Comments Add Comment

लघु कथा : सासू-बुहारी

कामबाट फर्किन्छु । आमाको बोली खस्छ । तेरी स्वास्नीले यस्तो भनी । उस्तो भनी । मैले भनेको केही टेर्दिन । मैले यो गर् भन्छु, उसले अर्कै गरिदिन्छे । माइतीमा राम्रो संस्कार सिकेकी भए पो !

आमालाई सम्झाउन खोज्छु । बुझ्नुहुन्न । अब मैले के भन्नु ? सुनिदिन्छु । र, चुप लागेर बसिदिन्छु ।

श्रीमती गर्भवती थिई । गाँउमा खसी काट्दा आमा पुगिहाल्नुहुन्थ्यो । एक, दुई भाग ल्याइहाल्नुहुन्थ्यो । खाना खानेबेला हुन्थ्यो । अरुलाई भन्दा बुढीलाई एक-दुई, डाडु बढी नै पर्थ्यो । आमा प्याच्चै बोलिहाल्नुहुन्थो, ‘पछि जीउ हलुका भएपछि मसँग कराउन नसक्लिस्, अघाउन्जेल खा, जीउ बिग्रेला ।

घर खर्च टार्न आमाले घिउ बेच्नुहुन्थ्यो । दुई महिना भइसक्यो, बेच्नुभएको छैन । खाना खाने बेला गर्भवती बुहारीका भागमा एक- दुई चम्चा घिउ परिहाल्छ ।

श्रीमती पनि के कम । सुत्नेबेला भो, आमाको कुरा गरिहाल्छे ।

तपाईकी आमा यस्ती । तपाईकी आमा उस्ती । आज मलाई यो गर्नुभयो । त्यो गर्नुभयो । म त अर्काकी छोरी, केको माया लाग्थ्यो ? मै मात्र त छु, जोतिने । यो घरको नोकर न परंे ।

कामबाट आयो, सधैं आमाको कचकच । सुत्नेबेला भो, श्रीमतीको कचकच । मलाई दिक्क लागेर आउँछ ।

चर्पी जाँदा आमा लड्नुभएछ । श्रीमतीले डोकोमा हालेर अस्पताल लगि छे । साँझ कामबाट फर्किँदा घरमा कोही छैनन् ।

हतारिएर अस्पताल पुगेँ । धन्न, केही भएन छ । आमाको ढाडमा अलिकति चोट लागेछ । दुई दिन अस्पताल बस्नुपर्ने भयो ।

आमा कराउँदै हुनुहुन्थ्यो, केही भा’को छैन भनेको, सुन्दिन । डोकोमा हालेर कुदाइहाली । मैले भनेको कसले सुन्छ र ?

श्रीमती कुनामा बसेर हाँस्दै थिई ।

म अचम्ममा पर्दै थिएँ । दुईजीउकी महिलाले कसरी ल्याई होली ? त्यत्रो शक्ति कहाँबाट आयो होला ?

मैले कचकच मात्र देखेको रहंेछु । सासू-बुहारीको माया देखेकै रहेनछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment