Comments Add Comment

सुदूरपश्चिममा ५५ अस्पताल भवनको एकै दिन शिलान्याश

मंसिर १५, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-५ ग्वालसैनमा प्रदेशस्तरीय सरुवा रोग सम्बन्धी अस्पताल निर्माण कार्य प्रारम्भ भएको छ ।

५० शैय्या क्षमताको उक्त अस्पतालको सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेका हुन । योसँगै सुदूरपश्चिम प्रदेशमा सोमबार ५५ अस्पतालहरु शिलान्यास भएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले प्रदेशका ५४ स्थानीय तहमा १५ शैय्याका २३ र १० शैय्याका ३१ गरि ५४ अस्पालत सोमबारै शिलान्यास भएको बताए । उनले १० शैय्याको अस्पतालमा १७ जना र १५ शैय्याको अस्पतालमा २७ जना स्वास्थ्यकर्मीहरुको दरबन्दी रहेको समेत जानकारी दिए ।

निर्देशक अवस्थीले प्रदेश प्रदेशमा सरुवा रोग अस्पताल बनाउने नेपाल सरकारको निर्णय बमोजिम उक्त अस्पताल डोटीमा बन्न लागेको बताए । करिब ३१ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माण हुने सरुवा रोग अस्पताल दुई वर्षमा निर्माण भइसक्ने गरी काम अगाडि बढ्ने उनले बताए ।

अस्पतालमा एक सय जना स्वास्थ्यकर्मीहरुको दरबन्दी हुने रहने अवस्थीले जानकारी दिए । हाललाई ५० शैय्याको भए पनि निकट भविष्यमै दुई सय शैय्याको अस्पताल निर्माण हुने निर्देशक अवस्थीले दाबी गरे ।

अस्पतालको शिलान्यास गर्दै प्रदेश मुख्यमन्त्री भट्टले नेपालको स्वास्थ्य क्षेत्रका लागि आजको दिन ऐतिहासिक भएको दाबी गरे । उनले देशभरीमा एकैदिन ३९६ अस्पतालको शिलान्यास भएको भन्दै स्वास्थ्य क्षेत्रको यो ऐतिहासिक क्रान्ति भएको बताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले अस्पतालको शिलान्यास मात्र हुने हो कि भनेर आत्तिनु नपर्ने बताए । उनले अस्पताल निर्माणका दिपायल सिलगढी नगरपालिकालगायत सबै डोटीबासीको महत्वपूर्ण भूमिका हुने बताए ।

अस्पताल स्थापनाको लागि छिट्टै टेन्डर प्रक्रिया हुने र कुनै अवरोधविना अस्पताल बनाउनमा यहाँका नागरीकले सहयोग गर्नु पर्ने मुख्यमन्त्री भट्टले आग्रह गरे ।

प्रदेश सरकार प्रदेशभित्रका प्रत्येक अस्पतालको स्तरवृद्धि गर्ने नीतिसहित अघाडि बढेको र त्यसै प्रक्रिया अनुसार काम अघाडी बढिरहेको भट्टको दाबी छ । उनले प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्ला अस्पतालमा अक्सिजन पलान्ट जडान गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

३५ वर्षपछि बन्ने भयो अस्पताल

क्षेत्रीय अस्पताल वनाउने भनी २०४३ सालमा स्थानीयवासीको ८३ रोपनी जमीन अधिग्रहण भएको थियो । त्यसयता उक्त स्थानमा कुनै पनि संरचना निर्माण भएको छैन ।

एक स्थानीयका अनुसार २०६२ सालतिर तत्कालीन क्षेत्रीय प्रशासक गणेश शेरचनले क्षेत्रीय अस्पताल बनाउने भन्दै उक्त क्षेत्रमा कच्ची सडक पुर्‍याएका थिए । तर, २०६२/०६३ मा राजनीतिक परिवर्तन भएपछि उक्त क्षेत्रमा कुनै संरचना बनेन् ।

बरु क्षेत्रीय अस्पताल नवनाई डडेल्धुरामा उपक्षेत्रीय अस्पताल वनाईएको स्थानीयहरु वताउँछन् । ‘सानै उमेरमा अस्पताल बन्ने भन्ने सुनेको थिएँ, बुढ्यौली लाग्दासमेत बनेन’ स्थानीय दलबहादुर मलासीले भने, ‘आज मुख्यमन्त्री आफै आएर शिलन्यास गरेपछि त बन्छ की भन्ने आश छ ।’

उनी करिब ३५ वर्षदेखि यो जमीन बाँझो रहेको बताउँछन् । आफ्नो जमीनमा अस्पताल बनेको देख्ने ठूलो रहर रहेको एक अर्का स्थानीय बताउँछन् । उनी भन्छन् ‘खै अव शिलान्यास त भयो, कहिलेसम्म बन्छ हेरौं ।’

‘अब विगतका जस्तो अस्पताल बनाउने भन्ने तर नबनाउने परिपार्टीको अन्त्य हुनु पर्छ,’ वडा नं. ५ का वडाध्यक्ष मदन भण्डारी भन्छन्, ‘अस्पताल निर्माणका लागि स्थानीयवासीहरुले के सहयोग गर्नु पर्छ, त्यो जुटाउने काम हामी स्थानीय जनप्रतिनिधिको हुन्छ ।’

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासीले अब अस्पताल निर्माण भएरै छोड्ने बताइन् । ‘प्रदेश सरकारका मुख्यमन्त्री स्वयं आएर शिलान्यास गर्नु भएको छ, उहाँकै कार्यकालमा अस्पताल सञ्चालनमा आउँछ भन्ने मलाई बिश्वास छ,’ नगर प्रमुख मलासीले भनिन्, ‘अब कसैले पनि बहाना खोज्नु पाइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment