+
+

डोटी बस दुर्घटनाका मृतक तीनै जनाको सनाखत, ७ जना गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते ११:४९

२८ साउन, डोटी । बुधवार बिहान ५ः३० बजे डोटीको पूर्वीचौकी गाउँपालिका-१ खिरसैन, तल्लो फुलोटमा भएको बस दुर्घटनामा परी मुत्यु भएकाहरुको सनाखत भएको छ ।

मृत्यु हुनेमा मंगलसैन नगरपालिका-७ अछामकी ५५ वर्षीया धनी शाही, बान्नीगढी जयगढ गाउँपालिका-३ का ६० वर्षीय पदम साउँद र चौरपाटी गाउँपालिका-४ घर भई बसका सहचालक टिकाराम बिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

दुर्घटनामा परी कैलाली जिल्ला, गोदावरी नगरपालिका-२ अत्तरिया घर भएका बसका चालक हेमबहादुर खत्रीसहित ३४ जना घाइते भएका छन् । घाइतेहरुको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुमध्ये १२ जना गम्भीर भएको अस्पतालले जनाएको छ । उनीहरुमध्ये सात जनालाई अन्यत्र रिफर गर्नु पर्ने अवस्था रहेको अस्पतालका चिकित्सक डा प्रमोद भट्टले जानकारी दिए ।

डा भट्टका अनुसार दुईजनाको टाउकोमा चोट लागेको, एकजनाको छातीमा चोट लागेको र चारजना हड्डी भाँचिएको छ । ‘हामी जाँच गर्दैछौं, अन्यलाई पनि रिफर गर्नु पर्ने हुन सक्छ,’ डा भट्टले भने, ‘अहिलेलाई सात जना रिफर गर्नु पर्ने देखिन्छ ।’

भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गईरहेको ना६ख २५२९ नं. को बस बुधबार बिहान करिब ५.३० बजे तल्लो फुलोट भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

बस सडकबाट करिब एक सय मिटर तल गएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको र घटनावारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।

चालकको लापरबाहीका कारण दुर्घटना भएको यात्रुहरुले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?