Comments Add Comment

अमेरिकन पौडीबाज ड्रेसलले जिते टोकियो ओलम्पिकमा पाँचौ स्वर्ण

१७ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा पाँच स्वर्ण जितेका छन् ।

उनले आइतबार बिहान भएको चार गुणा १०० मिटर मिडले रिलेमा अमेरिकाले विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले पनि स्वर्ण संख्या थपे ।

ड्रेसले बटरफ्लाई लेग स्विम गरेका थिए । ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान कायम गरेका हुन् । उनीहरुले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडे।

टोकियो ओलम्पिकमा पाँच स्वर्ण जितेका ड्रेसल ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक बनेका छन् ।

त्यसअघि आइतबार बिहानै भएको ५० मिटर फ्रिस्टाइलमा उनले २१.०७ सेकेण्डको ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

२४ वर्षीय ड्रेसलले यसअघि चार गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा र १०० मिटर बटरफ्लाइमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए भने १०० मिटर बटरफ्लाईमा नयाँ विश्वकीर्तिमान बनाएका थिए । चार गुणा १०० मिटर मिक्स्ड मिडले रिलेमा भने ड्रेससहितको अमेरिकन टिमले पाँचौ भएको थियो ।

‘नेक्स्ट माइकल फेल्प्स’को रुपमा समेत हेरिएको ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा २ स्वर्ण जितेका थिए । विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिकपछि सन्यास लिए । त्यसपछि धेरैले ड्रेसललाई पौडीमा नयाँ स्टारका रुपमा हेरेका छन् ।

रियो ओलम्पिकमै ड्रेसलले फेल्प्ससहितको टिमबाट चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा र चार गुणा १०० मिटर मिडले पनि स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए ।

त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्रेसलले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment