काठमाडौं । अमेरिकाबाट एक वर्षअघि फर्किएकी गौरी मल्ललाई एकाएक ‘प्रधानमन्त्री’ बन्ने अफर आयो । नेपालको प्रथम महिला प्रधानमन्त्री । जीवनमा कहिल्यै राजनीतिमा लाग्छु भन्ने नसोचेकी, प्रधानमन्त्री बनेर देश हाँक्ने त कल्पनै नगरेकी गौरी यस्तो अफरले हल्का तनावमा परिन् ।
‘यो मेरो लागि साह्रै ठूलो अवसर थियो, तर त्यतिकै ठूलो चुनौति पनि,’ गौरी भन्छिन्, ‘एकैसाथ गम्भीर र उत्साहित भएँ ।’ जे होस गौरीले पद सम्हाल्ने निर्णय गरिन् । नेपालले प्रथम महिला राष्ट्रपति पाएकै बेला गौरीले ‘सिंहदरबार’ मा पहिलो महिला प्रधानमन्त्रीको सपथ खाइन् ।
छिरिङ रितार शेर्पाको निर्देशनमा बनेको टेलिश्रृंखला सिंहदरबारमा प्रधानमन्त्री सम्हालेपछि गौरीलाई लाग्यो, ‘यो हो यो न साह्रै बोझिलो काम पो रहेछ । मलाई अभिनय गर्दा त टाउको यति गहु्रंगो भएको छ, साँच्चै प्रधानमन्त्री बनेर देश चलाउनेलाई कस्तो हुँदो हो ।’
विगतमा थुप्रै फिल्म र सिरियलहरुमा आफ्नो उत्कृष्ट अभिनय पस्केकी गौरीका लागि प्रधानमन्त्रीको रोल नौलो अनुभव भयो । धेरै निर्देशकले उनलाई भावुक रोल दिएर सक्दो रुन सिकाएका थिए । तर यहाँ एउटी बोल्ड प्रधानमन्त्रीको भूमिका उनले निभाउनुपर्ने थियो, जहाँ रोनाधोनाको कुनै गुञ्जायस थिएन ।
अविनाशविक्रम साहले लेखेको स्क्रिप्ट पढ्दा गौरीई धेरै शब्दहरु नै नौला लागे । संवैधानिक शब्दहरु घोक्न पनि सजिलो भएन । सिंहदरबारमा अभिनय गर्ने क्रममो उनलाई लागेको छ, राजनीतिमा अलिअलि चाख राख्नुपर्ने रहेछ ।
केपी ओली प्रधानमन्त्री बन्नुअगावै गौरी मल्लले शीतलनिवासमा राष्ट्रपतिबाट प्रधानमन्त्री पदको सपथ ग्रहण गरिसकेकी थिइन् । प्रधानमन्त्रीको सपथ खाँदा अचम्मको अनुभव भएको उनी बताउछिन् ।
‘त्यतिबेला मभित्र कस्तो हलचल उत्पन्न भयो, शब्दमा व्यक्त गर्नै सक्दिन,’ गौरीले भनिन्, ‘टाउकोमा ठूलो भारले थिचे जस्तो भएको थियो ।’
सिंहदरबारबाट आफूले उत्साहजनक प्रतिक्रिया पाएको गौरी बताउछिन् । उनले भनिन्, ‘अहिले लोडसेडिङले गर्दा टिभीमा हेर्न नपाएका दर्शकहरुले पनि यूट्यूवमा हेर्ने गर्नुहुँदो रहेछ । हामीले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाइरहेका छौं ।’ सिंहदरबारका प्रत्येक एपिसोड टेलिभिजनमा प्रशारण भएको केहि बेरमै यूट्यूवमा अपलोड गरिन्छ ।
वास्तविक जीवनमा कहिल्यै प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ ? भन्ने प्रश्नमा गौरीले जवाफ दिइन्, ‘म सपना त खुबै देख्छु, तर यति असम्भव सपना चाहिँ देख्दिन । राजनीतिमा मेरो अभिरुची कहिल्यै भएन, प्रधानमन्त्री बन्ने त टाढाको कुरा ।’ यद्यपि सिंहदरबार खेलिसकेपछि उनको राजनीतितिर अभिरुची अलिकति बढेको उनले बताइन् ।
अमेरिकाबाट फर्केपछि व्यस्त
कलाकारीतामै फर्किने सोच रहे पनि अमेरिकाबाट फर्किदा गौरीको दिमागमा ठोस योजना भने थिएन । टेलिभिजनमा केहि काम गर्ने योजना बुनेकी उनी नेपाल आएपछि साथीहरुसित मिलेर एउटा प्रोडक्सन हाउस खोलेकी छिन् । यद्यपि अन्यत्रका सिरियल र फिचर फिल्ममै उनी व्यस्त हुन पुगेकी छिन् ।
गौरीले गाजलु, होमवर्क, सुब्बासाहेब लगायतका फिल्महरुमा काम गरिरहेकी गौरी सिंहदरबारबाट आफूलाई गतिलो कमब्याक मिलेको बताउछिन् ।
प्रतिक्रिया 4