Comments Add Comment

प्रिटोरिया एक सपना

मैले मेरो देशमा वादहरुले निर्माण गरेका पर्खालहरु सम्झिएँ

कुरा सुरू गरौं दक्षिण अफ्रिकाबाट ।

डिसेम्बर १३, २०१० को सुनौलो बिहान म दक्षिण अफ्रिका पुगें । मेरो लक्ष्य थियो विश्व युवा विद्यार्थी सम्मेलनमा सहभागी हुने । त्यही मेसोमा दक्षिण अफ्रिकी सहर पि्रटोरिया मज्जाले घुमियो । यो निकै सुन्दर सहर हो- ‘रेम्बो नेसन’ को ‘रेम्बो सिटी ।’

keshav-dahalप्रिटोरिया र काठमाडौंमा एउटा समानता छ- त्यहाँका सडक किनारमा नीलो शिरीष लटरम्म फुल्छ । ‘ज्याकारान्डा’ नामको त्यो फूल काठमाडौंमा पनि उस्तै फुल्छ । तर, यी सहरहरुमा एउटा फरक छ- पि्रटोरियाका सडकहरुमा ज्याकारान्डा हुर्कंदै छन्, काठमाडौंमा मासिँदै छन् । त्यसो त नेल्सन मन्डेलाको देशमा मान्छेको जीवन पनि फूलजस्तै उमङ्गले भरिपूर्ण छ । लाग्छ, त्यो देशमा हिजो रङ्गभेद पनि थिएन र प्रतिरोध पनि । मान्छेहरु हाँस्तै र ठूलठूलो स्वरमा कराउँदै दौडिरहेका भेटिन्छन् । ठूला सहरहरुको विशेषतै हो मान्छे हिँड्छन् कम, दौडिन्छन् ज्यादा । त्यहाँका सडकमा हुइँकिने चिल्ला गाडीहरुमा चर्को सङ्गीत सुनिन्छ । मानौं ती काला मान्छेहरु विगतलाई बिर्सिएर ताजा हुन चाहन्छन् तर यता काठमाडौंमा जीवन फक्रिएको छैन ।

मान्छेहरु अझै उमङ्गले हाँस्न पाएका छैनन् । माओवादी द्वन्द्वको घाउ ताजै छ । शान्ति प्रक्रिया भर्खर विश्राम लिने सुरमा छ । त्यसैले काठमाडौंका सडकमा ज्याकारान्डा पनि उदास र कान्तिहीन छ ।

दक्षिण अफ्रिका नेल्सन मन्डेलाको भूमि हो, मन्डेलाले जातीय मुक्ति र लोकतन्त्रको ज्याकारान्डा हुर्काएको भूमि । त्यहाँ आज मन्डेला छैनन् तर मान्छेका मनमा उनी बाँचिरहेका छन् । एक राजनेता र पिताको रुपमा उनी अझै दक्षिण अफ्रिका र समग्र अफ्रिकामा सबैभन्दा धेरै सम्मानित छन् ।

नेल्सन मन्डेलापछि दक्षिण अफ्रिकामा ज्याकब जुमा सत्तामा आए । उनी मन्डेलाका उत्तराधिकारी हुन् । सन् २०१० ताका उनै जुमा दक्षिण अफ्रिकाका राष्ट्रपति थिए ।
जुमाका बारेमा अनेकौं रमाइला प्रसङ्गहरु छन् । सन् १९९० अगाडि उनी दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा थिए । कम्युनिस्ट पार्टी छाडेर उनी अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) मा आए । रसिक स्वभावका जुमाले आफ्नो जातीय सांस्कृति र परम्पराका नाममा पटकपटक सुन्दर अफ्रिकी युवतीहरुसँग विवाह गरे । उनका वैधानिक ६ श्रीमती र २० सन्तान छन् । अझै यो सङ्ख्या थपिन सक्छ । आफ्ना नेताको स्वभावसँग अफ्रिकीहरु पनि परिचित छन् । एएनसीका प्रिटोरिया नगर स्तरीय युवा कार्यकर्ता डोवा लुलावा भन्छन्- “जुमा असल मान्छे हुन्, असल मान्छेहरु रमाइला र सबैका प्रिय हुन्छन् ।”

मैले मेरो देशमा वादहरुले निर्माण गरेका पर्खालहरु सम्झिएँ । मेरा नेताहरुको सङ्कीर्णता सम्झिएँ । पटक-पटक आन्दोलन गरेर पनि सपनाहरुको मलामी जाँदै गरेका अभागी मान्छेहरुको लस्कर सम्झिएँ

युवा विद्यार्थीहरुको विश्व सम्मेलनमा नेपालबाट केही दर्जन युवा, विद्यार्थी, राजनीतिक कार्यकर्ता, लेखक र पत्रकारहरु सहभागी थियौं । सबै मिलाउँदा ६३ देशका युवा विद्यार्थीहरुको उत्सव थियो त्यो सम्मेलन- इन्द्रेनीजस्तो । सहभागी युवाहरुमा विश्वप्रेम, सद्भाव, स्वतन्त्रताको अपार आकाङ्क्षा र परिवर्तनप्रतिको लगाब देखिन्थ्यो । भव्य थियो कार्यक्रम, त्योभन्दा भव्य थियो युवाहरुको उत्साह ।

१३ डिसेम्बर २०१० मा सम्मेलनको उद्घाटन भयो । अद्भूत थियो त्यो क्षण । अफ्रिकी कलाकारहरुको साङ्गीतिक प्रस्तुति बेजोड र आक्रमक थियो । चर्को सङ्गीत र बलशाली सामूहिक नृत्य । अफ्रिकी नृत्यले सहभागीहरु सबैलाई एकैसाथ नचायो । उद्घाटनमा संक्षिप्त सन्देश दिँदै राष्ट्रपति जुमाले भने- “न्याय, स्वतन्त्रता र मानव समृद्धिका लागि दक्षिण अफ्रिका सदैव सबैसँग साथ रहनेछ ।”

सम्मेलनको नारा थियो- ‘अर्को विश्व सम्भव छ (Another World is Possible) ।’ त्यहाँ ‘अर्को विश्व’ भनेर कुनै अलग ग्रहको कुरा भइरहेको थिएन । बरू ‘यही विश्व न्यायपूर्ण, समृद्ध र स्वतन्त्र हुनेछ’ भन्ने परिकल्पना गरिएको थियो । स्वप्नदर्शी युवाहरुको परिकल्पना थियो त्यो, जो समकालीन विश्वका पुरातन ढर्राहरुसँग सहमत थिएनन् । ‘विश्वको भोकमरी, शोषण, विभेद र शासकीय उन्मादभन्दा अलग समृद्ध र मैत्रीपूर्ण विश्व सम्भव छ’ भन्ने उनीहरुको कल्पना हो । उनीहरु अझ धेरै लोकतन्त्र खोजिरहेका थिए । युवाहरु साम्राज्यवादविरूद्ध थिए । उनीहरु विश्वव्यापीकरण र खुला बजारको विपक्षमा थिए, आणविक प्रतिस्पर्धा र युद्धको विपक्षमा थिए । युवाहरु थिए विश्वबन्धुत्व र न्यायको पक्षमा । लाग्थ्यो, विगत इतिहासले बनाएका राजनीति, धर्म र रङ्गका पुराना सीमाहरुभन्दा आजका युवाहरु धेरै माथि छन् । र उनीहरु अझ माथि जान चाहन्छन् । विश्व मानव समुदायप्रतिको अगाध मायाले युवाहरु अझ धेरै ओतप्रोत हुँदै छन् ।

सम्मेलनमा सहभागी युवाहरुसँग सुनाउने अनेकौं कुराहरु थिए । त्यसका लागि विभिन्न कार्यशाला, प्रवचन, साङ्गीतिक प्रस्तुति, पोस्टर प्रदर्शन, पुस्तक विमोचन, चलचित्र प्रदर्शन र संवाद कार्यक्रम राखिएका थिए । ल्याटिन अमेरिकाको कुनै युवा हृयुगो चावेज, फिडेल क्यास्ट्रो र चे ग्वेभाराको कुरा गथ्र्यो । जर्मनीबाट आएकी डच केटी रोजा लग्जम्बर्गको कथा सुनाउँथी । श्रीलङ्काली युवा मजदुर दक्षिण-दक्षिण सहयोगका लागि गरिब देशहरुको ब्याङ्क खोल्ने सपना बाँड्थ्यो, विश्व ब्याङ्कसँग रूष्ट थियो ऊ । लेनिन र स्टालिनलाई प्राधिकार मन्नेहरु पनि त्यहीँ थिए । ट्रटस्की, काउत्स्की र गोर्वाचोभको कुरा गर्नेहरु पनि थिए । कुनै विद्यार्थी अस्तित्ववादको प्रचारका लागि ससाना पर्चाहरु बाँड्थ्यो । कोही न्यु लेफ्टको भविष्य सुनाउँथ्यो । कोही माओवादीहरु थिए, केही प्रजातान्त्रिक समाजवादीहरु । कोही नोम चोम्स्कीका फ्यान थिए ! कोही नित्से, गान्धी, फ्रायड, पिकेटी र फुकीयामालाई आदर्श मान्थे । एउटा कुनामा बर्माको प्रजातान्त्रिक आन्दोलनको चर्चा हुन्थ्यो, अर्को कुनामा प्यालेस्टाइनको कथा सुनाइन्थ्यो । कतै भोजभतेर थिए, कतै प्रेम र समपर्णका कुरा हुन्थे । कुरा फरक फरक गरिन्थे तर सबैको एउटै सपना थियो- मानव समृद्धि र न्यायपूर्ण विश्व ।

मैले मेरो देशमा वादहरुले निर्माण गरेका पर्खालहरु सम्झिएँ । मेरा नेताहरुको सङ्कीर्णता सम्झिएँ । पटक-पटक आन्दोलन गरेर पनि सपनाहरुको मलामी जाँदै गरेका अभागी मान्छेहरुको लस्कर सम्झिएँ । जब उदात्त लोकतन्त्र र समृद्धिको समुन्द्रमा मैले आफूलाई हेलिदिएँ, ठीक त्यही बेला मलाई नयाँ ज्ञान प्राप्त भएझैँ लाग्यो । मैले आफूलाई विचारका पुराना बन्धनहरुबाट मुक्त गरें । अनि म न पूरापूर माक्र्सवादी रहें, न त उदार प्रजातन्त्रवादी । ‘मान्छेको सर्वोच्च हितभन्दा माथि जात, धर्म र रङ्गको कुनै मूल्य छैन’ भन्ने मैले त्यहीँबाट महसुस गरें । मेरो निष्कर्ष बन्यो- ‘मानवतावाद, न्याय र समृद्धि राजनीतिको सर्वोच्च गन्तव्य हो ।’

२० डिसेम्बरका दिन पि्रटोरियामा सानो रात्रिभोज आयोजना गरियो ।

keshab-dahal-book-coverभोजको व्यवस्थापक थिई हाम्री स्वयंसेवक- निकै हँसिली यौवना । पेसाले कम्प्युटर इन्जिनियर ऊ एचआईभी सङ्क्रमित रहिछ, उसको श्रीमान् पनि एचआईभी सङ्क्रमित । दुवै अफ्रिकन नेसनल कङ्ग्रेसका कार्यकर्ता । आफूलाई एचआईभी छ भन्ने कुरा एक दिन उसले खुसुक्क मेरो कानमा भनी ।

“कसरी त्यस्तो भयो ?” मैले व्यर्थको जिज्ञासा राखें ।

उसले भनी, “सयौं कारणहरु हुन्छन् । एउटा कारण मेरो भागमा पर्‍यो ।”

काली मैयाँको भोजन प्रबन्ध बेजोड थियो ।

सम्मेलनको समय तालिकामा त्यो दिन ‘अफ्रिका डे’ थियो । हाम्रा लागि भने बिदाइ भोज ।

टेबल वरिपरि थियौं हामी बङ्गलादेश, भियतनाम, कोरिया र लाओसका नौ जना साथी । गफ घुम्दैफिर्दै मान्छे, समाज, राजनीति, अर्थतन्त्र र समृद्धिसँग जोडिन्थ्यो । प्रश्न उठयो- एउटा देश सिँगार्न कति वर्ष चाहिन्छ ? प्रश्न सरल थियो तर अर्थपूर्ण । वास्तवमै एउटा देश कति वर्षमा सम्बृद्ध बन्छ ? जनताका आधारभूत सपना पूरा गर्न कति वर्ष लाग्छ होला ? यो प्रश्न मेरा लागि अझ महफ्वपूर्ण थियो । किनभने हामी विगत ७० वर्षदेखि समृद्धिका लागि लडिरहेछौं तर सपनाहरु उस्तै छन्, समस्याहरु उस्तै छन् । हरेक दिन एउटै सपना देख्नु र पटक पटक सपनाहरुको मलामी जानु हाम्रो समयको मुख्य त्रासदि हो ।

यही प्रश्नको वरिपरि हामी नेपालीहरु विगत ७० वर्षदेखि घुमिरहेछौं ।

कुरा गर्न सिपालु भियतनामकी युवतीको उत्साह गजब थियो । मेरो तरिकाले उच्चारण गर्दा उसको नाम थियो फोङ । बोल्दा हाम्रो गाउँघरतिर रूप्पी कराएजस्तो सुनिन्थ्यो उसको स्वर । ऊ आफ्ना कुरा अलि जोडले भन्थी । उसको तर्क थियो- ‘गतिहीनहरु सयौं वर्ष एकै ठाउँमा घुमिरहँदा बहादुरहरु सगरमाथा चढिसक्छन् । यो समयको कुरा होइन, नेताहरुको क्रियाशीलताको कुरा हो । गतिशीलहरुले एक दशकमा देश बनाउन सक्छन् ।’ उसले ‘काका हो चि मिन्ह’ को केही प्रसङ्ग सुनाई । सन् १९४५ देखि १९७५ सम्म भियतनाम अमेरिकासँग बहादुरीपूर्वक लडयो । आज त्यो देश धानको उत्पादनमा विश्वमै अग्रणी छ । भियतनामको ‘स्वाधीनता सङ्घर्ष’ विश्वकै प्रेरणादायी उदाहरण हो । ‘आफ्नो देश बन्दैछ’ भन्नेमा ऊ ढुक्क थिई ।

समृद्धिका अरु उदाहरणहरु पनि छलफलमा आए । कसैले चीनको कुरा गर्‍यो । अध्यक्ष माओको चीनलाई देङ्ग सिआओ पिङले सिँगारे । उनलाई आधुनिक चीनको कुशल शिल्पी मानिन्छ । सांस्कृतिक क्रान्तिपछिका २० वर्षमा चीनको आर्थिक वृद्धि लगभग तिन गुणाले बढेको बताइन्छ ।

चीनबारेको एउटा रोचक प्रसङ्ग ‘टाइम’ पत्रिकाकी हन्ना विचले लेखेकी थिइन् । त्यही लेख ‘२५ वर्षपछिको तियानमेन’ शीर्षक दिएर कान्तिपुर कोसेलीमा जेठ २४, २०७१ मा छापियो- “सन् १९८९ मा चीनको कुल गार्हस्थ उत्पादन गरिब अपि|mकी मुलुक गिनी बिसोबराबर थियो । आज चीन संसारमा अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र हो ।”

गजबको उदाहरण जापानसँग पनि छ । दोस्रो विश्वयुद्धले जापनालाई निकै कमजोर बनाएको थियो । सन् १९४५ अगस्तमा लिटिल ब्वाइहरुले हिरोसिमा र नागासाकी खरानी बनाएका थिए । यो त्रासदिमा दुई लाख २० हजारभन्दा धेरै मान्छे मारिए । जापान तहसनहस भयो तर त्यही खरानीको जगमा २० वर्षभित्रै जापानले आफ्नो अर्थतन्त्र पुनर्निर्माण गर्‍यो । आज जापान विश्वको समृद्ध राष्ट्र हो । मोहम्मद महाथिरको मलेसिया केही दशक अगाडिसम्म साम्रज्यवादको हस्तक्षेप, आन्तरिक युद्ध र गरिबीको तीव्र चपेटामा थियो तर महाथिरको सपनाले २० वर्षमा आकार लियो ।

तिनै महाथिरले २०७० सालको अन्त्यमा काठमाडौंको एक कार्यक्रममा प्रवचन दिँदै भने- “राजनीतिक स्थायित्व मूल कुरा हो । एउटा देश बनाउन धेरै समय लाग्दैन ।”
आज मलेसिया लाखौं नेपालीको श्रम गन्तव्य बनेको छ ।

स्वराज प्राप्त गरेको ३० वर्षमै भारत विश्वको महफ्वपूर्ण आर्थिक शक्ति बनिसकेको थियो । सन् १९६५ पछिको गरिब, कमजोर र परित्यक्त सिङ्गापुर आज एसियाकै सानदार देश बनेको छ ।

यसै गरी युरोपका अनुभवहरु पनि निकै रोचक छन् । कठयाङ्गि्रने जाडो, अनेकौं युद्ध र अतिक्रमण कसरी झेले हुन् युरोपका खैरा मान्छेहरुले ? सन् १६८९ देखि १८१५ सम्म भएका बेलायत र फ्रान्सबीचका युद्धहरुले युरोपलाई तहसनहस पारेको थियो । अनुमान गर्न सकिन्छ- सन् १९१४ देखि १९१८ सम्म भएको पहिलो विश्वयुद्धमा एक करोड ३० लाख मानिस मरे । १ जुलाई १९१६, सोम्मेको लडाइँमा एकै दिन ५७,४७० बेलायती सेना मारिएका थिए । दोस्रो विश्वयुद्ध पहिलोभन्दा अझ भयङ्कर थियो । त्यही त्रासद बरबादीको जगमा आजको युरोप बनेको हो । आफ्ना सहस्र प्रियजनहरु गुमाएको युरोपले शोकलाई शक्तिमा बदल्यो र समृद्धि खोज्यो ।

युरोपको समृद्धि रगत र आँसुको पोखरीमा फुलेको कमलजस्तै हो ।

भोज चल्दै गयो ।

खानपिनसँगै समृद्धिका अनेकौं सन्दर्भहरुमाथि चर्चा जारी थियो ।

मैले इतिहासमा पढेको नेपालको समृद्ध लिच्छवि काल सम्झिएँ । कुनै दिन हामी पनि निर्यातमा अब्बल थियौं । तिब्बतसँगको व्यापारमा नेपालले कमाएको ख्याति उच्च थियो । त्यो बेला हाम्रो काठमाडौं संस्कृति, परम्परा र सम्पन्नताले भरिलो थियो । मैले हाम्रा बुद्ध, सीता, जनक र अरनिकोलाई सम्झिएँ । मेरो मनमा प्रश्न उठ्यो ‘हामी कसरी गरिब भयौं ?’ मैले नेपाली जनताको समृद्धिको सङ्घर्ष, बलिदान र त्याग सम्झिएँ । इतिहासमा हामीले पनि निकै धेरै रगत र आँसु बगायौं । तर हाम्रो पोखरीमा कमल किन फुलेन ?

त्यो दिनको रात्रिभोज सकियो तर प्रश्नहरु सकिएनन् ।

(केशब दाहालको पुस्तक नेपाली राजनीतिको पुनर्गठन बाट साभार । यो पुस्तक माघ १२ गते देखि बजारमा आउँदैछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment