Comments Add Comment

कामका लागि विदेशिने युवाको संख्या घटेको घट्यै

Foregin employ_1२९ माघ, काठमाडौं । नेपाली युवाहरु विदेशिएकोमा धेरैले चिन्ता गर्दै आएका छन् । तर, यसलाई सुखद समाचार मान्ने हो भने चालु आर्थिक वर्षमा कामका लागि विदेशिने युवाको संख्या घट्ने क्रम रोकिएको छैन । तथापि विदेशिने नेपालीको मासिक तथ्यांक हेर्ने हो भने यसलाई थोरै संख्या मान्न सकिने अवस्था अझै आइसकेको छैन ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार पुस महिनामा ३५ हजार ३ सय ८९ जना युवा श्रमका लागि विदेश गएका छन् । गत पुस महिनामा गत वर्षको पुस महिनाको तुलनामा विदेशिने युवा कम देखिएका छन् ।

गत वर्षको पहिलो ६ महिनासम्म २ लाख ७१ हजार ३ सय युवा विदेश पुगेकोमा यो वर्ष ६१ हजार कम युवा मात्रै बाहिरिएका छन् ।
अघिल्लो वर्षको पुस मसान्तसम्म २ लाख १० हजार ३ सय युवाहरु बाहरिएको विभागका काठमाडौं कार्यालय प्रमुख मधुबिलास पण्डितले बताए । बितेको मंसिर महिनामा ३८ हजार ५ सय ३० जना युवा बाहिरिएका थिए । गत कात्तिकमा २३ हजार युवा बाहरिएको विभागको तथ्याङ्क छ ।

गत वर्षको पुस महिनामा ४५ हजार ३ सय ६२ नेपाली विदेशिएका थिए । चालु आर्थिक वर्षमा भदौ महिनामा सबैभन्दा धेरै ४० हजार युवा विदेश गएका थिए ।

पुस महिनामा सबैभन्दा धेरै नेपाली साउदी अरबमा गएका छन् । यो महिनामा १३ हजार ९१ जना साउदीमा गएका हुन् । यसैगरी कतार जानेको संख्या १० हजार ६ सय २५ छ ।

किन घट्दैछ संख्या ?

गत वैशाखमा गएको भूकम्प र देशमा नाकाबन्दीलगायत उत्पन्न विशेष परिस्थितिका कारण विदेश जानको संख्यामा कमी अएको सरकारको अनुमान छ ।

त्यस्तै अघिल्लो वर्षसम्म नपालीको प्रमुख गन्तब्य रहेको मलेसियामा आर्थिक मन्दी लागेकाले संख्या घट्नु स्वभाविक भएको सरकारी अधिकारीहरुको विश्लेषण छ ।

‘मलेसिया र युएई बाहेक अन्य मुुलुकमा जानेहरुको संख्या बढेको छ । मलेसिया जान युवाको आकर्षणमा आएको कमीका कारण समग्र विदेश जानको संख्या प्रभावित भएको हो’ वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय प्रमुख पण्डितले अनलाइनखबरसँग भने ।

तर, म्यानपवर व्यवसायी अन्य कुनै कारणले विदेशमा काम गर्न जानेको संख्या घटेको मान्दैनन् । फ्रि भिसा र टिकटको निर्णयका कारण वैदेशिक रोजगारीमा जाने घटेको वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालको तर्क छ ।
फ्रि भिसाको निर्णयका कारण अन्य देशबाट निर्माण क्षेत्रमा धेरै माग ल्याउनुपरेको छ । सबै देशमा ‘इन्डोर वा सर्भिस’ क्षेत्रको सहज काममा डिमान्ड ल्याउन सकिएको छैन’ खनालले भने-‘त्यसैले विदेशिने संख्या निकै घटेको हो ।’

मलेसियाको श्रम बजार ओरालोमा 

व्यवसायीले नस्वीकारे पनि विभागले भनेजस्तै यो अवधिमा मलेसियामा जाने नेपालीको संख्यामा उल्लेख्य कमी अएको छ ।
मलेसियाको आर्थिक मन्दी खस्किएका मुद्राको भाऊका कारण मलेसियामा नेपाली कामदार जान खासै इच्छा देखाइरहेका छैनन् । म्यानपावरहरुमा मलेसिया जाने युवा नपाएपछि झण्डै १५ हजारको माग अलपत्र बनेको छ ।

पुस महिनामा मलेसियामा ४ हजार ५ सय ६ जना युवा गएका छन् । गत महिना यो संख्या ५ हजार ५ सय ५५ थियो भने अघिल्लो वर्षको पुसमा १७ हजार ६० थियो । बितेको वर्षको पहिलो ६ महिनामा मलेसियामा १ लाख १७ हजार ६ सय युवा गएका थिए भने यो वर्ष समीक्षा अवधिमा ३५ हजार ३ सय ३५ युवा मात्रै गएका छन् ।

साउदी र कतार फस्टाउँदै 

साउदी अरेबिया जाने नेपालीको संख्या गत वर्षको तुलनामा बढेको छ । समीक्षा अवधिमा गत वर्ष ४२ हजार युवा साउदी उडेकोमा यो वर्ष ६६ हजार पुगेको छ । कतारमा जानेको संख्या सुधि्रएर ६३ हजारबाट ६४ हजार भएको छ ।

युएईमा पनि जाने समान्य घटेका छन् । यो अवधिमा युएईमा २६ हजार युवा रोजगारी खोज्दै पुगेका छन् । गत वर्षको पुससम्म यो संख्या २८ हजार थियो । अन्य खाडी मुलुकमा जानेको संख्या पनि बढिरहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment