
उसो त नेपाली चलचित्रका कलाकारहरूको विषयमा ट्रोल बन्न थालेको लामो समय भइसकेको छ । कलाकारहरूको बोली उनीहरूको चलचित्रलाई लिएर सामाजिक सञ्जालमा ट्रोल हुने गर्छ।
तर ३ महिना लामो लकडाउनको समयमा कलाकारले बोलेका विषयलाई लिएर सामाजिक सञ्जालमा ठूलै चर्चा भयो । ‘राष्ट्रियताको विषय, जिल्लाको विषय, महानायकको विषय’मा कलाकारको बोली चिप्लिँदा आलोचनाको शिकार हुनुपर्यो ।
कलाकारहरूमाथि सामाजिक सञ्जालमा गालीगलौज पनि भइरहेका छन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कलाकारहरूलाई निकै तल्लोस्तरको गाली पनि गरेका छन्।
कलाकारहरूमाथि गालीगलौज बढेपछि चलचित्रसम्बन्धी संघसंस्थाले विज्ञप्ति नै जारी गर्दै कारबाहीको चेतावनी दिए । गालीगलौज नरोकिए नेपालमा रहेका सामाजिक सञ्जाल प्रयोगकर्तालाई साइबर कानुन र विदेशमा रहेकालाई परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएर कारबाही गर्ने चेतावनी विभिन्न ७ संस्थाले दिए ।
तर अहिले सामाजिक सञ्जालमा चलचित्रसम्बन्धी संघसंस्थाको यो निर्णयको चर्को विरोध भएको छ।
दर्शकलाई कारबाहीको चेतावनी दिने हो या गालीगलौज नगर्न आग्रह गर्ने हो भन्ने विषयमा आलोचना भइरहेको छ । यस विषयमा चलचित्रकर्मीहरूकै मत विभाजित छ । कारबाही गर्ने निर्णय गरेका चलचित्रकर्मीहरू फेक आइडी बनाएर गालीगलौज गर्ने क्रम बढेकाले कारबाही गर्ने चेतावनी दिएको बताउँछन् ।
तर केही चलचित्रकर्मी भने दर्शकलाई कारबाहीको चेतावनी दिनु गलत भएको बताउँछन् ।चलचित्र रिलिजको समयमा ‘दर्शक हाम्रा भगवान्’ भन्दै हात जोड्ने चलचित्रकर्मीहरू आज उनै दर्शकलाई कारबाहीमको चेतावनी दिइरहेका छन् । अधिकांश दर्शकले आफूहरूलाई कारबाहीभन्दा पनि कलाकारले बोल्ने बेलामा ध्यान दिनुपर्ने तर्क राखेका छन् ।
नायिका वर्षा राउत, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहलगायतले सामाजिक सञ्जालमा तल्लोस्तरको गाली खाइरहँदा मौन बसेका चलचित्रकर्मीहरू अहिले बल्ल तातेका छन् ।
प्रतिक्रिया 4