
२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् ।
उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो ।
‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘त्यसअनुसार टेकु, महाबौद्ध एसिया सिल गर्दैछौं ।’
जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ ।
सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।
उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृहमन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय पनि उपत्यकाका प्रजिअहरुले सहमति गरेका छन् ।
प्रतिक्रिया 4