
३१ जेठ, काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १० महिनाको अवधिमा १० अर्ब रुपैयाँ भन्दा बढीले विदेशी मुद्राको सञ्चिति घटेको छ ।
२०७७ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । वैशाखसम्म सञ्चििति ०.८ प्रतिशतले कमी आई २०७८ बैशाख मसान्तमा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको राष्ट्र बैंकले बताएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई १२ खर्ब १९ अर्ब ८१ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१७१ अर्ब ३ करोड कायम भएको छ । २०७८ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।
आर्थिक वर्ष २०७७/७८ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले बताएको छ ।
२०७८ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.६ प्रतिशत, ८५.९ प्रतिशत र २८.५ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।
प्रतिक्रिया 4