Comments Add Comment

ओलीलाई प्रचण्डको प्रश्न : नि:सन्तान नहुनु मेरो दोष हो ?

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखेका छन् ।

नेकपा विभाजनपछि दुबै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् र, प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रचण्डमाथि छोरी, बुहारी र ज्वाइँलाई मात्र हेरेको आरोप लगाउँदै आएका छन् ।

शुक्रबार विराटनगरमा आयोजित सभामा प्रचण्डले त्यसको जवाफ दिएका छन् । केपीका मान्छेहरुले ‘तैले त छोराछोरी ज्वाइँको मात्र काम गर्छस् भनेर भनेका छन् नि भनेर प्रश्न आएको भन्दै प्रचण्डले प्रश्न गरे, ‘म नि:सन्तान भइनँ, मेरो दोष हो ?’

‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ । मेरो दोष हो ?’ निकै भावुक देखिएका उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन । जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ । के यो मेरो दोष हो ? छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन् । मेरो दोष हो ?’

ओलीले आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै प्रचण्डले आफूलाई न्याय चाहिएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो धर्म छोराछोरी भन्दै कोच्याउने गरेको भन्दै उनले भने, ‘आफ्ना हनुमानहरुलाई छोराछोरी भन्दै तिनलाई मात्र … (पोस्ने) सही हो ?’

प्रचण्डले अघि भने, ‘अनि केपी ओलीले ७० करोड भ्रष्टाचार गर्नेलाई गरेको छैन भनेर फैसला गर्दै हिँड्नु चाहिँ सुशासन हो ? देश कोरोनाले आक्रान्त भएको छ । त्यही बेला औषधि ल्याउँदा भ्रष्टाचार गर्नु चाहिँ सुशासन हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment