१४ पुस, काठमाडौं । सामान्यतयाः कानुनका ज्ञान नभएका र पढलेख कम भएकालाई ठगहरुले जालमा पार्ने गरेको पाइन्छ । तर, एकजना यस्ता ठेकदार छन्, जसले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई नै ठगेका छन् ।
सिपाहीका आवश्यक २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएको क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि., वीरगञ्जका सञ्चालक पिताम्बरकुमार मुर्काले प्रहरीलाई नै ठगेका हुन् । मुर्काको ठगीमा उनका काठमाडौं प्रतिनिधि घट्टेकुलो घर भएका नरेन्द्रनाथ पौडेल पनि मुछिएका छन् ।
प्रहरीलाई ठगेको भेटिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दिएको छ भने त्यसको आधारमा ब्युरोले दुवै जनालाई पक्राउ गरेको छ । ब्युरोका निर्देशक सहकुलबहादुर थापाका अनुसार कपडाको गुणस्तर परीक्षणमै चलखेल गरेको पाइएको छ ।
‘प्रहरी प्रधान कार्यालयले पौडेलसमेतको रोहवरमा ३० साउनमा नमुना परीक्षणका लागि एसजीएस चेन्नईमा पठाइएको थियो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) थापाले भने, ‘तर, उनले डीएचएलमार्फत पुनः सोही ल्याबमा आफू खुसी दोस्रो नमुना पठाएर प्रहरी संगठनलाई जालसाजी गरेको पाइएको छ ।’
थापाका अनुसार नेपाल प्रहरीको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाइल नम्बर तथा इमेल समेत उल्लेख गरेर उनले अर्को नमुना पठाएका थिए । ‘उनले पठाएको नमुनाको रिपोर्ट पहिले प्रहरीलाई प्राप्त भएको थियो, जसमा सामान भनिएकै गुणस्तरको रहेको उल्लेख थियो’, उनले भने, ‘तर, केही दिनपछि पुनः दोस्रो पत्र आयो, जसमा सामान गुणस्तरहीन रहेको भनिएको थियो ।’
त्यसपछि अनुसन्धान गर्दै जाँदा ठेकदार नै अर्को नमुना पठाएको खुलेको हो । अहिले दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4