+
+

कालोपत्रे ढिलाइ भएपछि स्थानीयले गरे सडक अवरुद्ध

बिकास मरहट्टा  बिकास मरहट्टा 
२०७६ चैत ४ गते १३:१४

४ चैत, गोरखा । बाह्र किलोदेखि सिर्दिखोला सडकखण्ड कालोपत्रेको काममा ठेकेदारले लापरबाही गरेको भन्दै मंगलबार स्थानीयले सडक अवरुद्ध गरेका छन् । सिर्दिखोला पुल नजिकै ढुङ्गा र मुढा राखेर सडक अवरुद्ध पारिएको हो ।

समयमै कालोपत्रे नहुँदा धुलोले सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ । ‘दिनमा सयौं गाडी गुड्छन्, टिपर र ट्याक्टर बढी गुड्दा धुलो उडेर घरमा बसीसाध्य हुँदैन,’ सिर्दिका एक स्थानीय महिलाले भनिन्, ‘कालोपत्रेको काममा पनि ढिलासुस्ती गरेपछि बन्द गर्न बाध्य भएका हौं ।’

धुलोका कारण घरको झ्याल ढोका समेत खोल्न नपाइने उनले गुनासो गरिन् । ‘धुलो उडेर खाना पकाउन पाइँदैन, लुगा धोएर सुकायो भने धुलोले फेरि उस्तै हुन्छ,’ उनले भनिन् ।

ठेकेदारले काम नगरेका कारण सडक अवरुद्ध पारिएको छेवेटारका प्रदीप कुवँरले बताए । ‘बाटो बनाउन भनेर पहिला भएको अलिअलि कालोपत्रे पनि उप्काएर सडक बिगारे, अहिले बिजोग छ,’ उनले भने । बाह्र किलो, सिर्दि, छेवेटार लगायतका स्थानीय भेला भएर सडक अवरुद्ध पारिएको उनले जानकारी दिए ।

बाह्र किलोदेखि सिर्दिखोलासम्मको सडक कालोपत्रेको काम केही दिन देखि रोकिएको छ । कालोपत्रेको जिम्मा पाएको गोरखा एप्रोप्रियट फर रिकन्स्ट्रक्सनका उत्तम भट्टले एक/दुइ दिनमै काम सुरु हुने आश्वासन दिए । ‘सबै काम सकेर पिच गर्न मात्र बाँकी छ,’ उनले भने, ‘पिच गर्ने कामदार होली मनाउन गएका कारण काम सुरु नभएको हो । घर गएका १४ जना मजदुर फर्किएपछि पर्सीबाट काम सुरु हुन्छ ।’

करिब ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको उनको दाबी छ । कुल एक करोड ७७ लाखमा ठेक्का सम्झौता भएको उक्त काम गत पुष मसान्तमै सक्नुपर्ने थियो । काम सम्पन्न नभएपछि बैशाख मसान्तसम्म म्याद थप गरिएको ११ किलो छेपेटार–भालुस्वाँरा–बारपाक सडक योजना कार्यालयका इन्जिनियर राजेश कुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?