१० चैत, जनकपुरधाम । कोरोना भाइरसको संक्रमणबाट जोगिन जनकपुरधामका अति आवश्यक बाहेक सबै पसल बन्द गरिने भएको छ । उद्योग वाणिज्य संघ जनकपुरधामले मंगलबारदेखि ६ दिनका लागि यहाँका सबै पसल बन्द हुने जनाएको छ ।
अति आवश्यक खाद्यान्न, किराना, औषधि, ग्यास, फलफूल, दूध, तरकारी र पेट्रोल पम्पबाहेक सबै पसल बन्द हुने संघका अध्यक्ष ललितकुमार साहले बताए । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै पसलहरु बन्द गरिने बताए । साहकाअनुसार आगामी चैत १६ गतेसम्मका लागि पसलहरु बन्द रहनेछ ।
सोमबारदेखि जनकपुरधामबाट न्यून सवारीसाधन चलेका छन् । बजारमा भीड हवात्तै घटेको छ भने जानकी मन्दिर पनि सुनसान देखिएका छन् ।
उद्योग वाणिज्य संघले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।