+
+

मोरङमा धर्मको नाममा वन विनाश

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७६ चैत २ गते १९:११

२ चैत, विराटनगर । मोरङमा चारकोशे झाडी अतिक्रमण बढेको छ । पूर्व पश्चिम राजमार्ग आसपासको वन क्षेत्रमा सुकुम्बासी, सिमसार, धार्मिक मठमन्दिर, जातीय संघसंस्था, सामुदायिक भवन, खेलमैदान, सट्टाभर्ना, पुनर्बास, भुटानी शरणार्थी शिविरलगायतका नाममा बढेको अतिक्रमण रोकिको छैन ।

जिल्लाको कुल ४४ हजार हेक्टर वन क्षेत्रमध्ये ५८२ हेक्टर अतिक्रमणमा परेको र त्यसमा एक हजारभन्दा बढी घरपरिवार बसेको डिभिजन वन कार्यालयका सहायक अधिकृत रामलखन ठाकुर बताउँछन् ।

उनका अनुसार, मोरङमा १२ वटा जातीय संस्थाले ४४ हेक्टर सामुदायिक र राष्ट्रिय वन हडपेर ठुल्ठुला संरचना बनाउनुका साथै धार्मिक वन दर्ता गरेका छन् । यसवाहेक कुन वन क्षेत्रमा कसले, कहिले, कति अतिक्रमण गरेको छ भन्ने यकीन तथ्यांक डिभिजन वन कार्यालयमा छैन ।

बेलवारीपूर्व मंगलबारेसम्म सामुदायिक वन क्षेत्रमा धेरै अतिक्रमण भएको सहायक वन अधिकृत ठाकुर बताउँछन् । त्यहाँ स्थानीय समुदाय र नेतृत्व नै अतिक्रमणमा लागेको भन्दै उनले भने, ‘वन जोगाउन लाग्नुपर्ने स्थानीय नै मास्न लागेका छन् ।’

उनका अनुसार, मोरङमा १३४ वटा सामुदायिक वन छन्, जसले कुल २० हजार ५२८ हेक्टर क्षेत्र ओगटेका छन् । वन क्षेत्रभित्र अहिले ११ वटा खेलमैदान बनेका छन् । वन क्षेत्रमा धर्म–संस्कृतिको नाममा जारी अतिक्रमण पनि बढ्दो छ । वन जोगाउने पहल नहुँदा जातीय संस्थाहरुले वन कब्जा गरेर विभिन्न संरचना ठड्याउने क्रम बढेको छ ।

राजमार्गको बेलबारी–उर्लाबारी २५ किलोमिटर खण्डको दक्षिणतर्फ वन मासिने क्रम नरोकिएको बेलवारी चिसाङ साझेदारी वन समितिका संयोजक दिनेश गिरी बताउँछन् । जिल्लाको सामुदायिक वनमा धार्मिक वन क्षेत्र बढेको भन्दै उनले अब एक्लो प्रयासले वन जोगाउन नसक्ने देखिएको बताउँछन् ।

‘धेरैले जातीय–धार्मिक संवेदनासंग जोडेर वन क्षेत्रमा मठ–मन्दिर, गुम्वा आदि बनाएका छन्’ गिरी भन्छन्, ‘यस्ता संरचनालाई हटाएर भन्दा पनि व्यवस्थापन गरेर वन जोगाउनुपर्ने अवस्था आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?