 
																			९ असोज, काठमाडौं । १२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीलाई भनेका छन्, ‘यो साधारण माग छ, पूरा गरिदिनुस् ।’
प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान बनाउने सहमति भएर चिकित्सा शिक्षा अध्यादेशमा आएपछि कार्यान्वयन नभएको डा. केसीले बताए । ‘कर्णाली प्रतिष्ठन खुलेको ८ वर्ष भइसक्यो, एमबीबीएस कार्यक्रम सुरु हुन सकेको छैन’ उनले भने, प्रदेश २ र ४ मा पनि निर्माण सुरु हुनुपर्ने हो ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका थुप्रै फाइल रोकेको भन्दै उनले आयुक्तहरुको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए । आफ्ना अरु माग पनि साधारण रहेको भन्दै उनले सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।
सरकारले सम्झौताहरु कार्यान्वयन गर्नुको साटो उल्लंघन गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ओली प्रधानमन्त्री भएको बेला पाँचौं पटक सत्याग्रह बसेका उनले भने, ‘तपाईंको कार्यकालमा उपलब्धि भएको छैन, बरु भएको गुम्ने अवस्था छ । हामी अनसन बसेकै बेलामा (चिकित्सा शिक्षा) ऐन ल्याउँदा पनि जनतामुखी बुँदा हटाएर माफियामुखी बुँदा ल्याउने काम भयो ।’
डा. केसीले ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ नगरपालिका-६ स्थित बाबिरामष्ट मन्दिरमा २९ भदौमा अनशन थालेका थिए । आठौं दिनमा जुम्ला छाडेका उनी हाल शिक्षण अस्पतालमा छन् र, उनको स्वास्थ्य कमजोर बन्दै गएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4