
११ वैशाख, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले दीर्घरोगीलाई घरमै औषधि पुर्याउने गरेको छ । नियमित औषधि सेवन गर्नु पर्ने बिरामीलाई लकडाउनमा समस्या नहोस् भनी नगरपालिका आफै बिरामीको घरमै औषधि पुर्याउन थालेको हो ।
दीर्घरोगीहरुले उपमहानगरपालिकाको टोलफ्री नम्बर १६६०८२५२००० मा सम्पर्क गरेपछि उनीहरुलाई आवश्यक औषधि घरैसम्मै पुर्याइदिने गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमले केसीले जानकारी दिए । ‘प्रेसर, सुगर र दमको औषधि हामीले निःशुल्क रुपमा उपलब्ध गराएका छौ,’ केसीले भने ।
उनले वडावडामा रहेका स्वास्थ्य केन्द्रमार्फत औषधि वितरण गरिने पनि बताए । औषधि आवश्यक भएको मान्छे चिकित्सकले दिएको पर्चा लिएर आफै आउन सक्ने या आवश्यकता अनुसार उसलाई घरमै औषधि पुर्याउने गरिएको उनको भनाइ छ ।
अन्य दीर्घरोगको औषधि सेवन गरिरहेकाहरुलाई पनि उपमहानगरपालिकाले घरमै औषधि उपलब्ध गराएको छ ।
नेपाल फार्मेसी एसोसियसन दाङ्गका अध्यक्ष सुलभ अधिकारीका अनुसार मानसिक, मुटुजन्य, नशाजन्य, थाइराइडका साथै जटिलखालको मधुमेहलगायतका औषधिहरु घरमै पुर्याइने गरिएको हो ।
दीर्घरोगीलाई घरसम्म औषधि पुर्याएवापत कुनै पनि अतिरिक्त शुल्क नलाग्ने पनि उनले जानकारी दिए । ुफार्मेसीसँग सम्बन्धित व्यक्तिबाट औषधि पुर्याइने भएकाले आवश्यक परामर्श पनि दिइन्छ,’ अध्यक्ष अधिकारीले बताए ।
उपमहानगरपालिकाभित्र दुई हजार २३३ जना दीर्घरोगी रहेको जनस्वास्थ्य शाखाको तथ्याङ्क रहेको छ । जसमा एक हजार १६८ मुटुजन्य, ४३९ मधुमेह, ४५१ दमजन्य र १७५ जना अन्य रोगका बिरामी रहेका छन् ।
प्रतिक्रिया 4