+
+
Shares

मधेस आन्दोलनमा ज्यान गुमाउनेका परिवार निराशामा

'गाउँ-समाजमा सहानुभूतिको साटो उल्टै घोचपेच'

एस.के. शान एस.के. शान
२०७३ असार २४ गते २०:०१
Punam-Saha
मधेस आन्दोलनमा ज्यान गुमाएका दिलिप साहकी पत्नी पुनम र आमा

२४ असार, सप्तरी । ‘तपाईंहरुलाई के कुराको कमी छ र ?’ एउटा निजी क्लिनिकमा भिडियो एक्सरे गर्न पुगेकी पुनम साहलाई कर्मचारीले यस्तो घोचपेच गरे ।

मधेस आन्दोलनमा श्रीमान गुमाएकी उनी केही छुट पाइन्छ कि भनेर आग्रह गर्दै थिइन् । तर, छुटको साटो तिखो जवाफ पाइन् । कर्मचारीले थपे, ‘सरकारले क्षतिपूर्ति दिएको छ । अरु पनि थुप्रैले सहयोग गरेका छन् । तपाईंहरु त धनी भइसक्नुभयो होला ।’

पुनमले यस्तो शब्द पहिलोचोटि सुनेकी भने होइनन् । जहाँ जाँदा पनि यस्तै घोचपेच झेल्नुपर्छ अचेल उनले । उनका श्रीमान् दिलिप साहको गत ७ मंसिरमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

पुनम भन्छिन्, ‘अहिलेसम्म कतैबाट सहयोग पाउन सकेकी छैन । छोराछोरीलाई पढाउन र घर खर्च चलाउन धौधौ छ । दुनियाका कुरा सुन्दा त श्रीमानले दिएको बलिदानी बेकार रहेछ जस्तो लाग्छ ।’

उनले आफ्नो श्रीमानलाई अहिलेसम्म शहीद घोषणासमेत नगरेको भन्दै दुःख व्यक्त गरिन् ।

प्रहरीको गोली लागेर ज्यान गुमाउने डाढा गाविसका बिरेन्द्र रामका पिता सकलदेव पनि गाउँ-समाजका कुरा सुनेर दिक्दार छन् । ‘ल अब त लाखौं पाउने भयौं, मालामाल हुने भयौ भनेर कुरा गर्छन्’ उनले भने, ‘तर, हामीलाई गुजारा चलाउनै धौधौ छ ।’

मारिने सबै ‘निर्दोष’

आन्दोलनका क्रममा मारिएका सप्तरीका सबै जना ‘निर्दाेष’ थिए । आन्दोलनमा पहिलोपटक ज्यान गुमाउने राजीव राउत आफ्नो घरबाट बजारतर्फ गइरहेका थिए ।

उनी निस्किनुभन्दा केहि बेरअगाडि प्रहरी-प्रदर्शनकारीबीचको झडप साम्य भएको थियो । उनी सडकमा आएलगत्तै प्रहरीले चलाएको गोली उनको छातीमा लाग्यो र तत्कालै ज्यान गयो ।

७ मंसिरमा मारिएका राजविराज १ का दिलिप साह आफ्नो घरको छतमा छोरीसँग खेलेर बसिरहेका थिए । प्रहरीको गोली छतमै पुगेर उनलाई छेड्यो । उनी तत्कालै ढले भने छोरी घाइते भइन् ।

भारदहमा मारिने पोर्ताहा १ का रामकृष्ण राउत घरायसी कामकै लागि बजार निस्केका थिए । प्रहरी-प्रदर्शनकारीबीच झडप भइरहेको देखेर उनी नजिकैको किनारा पसलमा बसे । तर, प्रहरीको गोलीबाट जोगिन सकेनन् ।

५ मंसिरमा रुपनीमा मारिने जमुनी मधेपुरा ९ का नागेश्वर यादव जुलुस छेउमा बसिरहेका थिए । प्रहरीले चलाएको गोली उनको कम्मरमा लाग्यो । प्रहरीले घिसारेर लैजाने क्रममा अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गयो ।

५ मंसिरमै भारदहमा मारिने वीरेन्द्र राम दुबै पक्षको रमिता हेर्न त्यहाँ पुगेका थिए । तर, उनी पनि प्रहरीको गोलीको शिकार बने । जमुनी मधेपुराकै शिबशंकर दास पनि कुनै आन्दोलनकारी थिएनन् ।

आन्दोलनप्रति विश्वास छैन

नयाँ संविधानका विभिन्न विषयवस्तुमाथि असहमति जनाउँदै तराई/मधेसमा थालिएको आन्दोलन झण्डै एक बर्ष पूरा भएको छ । गत बर्ष ३२ असारबाट शुरु भएको आन्दोलन अहिले पनि अनसनको रुपमा जारी नै छ ।

काठमाडौंमा शुरु गरिएको अनसन पछिल्लो सातादेखि सप्तरी सदरमुकाम राजविराजमा पनि थालिएको छ । तर, सप्तरीका ‘शहिद परिवार’मा भने आन्दोलनप्रति खासै उत्साह छैन ।  उनीहरु एक स्वरमा भन्छन्, ‘कुनै स्पष्ट योजना विनाको आन्दोलनले क्षतिबाहेक केहि पनि निम्त्याउन सक्दैन ।’

‘विगतमा पनि आन्दोलन गर्दा केहि योजना थिएन भने अहिले पनि कुनै योजना छ जस्तो लाग्दैन,’ दिलिपकी पत्नी पूनम भन्छिन्, ‘अहिलेकै अवस्थामा नेताहरुले आन्दोलनको एजेन्डा पूरा गराउने विश्वास हामीलाई छैन ।’

केहि दिन अगाडि जिल्ला विकास समितिमा आएकी राजीवकी पत्नी निलमले पनि यस्तै धारणा राखेकी थिइन् । उनले भनेकी थिइन्, ‘एक बर्ष भइसक्यो अहिलेसम्म कुनै माग पूरा हुन सकेको छैन । के मेरो श्रीमान्को ज्यानको कुनै मूल्य थिएन ?’

प्रहरीको गोली लागेर ज्यान गुमाउने वीरेन्द्र रामका पिता सकलदेवलाई पनि मधेसका माग पुरा नहुने चिन्ता छ । तराई मधेश लोकतान्त्रिक पार्टीले राजविराजमा केहि दिन अगाडि आयोजना गरेको कार्यक्रममा सम्मान ग्रहण गर्न आएका उनले डाँको छोडेर रोएका थिए ।

Sakal-dev
वीरेन्द्र रामका पिता सकलदेव

उनले नेताहरुलाई प्रश्न गरेका थिए, ‘मेरो छोरो त रहेन । तर के मधेशको माग अब पूरा हुन्छ ?’

जवाफमा तमलोपाका जिल्ला अध्यक्ष रामपि्रत यादवले भनेका थिए, ‘धैर्य गर्नुस् तपाईंको छोराको बलिदानी खेर जाँदैन् । र मधेशले अधिकार पाउँछ ।’

सकलदेव अहिले पनि भन्छन्, ‘मेरो छोराको बलिदानी खेर जानुहुँदैन र नेताहरुले बोलेको कुरा पूरा हुनुपर्छ ।’

रामकृष्णका परिवार पनि यही अवस्थामा माग पूरा हुने छाँटकाँट देख्दैनन् । राउतका भाइ धर्मपाल भन्छन्, ‘यो तालले माग पूरा हुने कुनै आधार देख्दिनँ । कुनै ठोस योजना बनाएर संघर्ष नगरेसम्म आन्दोलन निष्कर्षमा पुग्दैन ।’

राजविराजमा रिले अनसन शुरु गर्ने मधेशी मोर्चाका नेताहरुले ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, राज्य पक्षबाट क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको उपचार खर्चको व्यवस्था गर्नुपर्नेसहितका माग पनि राखेका छन् । तर। ज्यान गुमाउनेहरुका परिवार माग पूरा हुनेमा आश्वस्त छैनन् ।

नेताहरु भन्छन्: माग पूरा गराएर छाड्छौं

आन्दोलनकारी मधेसी दलका नेताहरु भने आफूहरुले उठाएका माग जसरी पनि पुरा गराएर छाड्ने दाबी गर्छन् ।

आन्दोलनका क्रममा भएको बलिदानी गर्नेहरुका परिवारको आक्रोश भने स्वभाविक रहेको उनीहरुको भनाइ छ । ‘शहीद परिवार मात्रै होइन् सर्वसाधारण जनता पनि निराश भएका छन्’ संघिय समाजवादी फोरम नेपालका केन्दि्रय सदस्य शैलेन्द्र सिंह भन्छन्, ‘निराशासँगै जनता आक्रोशित समेत भएका छन् । यो स्वभाविक नै हो ।’

सरकारले शान्तिपूर्ण आन्दोलनलाई पनि वेवास्ता गरिरहेको बताउँदै उनले एक न एक दिन सरकारलाई घुँडा टेकाएर छाड्ने उद्घोष गरे । ‘अहिले जसरी सरकारले वेवास्ता गरिरहेको छ त्यो देशकै लागि दुर्भाग्य हो,’ साह भन्छन्, ‘राज्यले समयमै बिचार पुर्‍याउनुपर्छ ।’

लगातार आन्दोलन गर्दा पनि अहिले मुख्य दलका नेताहरु पुनः सरकार फेर्ने खेलमा लागे आन्दोलनलाई वेवास्ता गरेको उनको भनाइ छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका केन्दि्रय नेता जयप्रकाश ठाकुर पनि निराशालाई स्वभाविक बताउँछन् । ‘कुरा सही हो, माग पूरा हुन सकेको छैन,’ उनी भन्छन्, ‘तर हामीले आन्दोलन जारी राखेकै छौं र माग पूरा नभएसम्म जारी राख्छौ ।’

ठाकुरका अनुसार आगामी साउन १ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गर्ने बिषयमा छलफल चलिरहेको छ । सद्भावनाका युवा नेता तथा विद्यार्थी मञ्चका केन्दि्रय अध्यक्ष किशोर कुमार यादव पनि माग पूरा गराएरै छाड्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?