Comments Add Comment

नरैनापुरका ५९ कोरोना संक्रमित अझै ‘अलपत्र’, आइसोलेसन वेडको अभाव

६ जेठ, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्दा भनेको थिए, हामीकहाँ ३३०७ जनालाई आइसोलसनमा राखेर उपचार गर्ने क्षमता छ ।’ त्यसध्ये करिव ३ हजार वेड खाली भएको उनको दाबी थियो ।

प्रधानमन्त्रीले संसदमा यसो भनिरहँदा बाँकेको नरैनापुर गाउँपालिकाका ५९ जना कोरोना संक्रमित अलपत्र थिए ।

प्रदेश ५ कोभिड अस्पताल तोकिएका बुटवलको धागो कारखाना, भैरहवाको भीम अस्पताल, नेपालगञ्जको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालका आइसोलेसन बेडहरु संक्रमितले भरिएका छन् । दाङ बेलझुण्डीको आयुर्वेद अस्पतालमा पनि केही बेड मात्र खाली छ । त्यही कारण संक्रमित अलपत्र पर्न थालेका छन् ।

सोमबार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएका नरैनापुर गाउँपालिकाका ५९ जना कोरोना संक्रमितल क्वारेन्टाइनमै रात काटेका छन् । संक्रमण देखिएका र नदेखिएका सबै एकै ठाउँमा बसे । गाउँपालिकाको स्वास्थ्य टोलीले मंगलबार बिहान मात्रै संक्रमितहरुलाई छुट्याएर राखेको छ तर अस्पताल लगिएको छैन । ‘संक्रमण पुष्टि भएकाहरुलाई तत्काल आइसोलेसनमा राख्नुपर्ने हो तर पर्याप्त पूर्वाधार नहुँदा जोखिम बढ्यो’ नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले भन्छन् ।

प्रदेश ५ सरकारले नेपालगञ्जस्थित सेनाको अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन केन्द्र सरकारलाई अनुरोध गरेको छ । तर अहिलेम्म प्रक्रिया अघि बढेको छैन ।

त्यसैले नरैनापुरका संक्रमितहरुलाई नेपालगञ्जको लायन्स डेन्टल हस्पिटल लैजाने तयारी भइरहेको छ । मंगलबार बिहान बसेको जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले संक्रमितलाई डेन्टल हस्पिटलसँगै कोहलपुरको कृषि सभाहलमा लैजाने निर्णय गरेको थियो । तर त्यहाँका स्थानीयले विरोध गरेका छन् ।

मंगलबार साँझसम्म नरैनापुरका कोरोना संक्रमितहरुलाई नेपालगन्जको खजुरारोड स्थित लायन्स डेन्टल अस्पताल ल्याउने तयारी भैरहेको छ’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठले भने–‘डेन्टल हस्पिटलमा सबै बिरामीको व्यवस्थापन नभए कृषि तालिम केन्द्रमा व्यवस्थापन गर्छौं ।’

प्रदेश ५ का चार वटा कोरोना विशेष अस्पतालमा आइसोलेसन बेड संख्या १ सय ८४ छन् । हाल ९९ जना कोरोना संक्रमित र १ सय ९५ जना कोरोना शंकास्पद विरामी भर्ना भएर उपचारतर छन् । त्यसैले वेडको अभाव भएको छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना संक्रमितलाई उपचारका लागि आइसोलेसन बेडको अभाव हुन नदिने गरी तयारी भइरहेको दाबी गरेका छन् । ‘यसरी संक्रमित बढ्लान् भन्ने अनुमान नै गरेका थिएनौं’ उनले भने, ‘अब भने पर्याप्त आइसोलेसन बेड बनाउंछौं ।’

प्रदेश ५ मा सोमबार साँझसम्म ६ हजार २०९ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ५ हजार २९ जनाको रिपोर्ट आएको छ भने ११ सयको रिपोर्ट आउन बांकी छ ।

प्रदेश ५ मा मंगलबारसम्म कोभिड–१९ को संक्रमित संख्या १७५ पुगेको छ । जसमध्ये बाँके जिल्लामा ९३ जना, कपिलवस्तु जिल्लामा ४७ जना, रुपन्देही जिल्लामा २७ जना, नवलपरासी पश्चिममा १ जना, बर्दिया जिल्लामा २ जना, दाङ जिल्लामा ४ जना र गुल्मी जिल्लामा १ जनामा संक्रमण भएको पुष्टि भएको छ । रुपन्देहीका एक संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment