Comments Add Comment

राप्रपा राजसंस्थाको भजनमण्डली होइन

आगामी चुनावमा राप्रपा प्रमुख दलमा उक्लने दाबी

५ फागुन, काठमाडौं । राप्रपाको एकता महाधिवेशनको अघिल्लो दिन बिहीबार बिहान विशालनगरस्थित कमल थापाको घरमा ठूलो भीड थियो । केन्द्रीयदेखि जिल्लाबाट आएका कार्यकर्ताहरु थापालाई अग्रिम बधाइ दिन घरैमा भीड लागेका थिए । त्यही भिडमा हामीले समय निकालेर थापालाई ‘राजतन्त्र’ बारे कस्तो नीति पास गरेको भनेर केरकार गर्‍यौं ।

राप्रपा अध्यक्ष थापाले आफ्नो पार्टी राजतन्त्रको सवालमा कसैको ‘भजन मण्डली’ नभएको बताए । उनले यो पनि भने कि विदेशीले थोपर्ने राजसंस्था पनि नेपाली जनतालाई स्वीकार्य छैन ।

आगामी चुनावमा राप्रपा प्रमुख तीन दलमध्ये एक हुने तर कांग्रेस र एमालेसँग धेरै दुरी नभई प्रतिस्पर्धामा आउने, उस्तै परे पहिलो वा दोस्रो दल बन्न सक्ने दाबीसमेत थापाले गरे ।

पार्टीमा ठूला नेताहरु एकातिर हुँदाहुँदै तपाईले विगतमा सानो समूह बनाएर राप्रपा नेपाल गठन गर्नुभयो । र, निक्कै दुःख गरेर शक्ति आर्जन गर्नुभो । आज पार्टी एकता मात्रै भएन, शीर्ष नेताहरुले अध्यक्षमा तपाईलाई नै समर्थन गर्नुभएको छ । कत्तिको खुसी हुनुहुन्छ ?

अत्यन्त खुसी छु । आज पार्टी एकता भएर पार्टीको महाधिवेशन भइरहेको बेलामा म हिजोका अन्त्यन्त कठीन, असहज र संघर्षपूर्ण दिनहरु सम्झिरहेको छु । त्यो बेलामा हामीले जुन मान्यता र विचार बोकेर हिँडिराखेका थियौं, त्यसलाई धेरैले घृणा गर्दथे । हामीले निरन्तर संघर्ष गर्‍यौं । हाम्राबारे रहेका भ्रमहरु चिर्दै गयौं, हामीमा रहेका कमजारीहरु पनि सुधार गर्दै गयौं र हाम्रा मान्यतालाई पनि समयअनुसार परिर्माजन गर्दै गयौं ।

हिजो हामी एक्लै थियौं भने यो एकीकरणपछि राप्रपा एउटा ठूलो शक्तिका रुपमा स्थापित भएको छ । जसरी राप्रपा र राप्रपा नेपालको एकता गरेर साझा धारणा निर्माण गर्न सक्यौं, यसमा केही हामीले लचकता देखायौं, केही उहाँहरुले लचकता देखाउनुभो । यसैगरी भोलि हाम्रा मान्यतालाई स्थापित गर्न सक्छौं, अन्य राजनीतिक दलहरु, जो हिजो हाम्रा मान्यतालाई घृणा गर्थे, उहाँहरुको पनि मन जित्न सक्छौं । त्यसका निमित्त आवश्यक पर्दा स्वभाविक रुपमा हामी केही लचकता देखाउन तयार छौं ।

मैले प्रयोग गरेको शब्द ख्याल गर्नुहोला लोकतन्त्र भनिरहेको छु म । हामी राजसंस्थासहितको लोकतन्त्र स्थापनाको पक्षमा छौं र यो सम्भव छ भन्ने मलाई लाग्छ । असम्भव कुरा होइन ।

परिर्वतनका पक्षधरलाई चित्त बुझाएरै राजसंस्था ल्याइन्छ, बल प्रयोग र हिंसाले केही विकृति सिर्जना गर्दोरहेछ भन्दैहुनुहन्छ, यसरी परिर्वतनकारी शक्तिलाई सहमत गराएरै राजसंस्था फर्काउने भनेको के हो ? यसको व्याख्या कसरी गर्ने ?

राष्ट्रिय प्रजातन्त्र पार्टी जनताको सर्वोच्चता, प्रजातन्त्र र संवैधानिक सर्वोच्चतामा विश्वास गर्ने पार्टी हो । आफ्नो फरक मतका बाबजुत संविधान निर्माणमा हामीले सकारात्मक रुपले योगदान पुर्‍यायौं । अब संविधान कार्यान्वयनमा हामी सकारात्मक र रचनात्मक रुपमा योगदान पुर्‍याउँछौं । र, हाम्रो पार्टीको घोषित नीति नै छ कि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने ।

हामी केमा विश्वस्त छौं भने विदेशीहरुले थोपरिदिएको मान्यता, चाहे त्यो राजसंस्था नै किन नहोस् त्यो पनि नेपालमा टिकाउ हुन सक्दैन । नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन ।

यो संविधानले राजनीतिक दलहरुलाई विचार स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । यही अधिकारको प्रयोग गर्दै हामीले नेपालको भूराजनीतिक स्थिति र धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशमा राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकका रुपमा चुनावी राजनीतिभन्दा माथि उठेको एउटा साझा संस्था, राजसंस्था आवश्यक रहन्छ भन्ने मान्यता राख्छौं । राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने क्रममा राष्ट्रियतासँग नजिकको सम्वन्ध भएका संस्थाहरुको उपयोग गर्दै जानुपर्छ भन्ने हाम्रो नीति हो । र, विगत १० वर्षको घटनाक्रमले हाम्रो यो मान्यतालाई पुष्टि गरेको छ ।

तर, अर्कोतर्फ गणतन्त्र राष्ट्रिय यथार्थ बनिसक्यो । नेपालको संविधान ०७२ ले गणतन्त्रलाई संस्थागत गरेको छ । र, नेपालमा गणतन्त्र चाहनेहरुको पनि ठूलो संख्या छ । यो वास्तविकतालाई दृष्टिगत गर्दै अबको राजसंस्था परिवर्तनका पक्षधरहरुलाई पनि चित्त बुझ्ने, सहमति र सम्झौताको राजसंस्था हुनुपर्छ । संविधान अन्तरगत र संसदको परिधिभित्र रहने संस्था हुनुपर्छ ।

त्यस्तो संस्था स्थापित गर्ने क्रममा परिर्वतनका पक्षधर राजनीतिक दलहरुसँग सहमति गरेर अगाडि जान चाहन्छौं । त्यसक्रममा आवश्यक पर्‍यो भने जनमत संग्रहबाट पनि यो विषयको निराकरण गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो ।

डेनमार्क पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले भन्नुभएछ- दरबारिया र कम्युनिष्टहरुबाट साह्रै दुःख पाइयो, जतिबेला पनि प्रजातन्त्र खतरामा पर्ने । कम्युनिष्टहरु पनि नयाँ जनवाद, समाजवाद भन्ने । तपाईहरु पनि राजसंस्था फर्काउँछौं भन्ने । यसले त लोकतन्त्रलाई सधैं धरापमा पार्दैन र ? के जवाफ दिनुहुन्छ रामचन्द्रजीलाई ?

पौडेलजीलाई जवाफ दिइराख्नुपर्ने आवश्यकता देख्दिनँ । किनभने हरेक व्यक्तिको, पार्टीको आ-आफ्ना विचार मान्यता हुन्छन् र, त्यसमा विश्वास राखेरै अगाडि बढेका हुन्छन् । त्यो विश्वास, आस्थामाथि म पनि प्रश्न गर्न चाहन्नँ । र, त्यसैगरी हाम्रो विचार र आस्थाको सम्मान अरुले गरुन भन्ने चाहन्छु ।

भिडियो

तर, यसोगर्दा देशमा सधैं अस्थिरता त रहिरहने भयो नि ?

अस्थिरता हुँदैन । मलाई लाग्छ, अस्थिरता र अनिर्णयको मुख्य कारक भनेको विधि, व्यवस्था र कानुनी राज्यको सिद्धान्तलाई उपेक्षा गर्दा उत्पन्न हुने हो । विचार व्यक्ति वा दलको, निर्णय समूह वा संस्थाको भन्ने विधिको शासनलाई आत्मसाथ गर्ने हो भने द्वन्द्व कहिल्यै हुँदैन । आफ्नो विचार नै उपयुक्त, त्यो सबैले मान्नुपर्छ भन्ने धारणा राख्यो भने द्वन्द्व सुरु हुन्छ र प्रजातन्त्रको अन्त्य पनि त्यहीबाट हुन्छ । फरक-फरकवीचको प्रतिस्पर्धा नै प्रजातन्त्रको सौदर्य हो र, त्यसले प्रजातन्त्रलाई बलियो बनाउँछ ।

जहाँसम्म राजसंस्थाको कुरा छ, म गणतन्त्र पक्षधरहरुको आस्थामाथि प्रश्न गर्न चाहन्न । उहाँहरुले पनि विचार गरेरै त्यो धारणा राख्नुभएको छ र, हामीले पनि विचार गरेरै यो कुरा राखेका छौं । अहिलेको अवस्थामा मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउन सक्ने सबै संस्थाहरुलाई प्रयोग गरेर जानुपर्छ भन्ने हाम्रो मान्यता हो । र, हामीलाई के विश्वास छ भने परिवर्तनका पक्षधरहरुसँग समझदारी कायम गरेर अगाडि बढ्न सकिन्छ । आमूल परिर्वतन र परम्परागत मूल्य र मान्यताका बीचमा सामजस्यता खोज्नुपर्छ । त्यहाँ नै नेपालको हित छ । र, नेपालका निमित्त राजसंस्थासहितको लोकतन्त्र उपयुक्त व्यवस्था हो भन्ने हामीलाई लाग्छ ।

भनेपछि भोलि कसैले जनमत संग्रहबाट वा संविधान संशोधनबाट जनवाद ल्याउन खोज्यो भने त्यो पनि पाउँछ ?

निश्चय पनि । तर, जनताले कुनै पनि प्रकारको निरंकुशतालाई अनुमोदन गर्न भन्ने मलाई लाग्दैन । प्रजातान्त्रिक मूल्य र मान्यताको ठीक ढंगले अवलम्बन गर्ने हो भने निरंकुशता जन्मन सक्दैन । कथमकदाचित कुनै कालखण्डमा त्यस्तो देखा पर्‍यो भने पनि हामीले जनताको सर्वोच्चता, अवधिक निर्वाचन र विचार स्वतन्त्रतालाई सुनिश्चित गर्न सक्यौं भने फेरि परिस्थिति ठीक ठाउँमा आइहाल्छ ।

सोच्ने गरिन्थ्यो कि राजतन्त्र ‘कू’ को माध्यमबाट र्फकन सक्छ । त्योचाहिँ अब तपाईहरुबाट खारेज भयो होइन त ?

हामी न त कूबाट राजसंस्थाको स्थापना हुन सक्छ भन्ने मान्यता राख्छौं, न विद्रोहबाट नै । यहाँ कतिपयलाई आशंका के छ भने संविधान कार्यान्वयन भएन भने, अस्थिरता र अराजकता भयो भने कमल थापालाई खुसी लाग्छ, राप्रपालाई खुसी लाग्छ भन्ने छ । यो नितान्त गलत कुरा हो । भ्रम हो । हामी केमा विश्वस्त छौं भने विदेशीहरुले थोपरिदिएको मान्यता, चाहे त्यो राजसंस्था नै किन नहोस् त्यो पनि नेपालमा टिकाउ हुन सक्दैन । नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन ।

अस्थिरता र अराजकताको दलदल वा रत्तपातको पृष्ठभूमिमा आएको मान्यता र संस्था पनि टिकाउ हुँदैन । जनताको अभिमतबाट स्थापित मान्यता र संस्था मात्र टिकाउ हुन्छ भन्ने विश्वासका साथ हामी यो बाटो हिँडेका हौं ।

तर, कसै कसैले तपाईहरुको हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दालाई चुनावी नारा मात्रै हो भन्छन् नि ?

स्वाभाविक हो, यो एजेण्डा हामी चुनावमा लिएर जान्छौं । जनताको माझमा गए भएपछि हाम्रो चाहना बढी भन्दा बढी भोट हासिल गर्ने हुन्छ । त्यसकारण कसैले यसलाई चुनावका निमित्त प्रयोग गरिएको मान्यता वा नारा भन्छ भने हामी यसलाई अन्यथा ठान्दैनौं । तर, त्यो एजेण्डाप्रति हामी इमान्दार छौं । केवल भोट ल्याउन मात्र प्रयोग गर्दैनौं ।

पार्टी एकताका क्रममा राप्रपा र राप्रपा नेपाल दुबै लचक भयौं भन्नुभो । तर, नीति र नेतृत्व राप्रपा नेपालकै देखिन्छ । पूर्वराप्रपा त विलय भएकोजस्तो देखिन्छ होइन र ? आखिर पूर्वराप्रपाको के बाँकी रह्यो अब ?

त्यस्तो होइन । हिजो राप्रपा नेपाल यो मुलुकमा संघीयता चाहिँदैन । उपयुक्त होइन भन्ने मान्यता राख्थ्यो । अहिले सैद्धान्तिक रुपमा त्यो भनेपनि व्यवहारमा हामी के भनिरहेका छौं भने संघीयता मुलुकको यथार्थ भइसक्यो । संविधानको अंग भइसक्यो । अब हाम्रो प्रयास के मा हुन्छ भने संघीयताले मुलुकलाई कम भन्दा कम क्षति पुर्‍याओस् । खासगरी राष्ट्रिय एकता र अखण्डतामा आँच नपुर्‍याओस् र संघीयताको कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईको एकता नटुटोस् भन्ने मान्यतामा हामी गएका छौं ।

राजसंस्थाबारे पनि हामीले के स्वीकार गर्‍यौं भने गणतन्त्र राष्ट्रिय यथार्थ हो । यसलाई उपेक्षा गर्न सकिँदैन । त्यसैले परिर्वतन पक्षधरलाई पनि मान्य हुने साझा संस्थाका रुपमा राजसंस्थालाई विकास गरौं भन्ने मौलिक चिन्तन विकास गर्‍यौं । यसका निमित्त आवश्यक पर्‍यो भने जनमत संग्रह पनि गरौं भनेका हुनाले हिजो राप्रपा, जसले गणतन्त्रको पक्षमा भोट हालेको थियो, त्यो पार्टीको मान्यतालाई सम्मानजनक अनुमोदन गरेका छौं ।

जनमत संग्रहमा जाने भनेपछि भोलि त्यसले गणतन्त्र नै अनुमोदन गर्‍यो भने मान्नुहुन्छ ?

हामीले राष्ट्रियताको सन्दर्भमा राजसंस्थाको भूमिका हुनुपर्छ भनेका छौं । केही व्यक्तिहरु भजनमण्डलीका रुपमा आफूलाई प्रस्तुत गर्न चाहन्छन् । राप्रपा भजनमण्डली होइन ।

मान्छौं । जनताको निर्णयलाई त मान्नैपर्छ । हामी पनि मान्छौं, अरुलाई पनि मान्नुपर्छ भन्छौं ।

पार्टीमा धेरैजना वरिष्ठ नेताहरु हुनुहुन्छ । उहाँहरुलाई कसरी साथ लिएर जानुहुन्छ ?

पार्टीमा विभिन्न व्यक्तिहरुको भूमिका हुन्छ र हाम्रो पार्टी यस्तो शौभाग्यशाली पार्टी हो, जसले पञ्चायती, बहुदलीय र गणतन्त्रात्मक व्यवस्थामा पनि अनुभव हासिल गरेका छन् । पार्टीमा रहेका नेताहरु विभिन्न कालखण्डमा राज्यसत्तामा पुगेपनि निश्कलंक छवि भएका, अनुभव, योग्यता र क्षमता भएका हुनुहुन्छ । यो सबैको प्रयोग पार्टीले गर्छ । सामूहिक नेतृत्वको भावबाट अघि बढ्छौं ।

र, खासगरी पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा र वरिष्ठ नेता डा. प्रकाशचन्द लोहनीहरुको भूमिका आगामी दिनमा अझ प्रभावकारी र सक्रिय रहने व्यवस्था हामी गर्छौ ।

कसरी ?

पार्टीमा धेरै निकायहरु छन् । अहिले हामीले नीति निर्धारण तथा निर्देशन समितिको नयाँ संरचना व्यवस्था गरेका छौं । यसको मुख्य काम पार्टीलाई महत्वपूर्ण नीति र नियुक्तिहरुको परामर्श दिने र समझदारी कायम गर्ने ।

अलि दक्षिणपन्थी कोणबाट भन्ने गरिन्छ कि कमल थापा अवसरवादी मान्छे हो, उसले राजतन्त्र छोड्यो । अति दक्षिणपन्थी कोणबाट आउने यस्तो प्रहार सुन्दा तपाईलाई कस्तो महसुस हुन्छ ?

चित्त दुःख्छ । तर, मैले अन्यथा रुपमा लिएको छैन । म एउटा कुरामा प्रष्ट छु, यो पार्टी अघि मैले भनेको जस्तै राजसंस्थाको आवश्यता छ भन्ने मान्यता राख्छ । तर, मूलतः यो पार्टी राष्ट्रवादी पार्टी हो । हामीले राष्ट्रियताको सन्दर्भमा राजसंस्थाको भूमिका हुनुपर्छ भनेका छौं । केही व्यक्तिहरु भजनमण्डलीका रुपमा आफूलाई प्रस्तुत गर्न चाहन्छन् । राप्रपा भजनमण्डली होइन ।

राप्रपा मुलुकको सामाजिक, आर्थिक, सामाजिक रुपान्तरणका निमित्त एउटा मौलिक चिन्तन बोकेर हिँडेको पार्टी हो । र, यो महाधिवेशनबाट सम्वर्धनवादलाई बैचारिक दर्शनका रुपमा स्थापित गर्दैछौं । हाम्रा पार्टीका एजेण्डाहरु थुप्रै थिए तर, यसको बैचारिक दर्शनको आधार के हो भनेर व्याख्या भएको थिएन । यो महाधिवेशनबाट सम्वर्धनवादलाई बैचारिक दर्शनका रुपमा स्थापित गरेका छौं । यो नेपालको मौलिक बैचारिक चिन्तनका रुपमा रहनेछ र, यसले मुलुकको संकट समाधानमा सहयोग पुर्‍याउन सक्छ ।

यो सम्वर्धनवाद शब्द डा. लोहनीले ‘क्वाइन’ गर्नुभएको हो ?

राप्रपा नेपालको पहिलो महाधिवेशनमा हामीले स्थापित गरेको मान्यता हो । यसलाई राप्रपामा लिएका आएका छौं ।

गणतन्त्र यथार्थ भइसक्यो भनेर स्वीकार पनि गर्ने र सरकारमा गएर इन्जोय पनि गर्ने । फेरि सबैको सहमतिमा राजतन्त्र ल्याउँछु पनि भन्ने ? कमल थापाले यो सबै गर्न पाउने हो भने पनि राजतन्त्र र हिन्दु राष्ट्र बनाउँदैन, किनकि यसमा उसको राजनीति छ भन्छन् नि ?

म ‘रियालिस्टक’ कुरा गर्छु । यो तीनवटै चुनावमा हामी मुलुकका प्रमुख शक्तिहरुको हाराहारीमा हुनेछौं । पहिलो हुन पनि सक्छौं, दोस्रो हुन पनि सक्छौं, तेस्रो हुन पनि सक्छौं ।

वास्तवमा के भने मैले अघि नै भनेँ कि हाम्रो नीति संविधान र संवैधानिक संस्थाहरुसँग सहकार्य गरेर जाने । तर, आफ्नो मान्यता आफ्नो ठाउँमा छ । जब हामीले विद्रोह रोजेनौं र संवैधानिक संस्थाहरुसँग सहकार्य गर्ने भनेको छौं भने के संसदमा नजाने ? सडकमा बसेर कराइराख्ने ? संसदमा गइसकेपछि हामी सरकारमा नजाने ? अब त झन केन्द्रीय मात्र होइन, तीन तहको सरकार हुन्छ । अब के हामी स्थानीय सरकारको चुनाव नै नलड्ने ? होइन । हामी सरकारमा गए पनि आफ्नो मान्यतामा सम्झौता गर्दैनौं । मान्यता छोडर जानुपर्छ भन्ने शर्तमा सरकारमा जाँदैनौं । हाम्रो विचार स्वतन्त्रतालाई कायम राख्दै तत्कालीन न्यूनतम साझा कार्यक्रमका आधारमा सरकारमा जाने हो । त्यसैले यसमा अन्तरविरोध छैन ।

मदन भण्डारीले जनताको बहुदलीय जनवादको कुरा गर्दा पनि मानिसहरु यस्तै अन्तरविरोधको कुरा गर्थे । संविधानलाई आलोचनात्मक समर्थन पनि गर्ने, राजासँग सहकार्य पनि गर्ने अनि फेरि गणतन्त्र, जनवादको कुरा पनि गर्ने ? त्यही आरोप लगाउँथे, जुन अहिले हामीलाई लागेको छ । तर, यसमा अन्तरविरोध छैन । जनताको सर्वोच्चतालाई स्वीकार गरेपछि यो आफैं गौण हुन्छ ।

