
२१ साउन, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना खोपको मूल्य सार्वजनिक गर्न माग गरेका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग गरेको छलफलमा सांसद अधिकारीले भने, ‘राष्ट्रको ढुकुटी गएको छ, मोर्डनाको मूल्य कति हो ? भेरोसेलको मूल्य कति हो ? जोनसन एण्ड जोनसनको मूल्य कति हो ? यो हामीले थाहा पाउनुपर्यो ।’
चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप खरिदका लागि अघिल्लो सरकारले नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार केही खोप आइसकेको छ भने केही आउने क्रममा छ । नयाँ सरकारले थप ६० लाख भेरोसिल खरिदका लागि सिनोफार्मसँग सम्झौता गरेको छ भने फाइजरको ४० लाख, मोर्डनाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत भुक्तानी गरेको छ ।
जोनसन एण्ड जोनसनको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिद प्रक्रिया सुरु गरेको छ । १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीका फाइजरको ६० लाख खोप पनि खरिदको प्रक्रियामा छ ।
तर सुरुमा भारतको सेरमसँग खरिद गरेको २० लाख बाहेक अरु खोपको मूख्य सार्वजनिक भएको छैन । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले भने खोपको मूल्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले भने, ‘भ्याक्सिनको मूल्य के हो ? कसरी नेगोसिएसन भयो ? यो हामीले थाहा पाउनुपर्छ ।’
प्रतिक्रिया 4