
२० फागुन, बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न डिभिजन ‘ए’को खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेस्टर्नले देवदह क्रिकेट युनिटलाई १३६ रनले फराकिलो अन्तरले पराजित गरेको हो । हारसँगै देवदह भने रेलिगेसनमा परेर ‘ए’ बाट ‘बी’ डिभिजनमा घटुवा भएको छ ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेट क्षतिमा २२१ रनको योगफल बनायो । उसका लागि विक्रम भुसालले ४९, राहुल कुमारले ४६, अनिल खरेलले नटआउट ३६ र सन्देश थापाले २१ रन बनाए । बलिङमा देवदहका विकाश श्रेष्ठले ३, अर्जुन रायमाझी र संदीप पाण्डेले २/२ तथा सुदिप जिसी र सुरज खड्काले समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको देवदह २२.३ ओभरमा अलआउट हुँदै ७५ रनमै समेटियो । उसका लागि सुदीप जिसीले नटआउट १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
उसलाई सस्तैमा समेट्न बलिङमा वेष्टर्नका अनिल खरेलले ६ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, एकेन्द्र कुमारले २ तथा सन्देश थापा, हरजित सिंह र राहुल कुमारले १/१ विकेट लिए ।
शुक्रबार डिभिजन ‘ए’ का तीरुपति क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
प्रतिक्रिया 4