
५ चैत, काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न नेपाली शान्ति सैनिकले आवश्यक नियन्त्रणात्मक र निषेधात्मक उपायहरु अवलम्बन गरेको जंगीअड्डाले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामको सन्दर्भमा उच्च सतर्कता अपनाइएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको हो ।
मिसनमा तैनाथ शान्ति सैनिकहरुद्वारा सचेतना कार्यक्रम र संक्रमणबाट खतरामुक्त रहेको एकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
उनका अनुसार संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कबाट सर्तकता अपनाउन निर्देशन प्राप्त भइरहेको छ भने नेपाली सेनाको जंगी अड्डाबाट समेत मिशनमा तैनाथ शान्ति सैनिकहरुका लागी निरन्तर रुपमा आवश्यक निर्देशन जारी भइरहेको छ ।
हाल विश्वका ११ वटा मुलुकमा ५ हजार एक सय एक जना नेपाली शान्ति सैनिकहरु कन्टिन्जेन्ट र सैनिक पर्यवेक्षण कार्यमा संलग्न छन् । संक्रमण जोखिमको मूल्याङ्कन गरी नेपाली शान्ति सैनिकहरुद्वारा आफ्ना अपरेशनल तथा अन्य गतिविधिहरु सीमित गरिएको पाण्डेले बताए ।
नेपाली शान्ति सैनिकहरुले पनि स्थानीय बासिन्दालाई समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका उनको भनाइ छ ।
दक्षिण सुडानले चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरुको हवाई आवगमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिकहरुको रि–डिप्पोयमेण्ट पनि हाललाई स्थगित भएको पाण्डेले जनाए ।
प्रतिक्रिया 4