+
+

सडक भासिँदा दुई घर विस्थापित, आठ उच्च जोखिममा

रासस रासस
२०७७ भदौ ३० गते १७:०६

३० भदौ, गलकोट । बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भए पनि मानवीय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन भासिदै जाँदा कुनै न कुनै दिन ठूलो दुर्घटनाको जोखिम छ ।

बागलुङ नगरपालिकाले साँघुरो सडक रहेको देउराली चोकदेखि सन्डाँडा जाने सडक ढलान गरेको थियो । ढलान गरेको दुई वर्षमा नै सडक भासिएको छ । सडक भासिदा दुई घर विस्थापित भएका छन् भने आठ घर उच्च जोखिममा परेको छ ।

सडकको बीचभागमा बागलुङ नगरपालिकामा वितरण हुने खानेपानीको मुख्य पाइप गाडिएको छ । उक्त पाइप पटक पटक फुट्दा दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

सडक भासिएर निकै भिरालो भएको छ भने सवारी साधन मुस्किलका साथ आवतजावत भइरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको उक्त सडक देउरालीचोकदेखि सुन्डाँडासम्म झण्डै एक सय मिटर भासिएको सिद्धिविनायक टोल विकास समितिका अध्यक्ष प्रद्युन्न श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सवारी गुड्नै नमिल्ने गरी सडक भासिए पनि वैकल्पिक सडक नहुँदा जबरजस्ती सवारी गुड्न बाध्य भएका छन् । ‘हामीले पटक पटक वडा कार्यालय र बागलुङ नगरपालिकामा सडक मर्मतका लागि ध्यानार्कषण गराउँदासमेत अहिलेसम्म कुनै सुनुवाइ भएको छैन’, अध्यक्ष श्रेष्ठले भने, ‘सडकभन्दा धेरैतलबाट पहिरो समेत गएको छ, सामान्य खर्चले बन्न सक्ने अवस्था छैन, सवारी आवतजावत रोकेर तत्कालै सडक निर्माण थाल्नुपर्ने आवश्यकता छ ।’

सडक भासिन थालेपछि गत असोजमा सात लाख रुपैयाँ खर्चेर मर्मत गरे पनि पुनः सडक भासिएर समस्या भएको बागलुङ नगरपालिका–३ का वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिए ।

‘सडक मर्मतसम्भारका लागि हामी प्रयत्नशील छौं, जटिल भूगोल भएका कारण निरन्तर समस्या सृजना भइरहेको छ’, उनले भने, ‘नगरपालिकाले पाँच/सात लाख रुपैयाँ बजेट छुट्याएर भए पनि तत्काल सडक मर्मत गर्नेछ ।’ उनका अनुसार सबै सडक पुरानै अवस्थामा फर्काउनका लागि ५० लाख रुपैयाँको लागत अनुमानसहित प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको छ ।

उक्त सडक भासिदा राजकपुर श्रेष्ठ र शशिकपुर श्रेष्ठको घर बस्नै नमिल्ने गरी चर्किएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?