
५ वैशाख, काठमाडौं । पोखरालाई केन्द्रमा राखी एकै पटक चार अन्तर प्रदेश उडान हुने भएको छ । बुद्ध एयरले मे १ बाट सुरु गर्नेगरी एकै पटक चार अन्तर प्रदेश उडानको घोषणा गरेको हो ।
बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अन्तर प्रदेश उडानका लागि यो कदम कोसेढुङ्गा सावित हुने बताए ।
उनका अनुसार नयाँ घोषणा अनुसार बुद्धले अब पोखराबाट विराटनगर, पोखराबाट सिमरा, पोखराबाट नेपालगन्ज र भरतपुरबाट भैरहवामा उडान हुने भएको हो । बुद्धले यी गन्तव्यका लागि परिक्षण उडानका रुपमा लिएको र यात्रु पाउने अवस्थामा दैनिक उडान गर्ने तयारी रहेको जानकारी दिए ।
भाडा दर कति ?
बुद्धले सार्वजनिक गरेको भाडादर अनुसार पोखरा-विराटनगरमा न्युनतम भाडादर ४ हजार ५०० रुपैयाँ रहेको छ ।
अधिकतम ७ हजार २०० रुपैयाँ रहने छ । पोखरा-विराटनगर भाडा न्युनतम ६ हजार रुपैयाँ तोकिएको छ । अधिकतम १० हजार ८०० रुपैयाँ भाडादर तोकिएको छ । पोखरा-सिमरामा न्युनतम ४ हजार ३०० रुपैयाँ र अधिकतम ६ हजार ७०० रुपैयाँ तोकिएको छ । भैरहवा-भरतपुर भने न्युनतम २ हजार ५०० रुपैयाँ र अधिकतम ४ हजार रुपैयाँ भाडा राखिएको कम्पनीले जनाएको छ ।
मे १५ भित्रै थप एक जहाज थप्ने तयारी
बुद्धले मे १५ भित्रै थप एक जहाज थप्ने तयारी गरेको समेत प्रवन्ध निर्देशक बस्नेतले बताए ।
उनका अनुसार यो जहाज एटीआर ७२ जहाज हुनेछ । कम्पनीले यस अघि नै कोरोना महामारीकै बीचमा थप १ जहाज भित्र्याइसकेको छ । अहिले कम्पनीसँग १४ वटा जहाज रहेका छन् ।
सडक विस्तार छल्न उडानको विकल्प
बुद्धले महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ रुट बिस्तारमा उत्पन्न समस्या छल्न हवाइ उडानको विकल्प दिएको छ ।
सोहीअनुसार भरतपुर- भैरहवा उडानको घोषणा गरेको बस्नेतले जानकारी दिए । उनका अनुसार यो रुटको उडान अवधी थोरै भएपनि यात्रा भने सहज बनाउने छ ।
प्रतिक्रिया 4