म के पनि जोड्न चाहन्छु भने हेर्दा केही अन्तरविरोध जस्तो देखिएता पनि यही अन्तरविरोधबाट हामीले मुलुकका निमित्त एउटा नेपाली संस्करणको मौलिक प्रजातन्त्र दिनुपर्छ । यो भनेको आमूल परिर्वतन र परम्परागत मूल्य र मान्यता बीचको संयोजन । मैले संसदमा पनि भनेको छु र प्रचण्डजीलाई पनि भनेको छु, तपाईहरुको एजेण्डा र मेरो परम्परागत मूल्य र मान्यताका बीचमा मिलनविन्दु खोज्नुपर्छ । त्यही नै नेपालका निम्ति मौलिक प्रजातन्त्र हुन्छ र, सम्भव छ ।

तर, यो अहिलेको कांग्रेस र एमालेको संसदीय व्यवस्था र माओवादीको एजेण्डा फ्य्जन जस्तै होला कि ? जसको पीडा अस्थिरता, चरम राजनीतिकरण जुन हामीले भोगिरहेका छौं, त्यस्तै हुने हो कि ?

यो फ्युजन भन्नुस् वा सिनर्जी भन्नुस् । किन द्वन्द्व हुन्छ भने जब हामी ‘रुल्स अफ द गेम’ (खेलको नियम) लाई फलो गर्दैनौं । तपाई र मेरो बीचमा मतभिन्नता छ, त्यसलाई निराकरण गर्ने विधि र विधान छ, त्यस अनुसार चल्नुस् न । आज किन मुलुक अनिर्णयको बन्दी भइरहेको छ ? भन्नुस् त । एकातिर एमाले भन्ने संसदमा छलफल गर्नै दिन्नौं, यो संशोधन राष्ट्रघाती छ । राष्ट्रघाती छ कि छैन भने संसदले निर्धारण गर्छ । कुनै पनि दल र नेताहरु मुलुकलाई ध्वस्त बनाउन चाहँदैनन् । अर्कातिर मधेस केन्द्रीत दलहरु आफ्नो समस्या समाधान भएन भने चुनाव नै हुन दिन्न भन्छन् । यो दुई अतिवादको बीचमा निर्णय गर्ने कसरी ? विधि र विधानअनुसार ।

हरेक विषय सहमति हुन सक्दैन । तर, यहाँ अरेक असम्भव विषयमा सहमति खोज्दा समस्या समाधान हुन सकेको छैन । हामीले जुन फ्यूजनको कुरा गरेका छौं, त्यो विधि र विधानमा आधारित हुन्छ ।

पार्टी एकता र तपाईको नेतृत्वमा सहमति जुटेपछि नेता-कार्यकर्तामा निकै उत्साह देखिन्छ । अब तीनवटा चुनाव आउँदैछन् । तपाईले कस्तो सपनामा देखिराख्नुभएको छ ? अब राप्रपा तेस्रो शक्ति बन्छ कि दोस्रो वा पहिलो नै बन्छ भन्ने लागेको छ ?

आकांक्षा, चाहना त सबैको हुन्छ । तर, म ‘रियालिस्टक’ कुरा गर्छु । यो तीनवटै चुनावमा हामी मुलुकका प्रमुख शक्तिहरुको हाराहारीमा हुनेछौं । पहिलो हुन पनि सक्छौं, दोस्रो हुन पनि सक्छौं, तेस्रो हुन पनि सक्छौं। तर, हाराहारीको शक्तिका रुपमा स्थापित हुन्छ ।

प्रमुख दलहरु भन्दाखेरि अब राप्रपाको पनि नाम आउँछ ?

आउँछ । अहिले पनि हामी चौथो छौं तर, धेरै पर छौं । अबचाहिँ प्रमुख दलहरुको हाराहारीमा आफूलाई स्थापित गर्न सक्छौं भन्ने लागेको छ । पहिलो हुन पनि सक्छौं, दोस्रो हुन पनि सक्छौं, तेस्रो हुन पनि सक्छौं । तर, दुरी धेरै हुँदैन । खासगरी संसदको चुनाव हुने बेलासम्ममा त्यो स्थितिमा पुर्‍याउन सक्छौं भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment