+
+

खेतीपातीमा व्यस्त पूर्वसभामुख महरा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते ७:२९
बारी जोत्दै पूर्वसभामुख कृष्णबहादुर महरा । फोटो सौजन्य : पाण्डव शर्मा

२६ जेठ, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ ।

उनी तीन दिन अगाडि रोल्पा गएका थिए । खेतिपातीको समय सुरु भएकाले उनले पुर्ख्यौली गाउँ आएको बताएका छन् ।

‘राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्ख्यौली घर आएका छौं ।’

पारिवारिक सदस्यहरुका अनुसार महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुन्छन् । दिउँसो भेटघाट र छलफलमा बिताउँछन् । महराका ज्वाइँ पूर्ण केसीले भने, ‘उहाँ पहिलेदेखि नै कडा परिश्रम गर्ने मान्छे हो, अहिले पनि उस्तै काम गर्नु हुन्छ । जोत्ने, खन्ने, छर्ने सबै काम आउँछ उहाँलाई ।’ उनलाई जेठो छोरा एटमले सघाउने गरेको केसी बताउँछन् ।

महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । ती सम्पति पनि आफूले भोगचलन नगरी स्थानीय सहकारीलाई दिएको उनले सम्पति विवरणमा उल्लेख गरेका छन् । ती सम्पति सहकारीले फेरि महरालाई नै भोगचलन गर्न दिएको हो कि के हो भन्नेचाहिँ खुलेको छैन ।

यद्यपि महराका ज्वाइँसमेत रहेका रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले भने, धेरैजसो जग्गा रोल्पा पोलिटेक्निक कलेजलाई निःशुल्क दान गरेर थोरै पाखो बारी बाँकी राखेको र त्यसैमा महराले खनजोत गरिरहेको बताए ।

सभामुखजस्तो उच्च ओहोदामा पुगिसकेको व्यक्ति पनि कृषिकर्ममा संलग्न हुनुलाई रोल्पाली जनताले सकारात्मक रुपमा लिएको मेयर केसीले बताए । ‘कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको बेला कृषि उत्पादनलाई बढाउन गरिने गतिविधिलाई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने ।

सभामुख पदमा रहेकै बेला एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनले आफू राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले फसाइएको बताउँदै आएका छन् ।

यो प्रकरणपछि महरा धेरैजसो समय आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ र आसपासका क्षेत्रमा कार्यकर्ता भेटघाटका लागि गइरहन्छन् । पछिल्लो पटक करिब एक साताअघि स्वास्थ्य सामग्रीहरु लिएर महरा दाङ गएका थिए । दाङबाट उनी तीन दिन अगाडि रोल्पा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?