+
+

कोरोनाको असर : अस्ट्रिच मासु उद्योगलाई ५ करोड बढी नोक्सान

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १६ गते ११:०३

१६ पुस, बुटवल । कोरोना महामारीका कारण लामो समय होटेल-रेष्टुेन्ट व्यवसाय बन्द हुँदा अस्ट्रिच चरा पालन र मासु उत्पादन गर्ने नेपालकै एकमात्र उद्योग अस्ट्रिच नेपाल प्रालिले पाँच करोड रुपैयाँ बढी नोक्सानी ब्यहोरेको छ ।

प्रालिले रुपन्देहीको तिलोत्तमा मधवलियामा २२ बिघा क्षेत्रफलमा चार हजार बढी अस्ट्रिच चरा पालेको छ । फार्ममा बैंकहरुको मात्र डेढ अर्ब बढी लगानी भएको छ ।

लकडाउनले होटेल-रेष्टुेन्ट नखुल्दा मासु उत्पादन र बिक्री गर्न नपाउँदा ६ महिनाको अवधिमा पाँच करोड बढी नोक्सानी ब्यहोर्नुपरेको हो ।

प्रालिले उत्पादन गर्ने मासुको अधिकांश हिस्सा पर्यटक स्तरका होटेलमा खपत हुने गर्छ । मासु बिक्री नभएपछि मासु उत्पादनका लागि तयार भएका अस्ट्रिचलाई दाना खुवाएर पाल्नुपर्दा थप नोक्सानी भएको शर्माले बताए ।

मासु उत्पादन र बिक्री रोकिँदा प्रालिमा कार्यरत डेढ सयजना कर्मचारीलाई तलब खुवाउन समस्या परेको शर्माले बताए । खसीको मासुभन्दा दोब्बर महँगो भएकाले न्यून आय भएका परिवारमा अस्ट्रिचको मासु निकै कम मात्रामा खपत हुन्छ ।

अस्ट्रिचको मासु हाडसहितको प्रतिकिलो १४ सय ५० र हाडरहित प्रतिकिलो १९ सय ५० रुपैयाँ मूल्यमा बिक्री हुन्छ । ‘हुर्केका अस्ट्रिचबाट मासु उत्पादन गर्ने बेलामा लकडाउन भएपछि ६-७ महिनासम्म दाना खुवाएर पाल्नुपर्दा भारी मात्रामा अनावश्यक खर्च बढ्यो,’ शर्माले भने, ‘कोरोना कहिले अन्त्य हुने हो भन्ने यकिन नहुँदा यसपटक नयाँ चल्ला पाल्न पनि सकेनौं ।’

बिगत वर्षको तुलनामा ८० प्रतिशत उत्पादन र बिक्री घटेको शर्माले बताए । एउटा अस्ट्रिचबाट सरदर एक सय केजी मासु उत्पादन हुने गर्छ । दैनिक एक हजार क्वीन्टल मासु बिक्री हुने गरेकोमा लकडाउनका कारण बजारमा गएको मासुसमेत फिर्ता आएको प्रालिका कर्मचारी नारायण घिमिरेले बताए ।

‘चैतदेखि कात्तिकसम्म मासु उत्पादन बन्द भयो, बजारमा गएको मासु फिर्ता आउन थालेपछि दुई हजार मूल्यको मासु ब्रोइलर कुखुराको मूल्यमा तीन सय रुपैयाँ प्रति केजीका दरले बेच्न वाध्य भयौं,’ घिमिरेले भने, ‘अघिल्लो वर्ष दशैंमा दैनिक पाँच सय केजीका दरले मासु बिक्री हुन्थ्यो ।’

प्रालिले आफ्नै प्रशोधन उद्योगबाट अस्ट्रिच चराको मासु उत्पादन र प्याकेजिङ गरी देशभर पठाउने गर्छ । कोलेस्टोरको मात्रा निकै कम, बोसो नहुने र भिटामिन प्रशस्त पाइने भएकाले अस्ट्रिचको मासु अन्य मासुभन्दा स्वस्थवर्धक हुने डाक्टरहरु बताउँछन् ।

उच्च रक्तचाप, मुटुका रोगीहरूलाई पनि अस्ट्रिचको मासु लाभदायक हुने डाक्टरहरू बताउँछन् । अस्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।

कात्तिकबाट मासु उद्योग सञ्चालनमा आएको र बिस्तारै बिक्रीले लय समाउन थालेको प्रालिले जनाएको छ । कच्चा पदार्थ आयातमा समस्या हुँदा आवश्यक मात्रामा दाना उत्पादन पनि गर्न नसक्दा उत्पादकत्व पनि घटेको प्रालिले जनाएको छ ।

अनुदान हैन, बैंक ब्याजमा सहुलियत होस्

नेपालमै नौलो व्यवसाय सुरुआत गरेका प्रालिका सञ्चालक शर्माले यस्ता उद्योगमा आइपर्ने समस्यामा सरकारले दीर्घकालीन रुपमा सम्बोधन गर्नुपर्ने बताउँछन् ।

अनुदान दिएर साध्य नहुने र उल्टो दरुपयोग हुने भन्दै बैंक ब्याज दरमा सहुलियत दिनुपर्ने उनको माग छ ।

प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक अस्थिरताले आफू जस्ता कृषि क्षेत्रमा ठूलो लगानी गरेका उद्यमीलाई निराश बनाएको शर्माले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?