Comments Add Comment

विदेशी खेलाडीसँग अभ्यास खेल खेलेर नेपालको तयारी

९ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटका लागि नेपाली टोली मंगलबार इराक प्रस्थान गर्दैछ ।

त्यसअघि नेपाली टोलीले अहिले दशरथ रंगशालमा बन्द प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्ला अलमुताइरीले २३ सदस्यीय अन्तिम टोलीसँगै कूल ३२ खेलाडीलाई अहिले प्रशिक्षण गराइरहेका छन् ।

यसै बीच प्रशिक्षणमा रहेको नेपाली टोलीले शनिवार नेपालमा रहेका विभिन्न देशका विदेशी खेलाडी सम्मिलित टिमसँग अभ्यास खेल खेलेको थियो । अनअफिसियल उक्त खेलमा नेपाली टोली ३-० ले विजयी भएको थियो ।

जेठ १ गते सम्पन्न नेपाल सुपर लिग खेलेका विदेशी खेलाडी समावेश गर्दै टिम बनाइएको थियो । जसमा भिलिम पेसोन्कोभिक, नुर्लान जाहिद, पिटर सेगुन लगायत खेलाडी थिए । पेड्रो मान्जी भने स्पेन फर्किसकेका छन् ।

कोरोना महामारीको दोस्रो लहरका कारण अहिले नेपालमा सबै खेलकुद गतिविधि स्थगित भएपनि फुटबल टोलीले भने सबै स्वास्थ्य प्रोटोकल अपनाएर सुरक्षित रुपमा बन्द प्रशिक्षण गरिरहेको छ ।

नेपालले यही जेठ १५ गते इराकसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाली टोली विश्वकप छनोटका बाँकी ३ खेलका लागि कुवेत प्रस्थान गर्नेछ । समूह बी मा रहेको नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

प्रशिक्षक अलुमुताइरीको लागि नेपालको प्रशिक्षक बनेयता इराक विरुद्धको खेल पहिलो हुनेछ ।

उनले यस पटक टिममा ठूलो फेरबदल गरेका छन् । ६ जना नयाँ खेलाडीले सिनियर टिममा स्थान बनाउँदा ७ जनाले पुनरागमन गरेका छन् ।चैतमा थ्री नेशन्स कप जितेको नेपाली टिममा अलमुताइरीले १३ खेलाडी परिवर्तन गरेका छन् ।

अलमुताइरीले नेपाल सुपर लिग सकिएपछि खेलाडीलाई दैनिक रुपमा सैद्धान्तिम र प्राक्टिकल रुपमा प्रशिक्षण गराइरहेका छन् ।

शनिवारको अभ्यास खेलले उनलाई इराकसँग खेल्नुअघि टिम प्लेअइङ टिम छान्‍न केही आइडिया बनेको हुन सक्छ । उनले टिममा भएका २३ जना नै पहिलो रोजाइमा खेल्नका लागि प्रतिस्पर्धामा रहेको बताए । अहिलेको नेपाली टिमको औसत उमेर २३ वर्ष मात्र छ ।

युवा खेलाडीको बाहुल्य रहेको नेपालले १४ दिनको अन्तरमा ४ खेल खेल्नुपर्नेछ । अलमुताइरीले विश्वकप छनोट भन्दा पनि साफ च्याम्पियनसिप र एसियन कप छनोटलाई ध्यानमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment