Comments Add Comment

प्रधानमन्त्री राहत कोषमा पैसा उठेन, खोई हाम्रा सेलीब्रेटी ?

maha jodi, rajesh, paras, karishma_650

६ जेठ, काठमाडौं । नेपालमा केही सेलिब्रेटीहरु छन्, जसले एउटा सानो आह्वान गरिदिँदा पनि देश उनीहरुका पछि लाग्छ । हरिवंश आचार्यले क्यारिकेचर गरिदिँदा होस्, राजेश हमालले डाइलक बोलिदिँदा होस् या रेखा थापाले सार्वजनिक स्थलमा छोटो डान्स देखाइदिँदा किन नहोस्, एउटै च्यारिटी शोबाट लाखौं रुपैयाँ संकलन हुन सक्छ ।

एउटा स्कुल बनाउन पुराण भनेर करोडौं उठाउन सक्ने पण्डित दीनबन्धु पोखरेल पनि एकप्रकारका सेलिब्रेटी नै हुन् नेपालका ।

तर, ‘घरभरि कपडा बीरे नांगै’ भन्ने आहानजस्तै भएको छ यतिबेला । भूकम्प पीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा पैसा नउठेर पीडितलाइ राहत बाँड्न पुगिरहेको छैन । तर, हाम्रा ‘ब्राण्ड एम्बासडोर’हरु आफ्नै तालले हिँडिरहेका छन् । राज्यले सहयोग माग्दा पनि उनीहरुले सहयोग गर्न सकेका छैनन् ।

चर्चित कलाकार हरिबंश आचार्य आफ्नै तालले पीडितलाई राहत बाँड्दै हिँडेका छन् । तर, सरकारले सिंहदरबारमै बोलाएर प्रधानमन्त्री कोषमा सहयोग जुटाइदिन आग्रह गर्दा पनि उनले खासै चासो दिएका छैनन् ।

प्रधानमन्त्री राहत कोषमा अपेक्षीकृत रकम नउठेपछि पीडितलाई सहयोग गर्न नसकिने स्थिति आएको छ । सरकारी रकममा भ्रष्टाचार हुन्छ भन्ने सन्देश गएकाले प्रधानमन्त्री कोषमा दुई अर्बको हाराहारीमा मात्रै रकम जुटेको छ । तर, भूकम्प पीडितलाई खर्ब रुपैयाँले पनि नपुग्ने गरी क्षति पुगेको अवस्था छ ।

नेपाल सरकारले देशका चर्चित सेलीब्रेटीहरुलाई बोलाएर सहयोग गरिदिन अघिल्लो हप्ता नै आग्रह गरिसकेको छ । तर, सरकारले बोलाएर आग्रह गरेको एक साता बित्दा पनि कलाकार, क्रिकेटर लगायतका समाजसेवीबाट कुनै पहल भएको देखिँदैन ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोसिवन्द पोखरेलले सेलीब्रेटीलाई बोलाएर सरकारी कोषमा रकम जुटाइदिन अनुनय गरेका थिए ।

त्यसरी निम्त्याइएकाहरुमा चर्चित कलाकार राजेश हमाल, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, क्रिकेटर पारस खड्का, चर्चित डा. सन्दुक रुइत लगायत थिए ।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम हिनामिना हुन्छ भन्ने सोच जनतामा रहेको जानकारी गराउँदै यस्तो भ्रम चिरिदिन र पीडितलाई सहयोग गरिदिन सेलिब्रेटीसँग आग्रह गरेको हो ।

तर, कलाकारहरु भने सरकारले सहयोगका लागि आग्रह गरे पनि के गर्ने भन्नेमा अलमल देखिएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठले भने- ‘सरकारले सहयोग गर्नुपर्‍यो मात्र भनेको छ, तर के गर्ने भनेको छैन ।’

सरकारले नेपाली चलचित्र क्षेत्रबाट मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र राजेश हमाललाई बोलाएर राहत कोषमा पैसा जुटाइदिनेबारे भूमिका खेल्न आग्रह गरेको थियो । तर, सरकारले भनेजस्तो अपेक्षाकृत सहयोग कलाकारहरुले गरेका छैनन् ।

यसपछि राजेश हमाल टुँडीखेल सफा गर्न भन्दै कुचो बोकेको अवस्थामा देखिए भने महजोडी आफ्नै तवरले राहत वितरणमा सक्रिय छन् । हमालले यही बेला एउटा भूकम्पसम्बन्धी भिडियोमा मोडलिङ गर्न पनि भ्याएका छन् ।

सरकार बलियो नभई देश बलियो हुँदैन : मदनकृष्ण

कलाकार मदनकृष्ण श्रेष्ठले अनलाइनखबरसँग भने-‘सरकार बलियो नभई देश बलियो हुँदैन । व्यक्ति वा संस्थाले त केही समय मात्र गर्ने हो, तर अरु काम गर्ने सरकारले नै हो । अब पुनस्थापना र देश विकासको योजना बनाउनुपर्छ ।’

उनले आफूहरुले विभिन्न जिल्लामा पुगेर राहत वितरण गरेको जानकारी दिए । देशको राजनीतिक अवस्थाका कारणले गर्दा नै सरकारमा अविश्वास पैदा भएको श्रेष्ठको बुझाइ छ ।

आफूहरुले दिएको रकम पनि नेताहरुले मिलेर खान्छन्, भ्रष्टचार हुन्छ भन्ने भ्रम जनतामा भएकाले यस्तो अवस्था आएको उनले बताए । तर, उनले सरकारले गरेको आग्रहमा आफूहरुले गरेको पहलको विषयमा भने केही पनि भनेनन् ।

आफ्नो देशमा विपत आइलागेका बेला सेलिब्रेटीहरुले आफ्नो तर्फबाट राहतको पोका बोकेर दौडले मात्रै नभई सिंगै देशलाई एकतावद्ध बनाएर सहयोग जुटाउन भूमिका खेल्ने गरेको उदाहरण विश्वमा पाइन्छ । तर, हाम्रो देशको सेलिब्रेटीहरुको भूमिका यसपटकको भूकम्पले पर्दाफास गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment