्रो संस्करणको घोडा दौड प्रतियोगिता हुने भएको छ ।
घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आगामी फागुन २६ गते (फागु पूर्णिमा) अन्नपूर्ण गाउँपालिका ११ मा विविध सांस्कृतिक कार्यक्रमसँगै घोडा दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
घान्द्रुकमा आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजबहादुर गुरुङले मौलिक पर्वको रुपमा रहेको फागु पूर्णिमाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
दौडमा च्याम्पियन बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५५ हजार, दोस्रो र तृतीय बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश ३५ र २५ हजार रुपैयाँ हात पार्ने उनले बताए ।
प्रतियोगिता आयोजना गर्नका लागि अनुमानित कुल ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।