Comments Add Comment

सावधानी अपनाउँदै स्थानीय तहले थाले विकास निर्माण

२३ वैशाख, चितवन । विकास निर्माणको काम गर्ने मुख्य समयमा लकडाउन भएपछि रोकिएका कामलाई चितवनका स्थानीय तहले निरन्तरता दिन थालेका छन् । उच्च सावधानी अपनाउँदै पालिकाहरूले सहजीकरण गरेर काम सुरु गरेका हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार, महानगरपालिकाले आवश्यक सहजीकरण गरेर विकास निर्माणको काम अगाडि बढाएको छ ।

महानगरपालिकामा सडक कालोपत्र, ग्राभेल, ढल निर्माण, वडा कार्यालय भवन निर्माणजस्ता काम सुरु भएका छन् । जोशीका अनुसार एक अर्ब हाराहारीको विकासका काम यस वर्ष महानगरले गर्दैछ । आधा जति काम सकिएको भए पनि बाँकी काम सक्नका लागि सहजीकरण गरिएको उनले जानकारी दिए ।

महानगरमा धेरै काम सडक कालोपत्रे छन् । महानगरभित्रै चार अस्फाल्ट (तयारी अलकत्रा) बनाउने उद्योग रहेका छन् । तिनै उद्योग सञ्चालन गरी काम अगाडि बढाइएको छ । महानगरले सहरी विकास, सडक विभाग, सिँचाइ विभागअन्तर्गतका आयोजनाका कामका लागि पनि सहजीकरण गरिरहेको उनले बताए ।

महानगरपालिकाका नौ वटा वडा कार्यालय भवन निर्माण एवं मर्मतसम्भार भइरहेका छन् । ती काम पनि अगाडि बढाइएको छ । निर्माण कम्पनीलाई आवश्यक कच्चा पदार्थ व्यवस्थापनमा सहयोगसँगै सवारी र मजदुर हिँडडुलका लागि इजाजतको व्यवस्था महानगरले गरेको छ ।

राप्ती नगरपालिकामा पनि काम थालिएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार, अत्यावश्यक र अधुरा आयोजनालाई उच्च प्राथमिकतामा राखिएको छ । सो क्षेत्रमा तटबन्ध, कुलो, सडक कालोपत्र, ढल, सडक ग्राभेलजस्ता विकासका आयोजना रहेका छन् । बरालका अनुसार, चालु आर्थिक वर्षमा ४७ करोड रुपैयाँको विकास बजेट विनियोजन गरिएको छ । सोमध्ये ८० प्रतिशत हाराहारीको सम्झौता भई आधा काम सम्पन्न भइसकेको छ ।

बाँकी सम्झौता गर्ने र कामलाई तीव्रता दिन नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको उनले जानकारी दिए ।

इच्छाकामना गाउँपालिकाले पनि कोरोना भाइरसको संक्रमणसँग जोगिँदै काम थालेको छ । गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले पुल, खानेपानी, सडकजस्ता पूर्वाधारका काम अगाडि बढाउन थालिएको बताइन् । विद्युतीकरणको काम भने सुरु हुन सकेको छैन । सामाजिक दुरी कायम गरी स्थानीय मजदुरलाई रोजगारी दिनेगरी काम अगाडि बढाइएको छ । सोही गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले विकासका कार्यक्रम अगाडि बढाउँदा राहत दिनुपर्नेको संख्या घट्ने बताए ।

भरतपुर महानगरपालिका-११ मा आइतबारबाट सडक कालोपत्रको काम नै थालिएको छ । वडाध्यक्ष बाबुराम अधिकारीले निर्माण कम्पनीलाई सहयोग गर्न सकेमा विकासका कामसँगै स्थानीयवासीले रोजगारी पाउने बताए ।

संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अवलम्बन गर्दै काम थालिएको अधिकारीको भनाइ छ ।

जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । सबै पालिकाले विकासका काम अगाडि बढाउने तयारी गरिहेका छन् । यससँगै नारायणी, राप्तीजस्ता नदीमा तटबन्ध निर्माणको काम, मानिसको कम चाप हुँदा गर्नैपर्ने सडकका काम, पुलका कामलाई प्राथमिकतामा राखेर निर्माण कम्पनीलाई काम लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment