
सरकार वा कम्पनीले सम्पत्ति धितोमा नराखी लामो अवधिका लागि ऋण उठाउने वित्तीय औजार हो, ऋणपत्र । यस किसिमको औजार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले प्रयोग गर्न सक्छन । विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुराष्ट्रिय संस्थादेखि निजी क्षेत्रका कम्पनीहरुले पनि ऋणपत्र -बन्ड वा डिबेन्चर) मार्फत ठूलो परिमाणमा पुँजी संकलन गर्न सक्छन्, गर्दै आएका छन् ।
यस्तो ऋणपत्रका खरिदकर्ता सामान्यतया व्यक्ति, संस्था र सरकारहरु हुन्छन् । लगानीकर्ताका लागि पनि ऋणपत्र एक प्रकारको वित्तीय औजार हो जसमा लगानी गरेपछि उसलाई तोकिएको समयमा ब्याज र ऋणापत्र परिपक्व भएपछि साँवा प्राप्त हुन्छ ।
तुलनात्मक रुपमा ब्याजदर कम हुने र लामो अवधिका हुने भएकाले व्यावसायिक संस्थाहरुले ऋणपत्रमार्फत् ऋण उठाउँछन् । लगानीकर्ताका लागि पनि यस्ता ऋणपत्रमा लगानी गर्नु तुलनात्मक जोखिम कम हुन्छ ।
संस्थागत (कर्पोरेट) ऋणपत्रः
तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा संगठित संस्था (कम्पनी) ले जारी गरेको धितोपत्रलाई संस्थागत ऋणपत्र भनिन्छ । नेपालमा ऋणपत्रको अंकित मूल्य एक हजार रुपैयाँ चलेको छ भने संस्थागत ऋणपत्रको सार्वजनिक निष्कासन हुँदा लगानीकर्ताले न्युनतम २५ कित्ताका लागि आवेदन दिनुपर्छ । अथवा लगानीकर्ताले ऋणपत्रमा लगानी गर्दा कम्तिमा २५ हजार रुपैयाँ लगाउनु पर्ने हुन्छ ।
कम्पनीले आफ्ना ऋणपत्रधनीलाई सामान्यतया वाषिर्क वा अर्धवाषिर्क रुपमा ब्याज भुक्तानी गर्छन । कम्पनीमाथि सेयरधनीको जस्तो अधिकार ऋणपत्रधनीको हुदैन । ऋणपत्रधनीले साधारणसभामा भाग लिने, सञ्चालक बन्ने वा सञ्चालक चुन्ने गर्दैनन् । कम्पनीको व्यवस्थापन र सञ्चालनमा ऋणपत्रधनीको प्रभाव हुँदैन ।
संस्थागत ऋणपत्रहरुको दोश्रो बजारमा कारोबार पनि हुन्छ । दोश्रो बजारको मूल्य माग र आपूर्तीले निर्धारण गर्ने भएकोले ऋणपत्रको अंकित मूल्य भन्दा तल वा माथि बजार मूल्य कायम हुन सक्छ ।
मानौं कुनै ‘१०% एबिसी बैंक २०९०’ नामको ऋणपत्र जारी भएको छ । यसको अर्थ एबिसी बैंकले जारी गरेको यो ऋणपत्रमा लगानीकर्ताले १० प्रतिशत ब्याज पाउँछन र २०९० मा परिपक्व भएपछि सावाँ पनि फिर्ता हुन्छ भन्ने हो ।
ब्याज भुक्तानी वाषिर्क, अर्धवाषिर्क वा त्रैमासिक रुपमा कहिले हुन्छ ? स्टक एक्सचेन्जमा किनबेच हुन्छ कि हुँदैन ? बिचैमा विक्री गर्नुपर्यो भने कहाँ विक्री गर्ने ? सेयरमा परिवर्तन गर्न सकिन्छ कि सकिदैन लगायत ऋणपत्रका अन्य शर्तहरु पनि जारी गर्न कम्पनीले खुलाएको हुन्छ ।
सरकारी ऋणपत्रः
दैनिक प्रशासन चलाउन, कुनै विकास कार्यक्रम सञ्चालन गर्न वा भौतिक निर्माणका लागि आवश्यक श्रोत जुटाउन सरकारले ऋणपत्र जारी गर्न सक्छ । सरकारको लागि नेपाल राष्ट्र बैंकले ऋणपत्रहरु जारी गर्दै आएको थियो । आगामी दिनमा यो काम नयाँ निकायले गर्ने गरी अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालय स्थापना भएको छ ।
सरकारी ऋणपत्रहरूमा ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र पर्छन् । यसमा सरकार जमानी बस्ने भएकाले तुलनात्मक रुपमा कम जोखिमयुक्त मानिन्छ ।
विशेषताका आधारमा ऋणपत्रको वर्गीकरण
सुरक्षणको आधारमाः
सुरक्षणसहितको ऋणपत्रः ऋणपत्र जारी गर्ने बेलामा जारीकर्ताले सम्पत्ति जमानत वा बन्धक राखी निष्कासन गर्दछ भने त्यस्तो प्रकारको ऋणपत्रलाई सुरक्षणसहितको ऋणपत्र भनिन्छ ।
सुरक्षणरहित ऋणपत्र : ऋणपत्र जारी गर्ने बेलामा जारीकर्ताले सम्पत्ति जमानत वा बन्धक नराखी निष्कासन गर्दछ भने त्यस्तो प्रकारको ऋणपत्रलाई सुरक्षणरहित ऋणपत्र भनिन्छ ।
रूपान्तरणको आधारमाः
परिवर्तनीय ऋणपत्रः भविष्यमा ऋणपत्र कुनै प्रकारको सेयर वा नयाँ ऋणपत्रमा परिवर्तन गर्न मिल्ने भए त्यसलाई परिवर्तनीय ऋणपत्र भनिन्छ । यस्ता ऋणपत्रहरू पूर्ण रूपले वा आंशिक रूपमा परिवर्तन हुन सक्छन् । पटकपटक गरी वा एकै पटकमा पनि परिवर्तन हुन सक्छन् । यी कुराहरु ऋणपत्र जारी गर्दा खुलाइएको हुन्छ ।
अपरिवर्तनीय ऋणपत्रः भविष्यमा कुनै प्रकारको सेयर वा नयाँ ऋणपत्रमा परिवर्तन गर्न नमिल्ने ऋणपत्रलाई अपरिवर्तनीय ऋणपत्र भनिन्छ । धेरैजसो ऋणपत्रहरु अपरिवर्तनीय हुन्छन् ।
अवधिका आधारमाः
एक वर्षभन्दा छोटो अवधिका लागि जारी गरिएका ऋणपत्रहरुलाई अल्पकालिन र त्यसभन्दा लामो अवधिकालाई मध्यकालिन (३ देखि ५ वर्ष) र दीर्घकालिन (५ वर्षभन्दा माथिका) भनेर विभाजन गरिन्छ । कहिल्यै परिपक्व नहुने गरी निरन्तर जारी हुने प्रकृतिका ऋणपत्रहरु पनि हुन्छन् ।
ब्याजको आधारमाः
सामान्यतया लामो अवधिका ऋणपत्रहरु ऋणपत्रधनीलाई ब्याज प्रदान गर्ने गरी जारी भएको हुन्छ । अर्काथरी ऋणपत्र हुन्छन जसमा ब्याज दिइदैन । यसको सट्टा अंकित मूल्यभन्दा कममा ऋणपत्र विक्री गरिन्छ र परिपक्व भएपछि अंकित मूल्य बराबरको रकम भुक्तानी गरिन्छ ।
सेयर र ऋणपत्रको फरक
सेयर कम्पनीमा लगानी गरिएको पुँजी हो । लगानीकर्ताले जति परिमाणमा लगानी गर्छ सोही परिमाणमा कम्पनीको पुँजीको अंशमा उसको हक लाग्छ । यसले लगानीकर्तालाई कम्पनीको अंशियार बनाउँछ ।
ऋणपत्र भनेको कम्पनीलाई दिईएको ऋण हो । यसले लगानीकर्तालाई कम्पनीको ऋणदाता बनाउँछ ।
सामान्यतया ऋणपत्रको निश्चित अवधि हुन्छ भने सेयरको कुनै अवधि हुँदैन । सेयरधनीलाई कम्पनीको साधारण सभामा जान पाउने र विभिन्न प्रस्ताव उपर मतदान गर्ने, सञ्चालकका लागि उम्मेदवार बन्ने तथा सञ्चालक चुन्ने अधिकार हुन्छ भने ऋणपत्रधनीलाई यस्ता अधिकार हुँदैन ।
सेयरधनीले लाभांश प्राप्त गर्छन भने ऋणपत्रधनीले निश्चित प्रतिशत ब्याज प्राप्त गर्छन । कम्पनीले दिने लाभांशमा एकरुपता हुँदैन, लाभांश रकम तलमाथि भइरहन सक्छ वा लाभांश नदिन पनि सक्छ ।
ऋणपत्रको ब्याज निश्चित हुन्छ । यसैले ऋणपत्रलाई स्थिर आम्दानी औजार पनि भनिन्छ । कम्पनीको वित्तीय अवस्थाले लाभांशको स्वरुप तय गर्छ भने कम्पनीको वित्तीय अवस्थासँग ऋणपत्रबाट आउने प्रतिफल (ब्याजदर) को कुनै सम्बन्ध हुँदैन ।
ऋणपत्रमा आवेदन दिनु पूर्व ख्याल गर्नु पर्ने कुराहरु:
- वाषिर्क कति प्रतिशत हो ?
- ब्याज भुक्तानी कहिले-कहिले हुन्छ ? वाषिर्क, अर्धवाषिर्क वा त्रैमासिक ?
- कति वर्ष अवधिको ऋणपत्र हो ?
- ऋणपत्र निष्कासन गर्ने संस्थाको वित्तीय अवस्था कस्तो छ ?
मुद्दती निक्षेप कि ऋणपत्र ?
उस्तै लाग्ने ऋणपत्र र मुद्दती निक्षेपमध्ये कुनमा लगानी गर्दा उपयुक्त होला ? यसका लागि लगानीको अवधि र ब्याज दरमा ध्यान दिनुपर्छ । लगानीकर्ताले आफुले राख्न चाहेको रकमको अवधिमा विभिन्न बैंकहरुको मुद्दती निक्षेप मार्फत धेरै ब्याज आउँछ की ऋणपत्रमा भनेर हिसाब गरेर निर्णय लिनु उपयुक्त हुन्छ । मुद्दती निक्षेपमा राखिएको पैसा तोकिएको अवधिसम्म निकाल्न मिल्दैन ।
ऋणपत्र आवश्यक परे विक्री गरेर तुरुन्त नगदमा परिणत गर्न सकिन्छ ।
प्रतिक्रिया 4