+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सिनेमाको शक्ति : जब सांस्कृतिक संशाधन बोकेर विश्व फन्को लगाउनेछ

शिव मुखिया शिव मुखिया
२०७७ कात्तिक २१ गते ९:२२

मानिलिऔं,

हाम्रो जिब्रो अनुकूल जुन लवज र भाषा छ, त्यो विश्वकै लागि सर्वप्रिय अनि अनुकरणीय भइदियोस् । हाम्रो ज्यानको वर्ण र बान्की अनुसार जुन लुगाफाटो छ, त्यो अधिकांशले पछ्याउने सर्वमान्य फेसन भइदियोस् । हाम्रो रैथाने उत्पादनको जुन खान्की छ, त्यो सबैले खोजी–खोजी खाने व्यञ्जन भइदियोस् । हाम्रो जीवन–पद्धति अनुरुप जुन चाड–पर्व छन्, त्यो संसारले रमाउने उत्सव बनिदियोस् ।

त्यसबखत स्वाभिमानले हाम्रो शीर उँचो हुनेछ । गौरवले छाती चौडा हुनेछ । अपनत्व बोधले हृदय फक्रिनेछ ।

यद्यपि,

यी ‘हाइपोथेटिकल’ कुरा हुन्, जो हाम्रो सांस्कृतिक सत्ताभन्दा कोसौं टाढा छन् । तबसम्म हामीलाई यस्तो कल्पना गर्न छुट नहोला, जबसम्म हाम्रो ‘सांस्कृतिक संसाधन’ विश्व समुदायले खपत गर्ने छैनन् ।

हामीले खाने चटामरी होस् वा हामीले लगाउने आङ्गी–पाङ्देन, हामीले बजाउने मुर्चुङ्गा होस् वा हामीले नाच्ने देउडा, हामीले मनाउने माघी होस् वा हामीले खेल्ने देउसी–भैलो, हामीले ठाँटिने तिलहरी होस् वा हामीले अंगाल्ने मुन्धुम । हाम्रो जीवन–परम्परासँग जोडिएका यी सांस्कृतिक संशाधन जहिलेदेखि विस्तारित हुँदै जानेछ, त्यहीँबाट मात्र समृद्धिको शुभारम्भ हुनेछ ।

तर, लण्डनका सडकहरुमा गुड्ने बसमा सगरमाथाको फोटो टाँसेर वा जर्मनीको फ्रांकफर्ट एक्स्पोमा नेपाली उत्पादनको स्टल राखेर मात्र हाम्रा सांस्कृतिक वैश्विक स्तरमा फैलनेवाला छैन । बरु यसका निम्ति हामीसँग भएको सर्वोत्तम अस्त्र हुनसक्छ, सिनेमा ।

सिनेमासँग त्यो अन्तरनिहित सामर्थ्य छ, जसले सम्बन्धित भूगोलको भाषा–लवज, पहिरन–शैली, खानपान–परम्परा, कला–संस्कार, शृंगार–प्रशाधनलाई आफ्ना तन्तुहरुमा बोकेर विश्वभर यात्रा गर्न सक्छन् । र, अर्को गोलार्द्धमा बसोबास गर्ने परायहरुको आँखाभरी, हृदयभरी आफ्नो साम्राज्य विस्तार गर्न सक्छ ।

यसर्थ

निर्विकल्प सर्त हो, हामीले नेपाली सिनेमालाई सांस्कृतिक उत्पादनको प्रभावशाली बाहक बनाउनु पर्नेछ । यसको शक्तिलाई पूर्णताका साथ उपयोग गर्नुपर्नेछ र आफ्नै सांस्कृतिक विरासतले यसलाई सुशोभित गर्नुपर्नेछ ।

हामीले आफ्नो सांस्कृतिक संशाधनलाई ‘ब्रान्डिङ’ गर्न सकेनौं, जुन काम सिनेमाले सक्थ्यो । तर सिनेमालाई हामीले कहिल्यै गतिलो ठानेनौं, बरु ‘खिसीटिउरी’ गरिरह्यौं

आजको घडीमा सिनेमा जति तागतिलो माध्यम सायदै होलान्, जसले आफ्नो कुरालाई अत्यन्तै सरल, सरस, सौहाद्र्ध र सुन्दर ढंगले पेश गर्न सक्छ । ठूलो जमातलाई आफ्नो विचार, दृष्टिकोण, मुद्दामा सहमत गराउन सक्छ । आफ्नो सौन्दर्य, कला र शिल्पको गुरुत्वबल पैदा गर्न सक्छ । किनभने कलाका अधिकतम् संशाधन दृश्य, संवाद, ध्वनी, रंग, प्रविधि आदिको कलात्मक संयोजनबाट आफ्नो रुपरेखा निर्माण गर्ने सुविधा सिनेमालाई जति अरुलाई छैन ।

सिनेमा : एक सांस्कृतिक उत्पादन

नवीन सुब्बा– ‘अमेरिकाले  सिनेमाको शक्तिलाई भरपुर उपयोग गरेको छ । उसले संसारभर सांस्कृतिक उत्पादन निर्यात गर्छ । सिनेमा निर्यातले अमेरिकी प्रभाव निर्माण गर्न ठूलो भूमिका निर्वाह गरेको छ । उदाउँदो आर्थिक शक्ति भारत र चीनले पनि आफ्नो प्रभाव विस्तार गर्न सांस्कृतिक उत्पादन (मूलत सिनेमा)को उपयोग सुरु गरेका छन् ।’ (अन्नपूर्ण फुर्सदमा)

नीर शाह– ‘भारतीय चलचित्र उद्योगको कुरा गर्दा त्यहाँ अर्बौं डलरको संगीत उद्योग छ । त्यो कालजयी संगीतकारले गर्दा मात्र भएको होइन । गुजराती, पञ्जाबी, मराठी, भोजपुरी आदि लोकभाकालाई मिश्रण गर्न थालेपछि अमेरिकाको डिस्कोथेकमा त्यो संगीत गुञ्जिन थाल्यो, उद्योग कहाँबाट कहाँ पुग्यो ।’ (राष्ट्रिय चलचित्र सम्मेलनमा)

मनोजबाबु पन्त– ‘रोमानियाजस्तो युरोपको सानो देश आफ्ना काव्यिक सिनेमा संस्कृतिको परिचयले संसारभर चिनिन थालेको छ ।’ (कान्तिपुर, कोसेलीमा)

यी दृष्टान्तहरुको एउटै निचोड हो, आफ्नो भूगोलको सांस्कृतिक विरासत र युगिन सभ्यता बोकेर सिनेमाले विश्व फन्को लगाउन सक्छ । पराय भूगोल एवं माटोमा आफ्नो स्वमित्व खोज्न सक्छ । र, हाम्रो जीवन बाँच्ने विशिष्ठ शैली र ढंगको फराकिलो धरातल निर्माण गर्न सक्छ ।

आज एउटा भारतीय सेरवानी लगाएर, हिन्दीमा कुरा गर्दै, बिरयानी र डोसा खोज्दै ठाँटसँग देश–दुनियाँ परिक्रमा गर्न सक्छ । तर, हामी ?

हाम्रै घर–आँगनमा आएका कुनै भारतीय नागरिकसँग कनीकुथी हिन्दीमा बोल्नुपर्छ, कुनै अमेरिकी नागरिकसँग लटरपटर अंग्रेजीमा कुरा गर्नुपर्छ । आफ्नै माटोमाथि उभिएर पनि आफ्नो भाषामा भलाकुसारी गर्ने सुविधा छैन हामीलाई । किन ?

किनभने हामीले आफ्नो सांस्कृतिक संशाधनलाई ‘ब्रान्डिङ’ गर्न सकेनौं, जुन काम सिनेमाले सक्थ्यो । तर सिनेमालाई हामीले कहिल्यै गतिलो ठानेनौं, बरु ‘खिसीटिउरी’ गरिरह्यौं ।

‘हल्का रमाइलो’ मात्र होइन सिनेमा

आध्यात्मिक साधकहरु भन्छन्, ‘पञ्चतत्वले बनेको शरीरमा जलको शितलता, वायुको गति, अग्निको तेज, पृथ्वीको गुरुत्वबल र आकासको विशालता सामेल छ । तर, हामीले आफ्नो शरीरको यो अदभूत क्षमताको बोध नै गर्न सकिरहेका हुँदैनौं ।’

