Comments Add Comment

लुम्बिनीका थप दुई मन्त्रीले पनि राजीनामा दिने

२७ साउन, बुटवल । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् । ‘माननीय सन्तोष पाण्डेसहित हामी तीनै जनाले राजीनामा दिने हिजो नै निर्णय भएको हो,’ मन्त्री यादवले भने, ‘मेरो र कल्पनाजीको राजीनामा पत्र तयार तयार गर्दैछौं ।’

मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उनका पति नवराज लम्सालले राजीनामा बारे छलफल भइरहेको र एकाध घण्टामा निर्णय हुने बताए ।

यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए ।

उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक-पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले भने एक महीनाअघि नै राजीनामा दिएर पार्टीमा फर्केकी छन् ।

यसअघि गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै उनीहरु सरकारमा सामेल भएका थिए । त्यसपछि पाण्डे, यादव,रायमाझी र लम्साललाई पार्टीले कारबाही गरेर पदमुक्त गरेको थियो ।

जनता समाजवादी पार्टीको आपत्ति

जसपा संसदीय दलको वैठकको निर्णय अनुसार राजीनामा दिएको भनी पाण्डेले गरेको प्रचारप्रति पार्टीले आपत्ति जनाएको छ ।

जसपा संसदीय दलका नेता सहषराम यादवले सरकार ढल्ने निश्चित भएपछि पाण्डेले आफूखुशी राजीनामा दिएको हुनसक्ने बताए । ‘पार्टी संसदीय दलको नेता म हुँ, दलको बैठक आज बसेकै छैन,’ यादवले भने, ‘पदका लागि जे पनि गर्न तयार हुने चरम अवसरवादीले पार्टीको नाम दुरुपयोग गर्नु आपत्तिजनक छ ।’ नेता यादवले आइन्दा पार्टीको नाम दुरुपयोग गरेको पाइएमा कानूनी कारवाही गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment