+
+

शक्ति प्रदर्शनका नाममा ओलीले सरकारी ढुकुटी रित्याए : केसी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १६:१६

३ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याएको बताएका छन् ।

‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन् । उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झन् उनले आफ्नो कदमलाई सही ठहर्‍याउन र आफ्नो पार्टीबाट फुटेकाहरूलाई चुनौती दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन् ।’

राजावादी बाहेक देशका सबै राजनीतिक दल, संगठन, संघ, संस्था, पत्रकार, नागरिक समाज आदिबाट ओलीको संसद विघटन र प्रतिगमनको खतराको विरोधमा संघर्ष भइरहेको केसीले उल्लेख गरेका छन् ।

‘ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई प्रभाव पार्न खोजे’

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले प्रधानमन्त्री ओली सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक निकायलाई दवाव दिन लागेको बताएका छन् ।

‘सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक र स्वायक्त निकायहरूलाई अनुचित तरिकाले प्रभाव पर्न प्रयत्न गरेका छन्’ केसीले भनेका छन्, ‘केही दिन अघि निर्वाचन आयोगमा राज्यको कार्यकारी प्रमुख आफैं गएर आयोगलाई दबाब दिएका छन् ।’

प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमविरुद्ध अझै एकीकृत र सशक्त आन्दोलन आवश्यक रहेको भन्दै उनले संयुक्त आन्दोलनको आह्वान गरेका छन् । नेपाली कांग्रेस, नेकपा प्रचण्ड–माधव पक्ष, जनता समाजवादी पार्टी, विभिन्न संगठन, संस्था, नागरिक समाज लगायतले संयुक्त कार्यक्रम गर्नुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?