१८ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनमाथि शानदार जित हात पारेपछि धनगढी ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । धनगढीले ३–० को अन्तरले खेल जितेको यो दोस्रो पटक हो । यसअघि धनगढीले काठमाडौं रेजर्सलाई पनि सोही स्कोरमा हराएको थियो ।
धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक–एक गोल गरे । पहिलो हाफको खेल गोलरहित बराबरी बने पनि दोस्रो हाफमा धनगढीले तीन गोल गर्यो ।
धनगढीका लागि ६३औं मिनेटमा निशान लिम्बुले गोल गर्दै अग्रता दिलाएका थिए । ६९औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० को अग्रता दिलाए । ८०औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३–० को जित दिलाए ।
दोस्रो जितपछि धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ । यसअघि पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० ले पराजित भएको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३–० ले हराएको थियो ।
तेस्रो खेलमा धनगढीले ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो ।
उता, चितवनको यो पहिलो हार हो । यसअघि लगातार दुई खेल बराबरी खेलेको चितवनको ३ खेलबाट २ अंक छ । ललितपुरको समान अंक रहेपनि धेरै गोल खाएकाले चितवन अंकतालिकामा पुछारमा झरेको छ ।
चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ को बराबरी खेलेको थियो दोस्रो खेलमा बुटवलसँग २–२ को बराबरी खेलेको थियो ।
प्रतिक्रिया 4