Comments Add Comment

विराटनगरमा आइसियू बेड भरिए, बिरामीको नाम टिप्दै फर्काउँदै

२५ वैशाख, विराटनगर । कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् ।

आइसियू बेड भरिएका कारण नयाँ संक्रमितले उपचार पाउन मुस्किल छ । गम्भिर अवस्थाका संक्रमितले आइसियूमा बेड पाउन पालो कुर्नपर्ने बाध्यता छ ।

बिरामीको नाम टिप्दै, फर्काउँदै

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार  बुधबारयता अस्पतालको आइसियू र एचडियू बेड प्याक छन् । आइसियू बेड प्याक भएपछि गम्भिर प्रकृतिका विरामीलाई भर्ना नलिइएको उनले बताए ।

नोबेल मेडिकल कलेजका कोभिड १९ फोकल पर्सन दीपेश न्यौपानेका अनुसार बेड खोज्नेलाई फर्काउनु  पर्ने बाध्यता छ

‘तीन दिन भयो आइसियू प्याक भएको, आइसियू खोज्नेलाई खाली भए बोलाउँछौं भन्दै नाम टिपेर राख्छौं,’ उनले भने, ‘आइसियू र एचडियूमा भरिएपछि जनरल बेडका लागि भर्ना गरिरहेका छौं ।’ उनका अनुसार शुक्रबार कोसी कोभिडमा ६८ जना संक्रमित उपचाररत छन् र यो संख्या बढ्दो क्रममा छ ।

विराट मेडिकल कलेजको आइसियू पनि प्याक छ । अस्पतालका फोकल पर्सन सुनिल देवका अनुसार नयाँ संक्रमितलाई आइसियुमा राख्न उपचाररत विरामीको डिस्चार्ज हुनुपर्छ वा मृत्यु हुनुपर्छ । बेड खोज्नलाई पालो कुराएर राख्नुपर्ने अवस्था रहेको उनले बताए । विराटले ३२ वटा आइसियू र १२ वटा भेण्टिलेटरसहित २०० बेडको छुट्टै कोरोना अस्पताल सञ्चालन गरिरहेको छ ।

नोबेल मेडिकल कलेजको आइसियूसहितका वार्ड भरिएका छन् । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार गत शनिबारयता विरामीको चाप बढेको छ । नोबेलले गत शुक्रबारयता संक्रमितको उपचार निःशुल्क गरिरहेको छ ।

सुरुमा १० वेड आइसियूसहित ७० बेडको कोभिड १९ उपचार केन्द्र सुरु गरेको नोबेलले बेडसंख्या १४४ पुर्याएको छ । जसमा जसमा ३९ वटा आइसियू र ९ वटा भेण्टिलेटर छन् । बाँकी अक्सिजनसहितका बेड हुन् । अस्पतालमा बेड भेरिएपछि नयाँ संक्रमितलाई भर्ना गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

नोबेल मेडिकल कलेजका कोभिड १९ फोकल पर्सन दीपेश न्यौपानेका अनुसार बेड खोज्नेलाई फर्काउनु  पर्ने बाध्यता छ । ‘बेड खोज्दै दिनमा १५० बढी फोन आँउछ,’ उनले भने, ‘चाहेर पनि बेड मिलाउन सकिँदैन ।’

विराटनगर महानगरपालिकामा संक्रमणदर उच्च छ । दैनिक दुई सय बढी संक्रमित भेटिइरहेको विराटनगरमा संक्रमितका लागि बेड खोज्दै बारम्बार फोन आउने गरेको महानगरको कोभिड १९ फोकल पर्सन हैदर अली बताउँछन् । फोन आए पनि अस्पतालहरुमा बेड व्यवस्था गर्न गाह्रो भएको उनको गुनासो छ ।

महानगरको टेलिफोन सेवा

विराटनगर महानगरपालिका मार्फत होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई परामर्श दिन ३० चिकित्सक खटिएका छन् । नेपाल चिकित्सक संघ कोसी र महानगरपालिकाको सहकार्यमा ३० जना चिकित्सक खटिएका हुन् ।

विराटनगर महानगरपालिका कोभिड–१९ संयोजक हैदर अलीका अनुसार होम आइसोलेसनमा बसेका संक्रमितले चिकित्सकसँग टेलिफोनमा कुराकानी गरी निःशुल्क परामर्श लिन सक्नेछन् । संक्रमितको सहजताका लागि चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गरिएको उनले बताए ।

समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा दैनिक दुई सय बढी कोरोना संक्रमित थपिइरहेका छन् । शुक्रबार बिहानसम्म महानगर भित्र दुई हजार १ सय ८४ सक्रिय सङ्क्रमित छन् । ती मध्ये अधिकांश होम आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्था बुझ्न र अक्सिजन वितरणमा सहजीकरणका लागि महानगरपालिकाले टोली पनि परिचालन गरेको छ ।

अक्सिजन वितरणका लागि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफैं पनि खटिएका छन् । उनले जनताले अफ्ठ्यारो परेको गुनासो गरे जुनसुकै समयमा पनि अक्सिजन सिलिण्डर लिएर पुग्ने गरेको बताए ।

अक्सिजनको खपत बढ्यो

संक्रमित बढेपछि अस्पतालमा अक्सिजनको खपत बढेको छ । नोबेल मेडिकल कलेजमा सामान्य अवस्थामा दैनिक ६० वटा ठूला सिलिण्डर प्रयोग हुन्थे । तर महामारी बढेपछि दैनिक १४० वटा हाराहारी ठूला सिलिण्डरको खपत भइरहेको छ ।

कोसी कोभिड अस्पतालमा दैनिक १५० बढी अक्सिजनको ठूलो सिलिण्डर प्रयोग हुँदै आएको छ । अस्पतालहरुमा मोरङ र सुनसरीका चारवटा उद्योगले अक्सिजन आपूर्ति गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

चेनस्मोकर भट्ट

Advertisment