ठीक यसैगरी अत्याधुनिक प्रविधि र बहु–कलाको बेजोड समीकरणलाई हामीले मनोरञ्जनको मामुली साधन मात्र ठानिरहेका छौं । राज्यका नीति–निर्माता, प्राज्ञिक वर्ग, साहित्यकार, मिडिया सबै–सबैले यसलाई ‘हल्का रमाइलो’ बुझिरहेका छन् । आधा शताब्दीअघि राजा महेन्द्रले सिनेमाको सामर्थ्यलाई जुन ढंगले बुझेका थिए, आजका दिनसम्म हाम्रा शासकहरुले त्यसको छेउटुप्पो बुझ्न नसक्नु उदेकलाग्दो हो ।

‘सिनेमा क्षेत्रले उत्पादन गर्ने वैचारिकी र विभिन्न भाष्यका सम्बन्धमा नेपालका विश्वविद्यालयहरु र आम बौद्धिक जमात मूलतः सधैंजसो मौन रहँदै आएका छन्,’ आहुतीको यो तर्कले पनि नेपाली सिनेमा कति उपेक्षित छ भन्ने संकेत मिल्छ । उनको बुझाइमा सिनेमा जस्तो चेतना प्रक्षेपणको एउटा शक्तिशाली माध्यमप्रति आम प्राज्ञिक वर्गको उदासिनता ‘घातक दुर्भाग्य’ हो ।

चलचित्रसम्बन्धित एक विमर्शमा नीर शाहको स्विकारोक्ती छ, ‘हाम्रो सिनेमा न राष्ट्रिय बन्न सक्यो, न चलचित्र हुन सक्यो, न उद्योग नै । सबैभन्दा ठूलो असफलताचाहिँ हाम्रो सिनेमाले प्राज्ञिक मान्यता पाएको छैन ।’

नेपाली सिनेमाले सीमांकन गरेको बाटो 

श्रीमानको मृत्युपछि एउटी महिलाको जीवन श्यामश्वेत हुनुहुँदैन, सप्तरंगी जीवनको अर्को अध्याय सुरु गर्न सक्छिन् । किसानहरु निमुखा र आश्रित हुँदैनन्, बरु उनीहरु स्वाभिमान, पौरख र इमानको गाँस खाएका पवित्र हुन्छन् । समाजका ठूलाठालुहरुले गरिबको पसिना चुसेर उनीहरुमाथि नै रजाइँ गरिरहेका हुन्छन्, जसको क्रमभंग गर्नु जरुरी छ ।

हाम्रो समाजमा व्याप्त बेथितिको उछितो काढ्दै यसरी विद्रोह गर्न कसले प्रेरित ग¥यो ? मानवीय मूल्यको खोजी गर्दै सुन्दर संसार स्थापना गर्ने परिकल्पना कसले गर्यो ? निःशन्देह नेपाली सिनेमाले । ५० को दशकमा बन्ने नेपाली सिनेमाहरुले सामाजिक मुद्दालाई प्रमुखताका साथ उठाए र समाज रुपान्तरणको सूत्रधार बने । सरकारी वा गैर–सरकारी संस्था, मन्त्री वा अभियन्ता, संघ–संघठन वा परियोजनाबाट जो सम्भव भएको थिएन ।

हिजोको दिनमा हाम्रो सिनेमा सामाजिक मुद्दाका औजार थिए भने आज सांस्कृतिक संशाधनको क्षेप्यास्त्र । अब नेपाली सिनेमाले कोरियन ठाँटको पहिरन, पश्चिमा स्वादको व्यञ्जन, भारतीय फ्लेबरको चालचलनमाथि हस्तक्षेप गर्दै आफ्नै मौलिकपन बोकेर सांस्कृतिक पुनरुत्थानका लागि म्यारथन दौड तय गर्नेछ ।

र,

यसका लागि ती कालिगढहरुको खाँचो छ, जसले हाम्रो सिनेमालाई आफ्नै सांस्कृतिक संशाधनले सुशोभित गरेर विश्वको मेनुमा सगर्व पेश गर्नेछन् ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?