Comments Add Comment

वाईसीएलका चार नेता, जसले पाए स्थानीय सरकार चलाउने जिम्मा

तीन विद्यार्थी नेतृ बने उपमेयर

१२ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नयाँ र पूराना कार्यकर्तालाई व्यवस्थापन गर्न सघाउ पुर्‍याएको छ । कांग्रेस र एमालेका धेरै अनुभवी जनप्रतिनिधिले चुनाव जितेका बेला माओवादी केन्द्रबाट भने वाईसीएल र अखिल क्रान्तिकारीमा काम गरेका युवाहरु धेरै ठाउँमा निर्वाचित भएका छन् ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रका युवा तथा विद्यार्थी नेताहरु पनि स्थानीय तहको नेतृत्वमा पुगेका हुन् । उनीहरुको लागि जनप्रतिनिधि बनेर समाजको सेवा गर्ने यो पहिलो अवसर आएको हो ।

माओवादी शान्ति प्रक्रियामा आए लगत्तै चर्चामा आएको वाईसीएलले कानुन हातमा लिएर राज्य संयन्त्रलाई चुनौति दिएको आरोप खेप्नुपरेको थियो । अब यो स्थानीय चुनावपछि पूर्व छापामारहरुको बाहुल्य रहेको वाईसीएलका केही नेताले भने स्थानीय सरकार चलाउने र कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन् । उनीहरु आफ्नो भूमिकामा कसरी उत्रिन्छन् भन्ने चासो सबैतिर भइरहनेछ ।

वाईसीएलका तीन नेता गाउँपालिका अध्यक्ष चुनिएका छन् । कालिकोटका दुई र बाग्लुङको एक गाउँपालिका अध्यक्षमा वाईसीएल नेताहरु विजयी भएका हुन् ।

उनीहरु मध्ये एक हुन् खड्ग सेजुवाल । ६ नम्बर प्रदेशको वाईसीएल संयोजक समेत रहेका सेजुवाल कालिकोटको पचालझरना गाउँपालिका अध्यक्षमा चुनिएका छन् । उनले कांग्रेस उम्मेदवार भानुभक्त सन्ज्याललाई हराए । गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादीकै तारा न्यौपाने चुनिएकी छन् ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले पनि वाईसीएल नेतालाई गाउँपालिका अध्यक्षको जिम्मेवारी दिएको छ ।

वाईसीएलको आर्थिक बिभाग प्रमुख रहेका डम्बरबहादुर शाही गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेस उम्मेदवार गोरखबहादुर केसीलाई पराजित गरे । गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादीकै हजुरा बुढा चुनिएकी छन् ।

यसैगरी बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा प्रकाश घर्ती विजयी भएका छन् । उनी बागलुङ वाइसीएलको पूर्व जिल्ला अध्यक्ष हुन् ।

मकवानपुरको वागमती गाउँपालिकाका अध्यक्षमा निर्वाचित सर्केश घलान पनि वाइसीएलको पूर्वकेन्द्रीय सदस्य हुन् । दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका उनी हालै सम्पन्न गाउँपालिका अध्यक्ष निर्वाचित हुन सफल भएका हुन् । उनले एमालेका उम्मेदवार राजकुमार तिमल्सिनालाई पराजित गरे ।

सिन्धुलीको वाइसीएल जिल्ला इन्चार्ज विमर्श मोक्तानले मरिन गाउँपालिका वडानम्बर ४ को अध्यक्षमा जितेका छन् ।

तीन विद्यार्थी नेतृ बने उपमेयर

माओवादीकै विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट चार नेताले स्थानीय तहको नेतृत्व सम्हाल्दैछन् । जसमा तीन महिला पनि छन् र उनीहरु उपमेयर निर्वाचित भएका हुन् ।

विद्यार्थी नेतृहरु जानुका पराजुली, कविता ढुंगाना र दन्ता नेपाली ‘दर्शना’ उपप्रमुखमा चुनिएका हुन् ।

लक्ष्मण बम

बम अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हुन् । उनी अब यो जिम्मेवारीबाट मुक्त भएका छन् र कालिकोटको पलाता गाउँपालिकाको अध्यक्ष बनेका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार केशरसिंह बमलाई २३७ मत अन्तरले हराए । पलाता गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दाना न्यौपाने चुनिएकी छन् ।

जानुका पराजुली

अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य थिइन् । पत्रकारितामा समेत सक्रिय उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी सीता थापालाई १ हजार ४ सय ५५ मत अन्तरले हराइन् । चौताराको प्रमुख पदमा पनि माओवादीका अमानसिंह तामाङ चुनिएका छन् ।

कविता ढुंगाना

ढुंगाना पनि सचिवालय सदस्यको जिम्मेवारीमा थिइन् । अखिल क्रान्तिकारीको शहीद विद्यार्थी विभाग प्रमुखको जिम्मेवारी पनि उनलाई दिइएको थियो ।

कविताका बुवा भरतप्रसाद ढुंगाना जिल्ला विकास समिति नुवाकोटको पूर्वसभापति थिए, जसलाई माओवादी जनयुद्धमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर हत्या गरेको थियो । ६ हजार ६ सय ६६ मत ल्याएर कविता उपप्रमुखमा विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा सापकोटा २०६ मतअन्तरले हारिन् । नगरपालिकाको प्रमुखमा भने एमाले राजेन्द्र खनाल निर्वाचित भए ।

दन्ता नेपाली ‘दर्शना’

कालिकोटको तिलागुफा नगरपालिकाको उपप्रमुख चुनिएकी छन् । उनी माओवादीबाट उपप्रमुख चुनिएकी सबैभन्दा कम उमेरकी उम्मेदवार हुन् । २६ वर्षीया दन्ता अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य तथा बागबजारस्थित पद्मकन्या क्याम्पसको इकाइ अध्यक्ष पनि थिइन् । उनलाई अखिल क्रान्तिकारीले गत स्ववियु चुनावमा सोही क्याम्पसमा सभापतिको उम्मेदवार बनाएको थियो ।

तर, स्ववियु चुनावमा सफल हुन नसकेकी उनी गाउँपालिका उपप्रमुख पदमा निर्वाचित भइन् । उनले कांग्रेसकी प्रतिद्वन्द्वी लक्ष्मी शाहीलाई पराजित गरिन् । तिलागुफा गाउँपालिकाको अध्यक्षमा पनि माओवादीकै रतनबहादुर शाही चुनिएका छन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा चुनिएका सुविन्द्र तामाङ र रुकुमको मुसिकोट नगरपालिका वडानम्बर ५ को अध्यक्षमा चुनिएका सुशील गौतम पनि अखिल क्रान्तिकारीका नेताहरु हुन् । तामाङ र गौतम दुबै केन्द्रीय सचिवालय सदस्य थिए ।

जो असफल भए

स्थानीय तह चुनावमा वाईसीएलका केही वरिष्ठ नेता पराजित भए । तिनैमध्येका एक हुन् लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ । उनी वाईसीएलको पूर्व बरिष्ठ उपाध्यक्ष हुन् । अहिले पनि उनी वाइसीएल अध्यक्षको दाबेदार मानिन्छन् ।

उनी कालिकोटको खाँडाचक्र नगरपालिकाबाट चुनाव लडेका थिए तर, सफल हुन सकेनन् । उनी एमाले उम्मेदवार जसीप्रसाद पाण्डेसँग ७ सय ४७ मतअन्तरले पराजित भए ।

यसैगरी गोर्खाको अजिरकोट गाउँपालिकाबाट चुनाव लडेका दीपक देवकोटा पनि पराजित भए । उनी वाईसीएलको कार्यालय सदस्य हुन् । उनी मोहन वैद्य नेतृत्वको माओवादीमा रहँदा वाईसीएलको महासचिव थिए । पछि रामबहादुर थापा ‘बादल’ समूहसँगै उनी प्रचण्ड नेतृत्वको माओवादीसँग एकता प्रक्रियामा आएका थिए ।

यस्तै सिन्धुलीको पिक्कल गाउँपालिका अध्यक्षका उम्मेदवार खड्ग रोजनमगर ‘धिरज’ र काभ्रेको रोशी गाउँपालिका अध्यक्षका उम्मेदवार मिमबहादुर तामाङ ‘ज्वाला’ पनि निर्वाचनमा पराजित भएका छन् । उनीहरु दुबै वाईसीएलका कार्यालय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment