Comments Add Comment

एन्फाको बजेट ७० करोड, थापाको कारबाही अनुमोदन

२० जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो आर्थिक वर्षका लागि ७० करोडको बजेट पारित गरेको छ ।

एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले २०७७/७८ का लागि फिफा, एएफसी र आन्तरीक स्रोतबाट जुटाउने गरी यो बजेट बनाएको हो । यो बजेट अघिल्लो आर्थिक वर्षभन्दा झण्डै दोब्बर हो । यसअघि ४३ करोडको बजेट थियो ।

एन्फा कोषाध्यक्षले आगामी आर्थिक वर्षको लागि ७० करोड ४१ लाख १९ हजार ६८५ रुपैयाँ बजेट पेश गरे । उक्त वार्षिक बजेट पारित गरी संघको आगामी साधारण सभामा अनमोदनका लागि पेश गरिने एन्फाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यसैगरी कोभिड१९ राहत सम्बन्धमा एक लाख डलर बराबरको फिफाको राहत कोष खडा गरेर सहयोग गरिने भएको छ । जसमा ४८ जिल्ला संघ ४ सदस्य समितिहरु १४ ए डिभिजन क्लब १२ बी डिभिजन क्लब र १४ सी डिभिजन क्लबहरुलाई ७५ हजारका दरले राहत दिने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय टिमको महिला र पुरुषतर्फ ३५-३५ जना खेलाडीहरुलाई १५ हजारले राहत खर्च दिने निर्णय भएको छ । साथै रेफ्री र रेफ्री एसेसरहरु गरी ३० जनालाई पनि राहत प्रदान गरिने भएको छ ।

यस्तै ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई गरिएको अस्थायी कारवाहीलाई एन्फा कार्यसमितिले अनुमोदन गर्दै अनुशासन समितिमा पठाएको छ ।

एन्फा डेको दिन थापाले भाइबर ग्रुपमा लेखेको म्यासेजको आधारमा एन्फाले स्पष्टीकरण मागेको थियो । त्यसमा चित्तबुझ्दो जवाफ नआएको भन्दै यसअघि एन्फाको सचिवालयले थापालाई अर्को साधारणसभासम्मको लागि अस्थायी निलम्बन गर्दै कारबाही गरेको थियो ।

यसैगरी एन्फाको १९ औं साधारण सभा भदौ १५ गते गर्ने निर्णय भएको छ । चैतमा हुने भनिएको साधारण सभा कोरोना भाइरसका कारण स्थगित भएको थियो ।

यदि कोभिड१९ कै कारण त्यो समयसम्म असामान्य अवस्था रहे एएफसी र फिफाबाट समेत मान्यता प्राप्त अनलाइन भर्चुअल माध्यमबाटै साधारण सभा बैठक बस्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment