Comments Add Comment

मेसी अनुबन्ध गर्न सिटीले ३ खेलाडीसहित ८९.५ मिलियन पाउण्ड खर्च गर्ने

१२ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पानिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेसीलाई अनुबन्ध गर्नका लागि तीन खेलाडी साट्ने र त्यसमा केही रकम थप्ने तयारी गरेको छ ।

सिटीले सात सय मिलियन युरो मूल्य राखिएको मेसीलाई ल्याउनका लागि टिमका मुख्य तीन खेलाडीलाई साट्न प्रस्ताव गर्ने भएको हो ।

सिटीले मेसीका लागि ८९.५ मिलियन पाउन्डसहित बर्नार्डो सिल्भा, गाब्रिएल जेसस र एरिक गार्सिया क्याम्पनोउ पठाउने प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मेसीले मंगलबार क्लबलाई पत्र पठाउँदै बार्सिलोना छाड्न चाहेको बताएपछि अहिले सिटीलगायत केही क्लबहरुले उनलाई अनुबन्ध गर्न प्रयास गरिरहेका छन् । सिटीले पठाउने भनेका खेलाडीलाई बार्सिलोनाले पनि अनुबन्ध गर्ने चाहना राखेको थियो ।

यदि मेसीले बार्सिलोनामा छाडेमा र सिटीको अफर स्वीकार गर्दै म्यानचेष्टर गएमा पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग मेसीको पुनर्मिलन हुनेछ । यद्यपि बार्सिलोनाले त्यो अफरबारे के गर्नेछ भन्ने निर्णय भइसकेको छैन ।

बार्सिलोनाका अध्यक्ष बार्तामेउले मेसी क्लबमै बस्ने पक्का भए आफूले पदबाट राजीनामा दिनेसमेत बताइसकेका छन् । यस्तै मेसी नयाँ प्रशिक्षक रोनाल्ड कोएमनको पहिलो प्रशिक्षण सेसनमा पनि सहभागि हुने स्पानिस सञ्चारमाध्यमले जनाइसकेका छन् । अब यस्तो अवस्थामा के निर्णय हुन्छ त्यो हेर्न बाँकी नै छ ।

केही सञ्चारमाध्यमले मेसी सिटी जानेबारे एतिहाड क्लबसँग उनका बुबा तथा एजेन्ट यसअघि नै छलफल गर्न म्यानचेष्टर पुगिसकेको समेत जनाएका छन् । यद्यपि मेसीले बार्सिलोना छाड्ने पक्का नभएसम्म उनी कहाँ जान्छन् भन्न सकिने अवस्था छैन ।

सिटीसँगै फ्रेन्च क्लब पिएसजी र इटालियन क्लब इन्टर मिलानले पनि मेसीलाई अनुबन्ध गर्ने इच्छा देखाइरहेको छ । बार्सिलोनाले भने मेसी अझै क्लबमै रहने जनाउँदै आएको छ । क्याम्प नोउमा मेसीको सम्झौता अझै एक वर्ष बाँकी छ ।

१६ वर्षसम्म बार्सिलोनाको पहिलो टिममा खेलेका मेसीले क्लबका लागि ७३१ खेलमा ६३४ गोल गरेका छन् । साथै २८५ असिस्ट पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment