+
+

नख्खु कारागारमा २६० कैदीबन्दी मानसिक रोगी

रासस रासस
२०७७ माघ २३ गते ११:३३

२३ माघ, ललितपुर । नख्खु कारागारका २६० कैदीबन्दी मानसिक रोगी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताए ।

उनले भने, ‘हामीले यी समस्या भएका कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गरी महिनाको तीनपटक कारागारमै उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । जटिल मानसिक समस्या भएका कैदीबन्दीलाई मानसिक अस्पताल लगनखेलमा उपचार गराउँछौं । कारागारका एक कैदीबन्दीलाई हाल लगनखेलको मानसिक अस्पतालमा उपचार गराइरहेका छौं ।’

ती रोगका बिरामीको उपचारका लागि कारागारभित्र ‘मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल’ भवनको निर्माण सम्पन्न भइसकेको छ । तर आवश्यक चिकित्सक र सरसामनको व्यवस्था नहुँदा ती भवनबाट सेवा उपलब्ध गराउन नसकेको प्रमुख अधिकारीको भनाइ छ ।

‘कारागार नजिकै मानसिक अस्पताल लगनखेल रहेको हुँदा विभिन्न जिल्लाका कारागारमा रहेका मानसिक रोगी कैदीबन्दीलाई कारागार व्यवस्थापन विभागले यहाँ सरुवा गरी पठाउँछ’, उनले भने, ‘सरकारी अस्पतालमा उपचार गर्न जाने जुनसुकै रोगका कैदीबन्दीले निःशुल्क उपचार पाउँछन् भने निजी अस्पतालमा उपचार गर्न इच्छा देखाउने कैदीबन्दीले आफ्नो खर्च आफैँ व्यहोर्नुपर्छ ।’

कारागारभित्रका बन्दी अस्पतालमा १५ शय्या रहने क्षमता भए पनि २० शय्या राखिने भएको उनको भनाइ छ ।

नेपालमा मानसिक रोग अध्ययन र उपचार गर्ने चिकित्सक सङ्ख्या कम रहेको हुँदा कारागारमा आवश्यक पर्ने १० औँ तहको चिकित्सकको व्यवस्था हुन सकेको छैन । सो कारागारमा कैदीबन्दी राख्न तीन ब्लक भवनको व्यवस्था गरिएको छ ।

त्यस्तै कारागारको बहिरङ्ग सेवामा दैनिक तीन चिकित्सकले लगभग ३० देखि ४० कैदीबन्दीलाई उपचार सेवा दिने गरेका बताइएको छ । नख्खु कारागारका एक हजार २९७ कैदीबन्दी, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई कोरोनाको खोप दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?