+
+

सिद्धबाबाको मुद्दामा जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन

हरि अधिकारी हरि अधिकारी
२०७७ चैत १ गते २०:५२

१ चैत, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिएको छ ।

उच्च सरकारी वकिलको कार्यालय विराटनगरले गत शुक्रबार उच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो । उक्त मुद्दा पुनरावेदन दर्ता गराएकै दिन उच्च अदालतले मुद्दाको सक्कल मिसिल भिकाउन सुनसरी जिल्ला अदालतलाई पत्राचार गरेको छ ।

‘मुद्दा दर्ता भएकै दिन फाँटबाट मुद्दाको सक्कल मिसिल झिकाउन पत्राचार भएको छ,’ उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले भने ‘मुद्दा चाँडै टुङ्गो लाग्ने गरी प्रक्रियामा जान्छ ।’ उनका अनुसार जिल्लाबाट सक्कल मिसिल आएपछि मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।

पुनरावेदन परेकै दिन बढुवा सिफारिस 

एक अनुयायीले दिएको बलात्कार मुद्दामा गिरीलाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । दुई महिनापछि अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो ।

पूर्णपाठ सार्वजनिक भएको एक महिनापछि शुक्रबार उच्चमा पुनरावेदनका लागि निवेदन दर्ता भएको हो ।

सामान्यतया फैजदारी मुद्दामा फैसलाको एक महिनाभित्र फैसला लेखन सक्नुपर्छ । तर सिद्धबाबाको हकमा दुई महिनासम्म मुद्दा नलेखिएपछि उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठले स्पष्टीकरण सोधेका थिए । उच्च अदालत स्रोतका अनुसार मुख्य न्यायाधीशको स्पष्टीकरणलगत्तै पूर्णपाठ आएको थियो ।

विवादास्पद फैसला गर्ने न्यायाधीश अर्जुनप्रसाद कोइराला शुक्रबार नै उच्च अदालतको न्यायाधीश नियुक्तीमा सिफारिसमा परेका थिए ।

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले आफूमाथि बलात्कार गरेको भनी २०७६ मंसिर ११ गते उनका महिला अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि पक्राउ परेका सिद्धबाबाले हिरासतको समय अवधी विराट नर्सिङहोममा बिताएका थिए । गिरीलाई तत्कालिन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले १४ पुस २०७६ मा तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्चमा पुनरावेदन दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरमा मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको थियो । अदालतमा मुद्दा सुनुवाइ भएकै दिन विराटनगर रानी हुँदै भारत पुगेका गिरी ४० दिनपछि हाजिर भएर थुनामा बसेका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?