
३ चैत, काठमाडौं । व्यापारीले लुकाएको ठाउँबाट बरामद मास्क बजारमा बिक्री वितरणका लागि पठाइने भएको छ ।
मास्क लुकाउनेविरुद्ध मुद्दा चलाउने क्रममा जिल्ला प्रशासन कार्यालयमा प्रमाणस्वरुप बरामद मास्क पेश गर्नुपर्ने हुँदा बजारमा पठाउने कि नपठाउने भन्ने अन्योल भएको थियो ।
महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरीले बरामद गरेको मास्क अविलम्ब बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
उनले प्रहरी प्रमुख ठाकुर ज्ञवालीलाई पत्र लेखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर बरामद मास्कको मूल्य र नमुनासहितको अभिलेख एवं फोटोसहितको डिजिटल अभिलेख राखेर बजारमा पठाउन निर्देशन दिएका हुन् ।
बरामद मास्क थन्किरहँदा बजारमा मास्क अभाव कायमै रहने हुँदा डिजिटल अभिलेख राखेर बजारमा पठाउन सुझाव दिएको महान्यायाधिवक्ता खरेलको भनाइ छ ।
त्यस्तै बरामद मास्कहरुको हालको बजार मूल्य अनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई सो रकम प्रहरीको धरौटी खातामा राख्न महान्यायाधिवक्ताको निर्देशन छ ।
त्यसपछि मुद्दा अभियोजनका क्रममा धरौटी खाताको रकम बरामद गर्न मागदावी गर्न महान्यायाधिवक्ताको सुझाव छ । प्रहरीले केही दिनयता १० लाख भन्दा बढी थान मास्क बरामद गरिसकेको छ ।
प्रतिक्रिया 4