Comments Add Comment

तामाङ दाइ भन्छन्- गरीबलाई बजेट चाहिँदैन, नेपाल बन्द नहोस् !

नविन अर्याल

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सवा ६ खर्ब रुपैयाँको बजेट आज सार्वजनिक गर्दैछ । तर, बागबजारमा  भारी बोकिरहेको अवस्थामा भेटिएका रामेछापका धनवीर तामाङले यो बजेटमा आफूले कुनै अपेक्षा नराखेको बताए । ‘बजेटले हामीजस्ता गरिवहरुको जीवनमा केही फरक पार्दैन’ तस्वीरसमेत खिचाउन नमानेका तामाङले अनलाइनखबरसँग भने- ‘बन्द हड्ताल नभइदिएमा सहजरुपमा काम गर्न पाइन्थ्यो, हाम्रो चाहना यति नै हो ।’ महंगी बढ्दा गरीवको दैनिक गुजारा चलाउन समस्या परिररहेको बताउँदै उनले यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गरेका छन् ।man-carrying-foods

त्यस्तै डिग्री पढ्दै गरेका इमाडोलका बेरोजगार युवा अरुण खड्काले सरकारले बेरोजगारहरुलाई कि त जागिर दिनुपर्ने, नभएर भत्ता दिनुपर्ने माग गरेका छन् । ‘दुःख गरेर पढ्यो, भनेजस्तो जागिर पाइँदैन, तल्लो लेभलको काम गर्नुपर्ने हो भने किन खर्च गरेर पढ्नुपर्‍यो ?’ उनले भने- ‘सरकारले युवाहरुलाई स्वदेशमा रोक्ने हो भने दक्षता अनुसारको जागिर दिन सक्नुपर्छ, अन्यथा सबै युवाहरु विदेशिन वाध्य हुनेछन् ।’ उनले आगामी वर्षको बजेटमार्फत सर्टिफिकेट धितो राखेर सहुलियत ऋण पाउने व्यवस्था गर्न सुझाव दिए ।

म्याग्दीबाट राजधानी छिरेकी रीता पौडेलले अनलाइनखबरसँग गुनासो पोखिन्-‘मैले गणित विषयमा प्रथम श्रेणीमा मास्टर गरेको २ वर्ष बित्न लागिसक्यो, तर अहिलेसम्म दौडधुप गर्दा पनि जागिर पाउन सकेकी छैन । सरकारले आगामी वर्षको बजेटमा रोजगारी सिर्जनालाई विशेष जोड दिनुपर्छ भन्ने मेरो चाहना छ ।’
प्रथम श्रेणीमा मास्टर गरेर पनि होम ट्युसन पढाएर गुजारा चलाउनुपर्दा निकै दुःख लाग्ने गरेको पौडेलको भनाइ छ । सरकारले दक्षता अनुसारको रोजगारी सिर्जना नगरे सबै नेपाली विदेशिन बाध्य हुने उनले बताइन् । आफु पनि नेपालमा भनेजस्तो जागिर नपाएपछि विदेशिने सोचाइमा पुगेको उनको गुनासो छ ।

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषय अध्ययन गरिरहेका संगम क्षेत्रीको गुनासो पनि खाद्यवस्तुको मूल्य वृद्धिमै रहेको छ । ‘सरकारले बजेटमा आम सर्वसाधारणलाई प्रत्यक्ष लाभ हुनेखालका कार्यक्रमहरु ल्याउनुपर्छ’ उनले भने- ‘महंगी नियन्त्रण गर्न सकेमा अधिकांश जनताले राहत पाउँछन् भन्ने लाग्छ ।’ सीमित स्रोत साधनमा जिल्लाबाट शहरमा पढ्न आउने विद्यार्थीलाई अप्रत्याशित महंगीले असर पार्ने गरेको उनको गुनासो थियो ।

सानेपा घर भएकी गृहणी सरजु ढकालले भान्साको समस्याबारे अवगत गराउँदै अनलाइनखबरसँग भनिन्- ‘बजेटले मूल्यवृद्धि नियन्त्रणमा जोड दिनुपर्छ । दैनिक अत्यावश्यक वस्तुहरुको मूल्य बढेर भान्सा महंगो बन्दै गइरहेको छ, तर आम्दानीमा वृद्धि हुन सकेको छैन ।’ खाद्यान्न र तरकारीको भाउ आकाशिँदा सर्वसाधारणलाई दैनिक गर्जो टार्न धौ-धौ पर्न थालेको उनको भनाइ थियो ।

गत असारदेखि अहिलेसम्म एक वर्षको अन्तरालमा प्रमुख खाद्य वस्तु तथा तरकारीको भाउ ५० प्रतिशतसम्म बढेको छ । तर, सर्वसाधारणको आम्दानीमा कुनै वृद्धि हुन सकेको छैन । खासगरी मूल्य वृद्धिबाट तल्लो वर्ग र विद्यार्थीहरु पिल्सिने गरेका छन् । बजेटमा सरकारी कर्मचारीको अपेक्षा भने छुट्टै रहेको छ । उनीहरुले सरकारले तलब बढाइदियोस् भन्ने चाहना राखेका हुन्छन् । पेशाले शिक्षक रहेका बुटवलका रमेश भण्डारीले शिक्षकहरुको तलब भत्ता र सेवा-सुविधाहरु बढाउनुपर्नेमा जोड दिएका छन् । ‘शिक्षकलाई राज्यले प्राथमिकतामा राख्ने गरेको छैन, कुनै सेवा-सुविधाहरु नपाइने हुँदा शिक्षक पेशालाई विकल्पका रुपमा लिन थालिएको छ’ उनले भने- ‘बजेटमार्फत आकर्षक सेवा-सुविधाहरु उपलब्ध गराएर सरकारले शिक्षण पेशालाई आकर्षक पेशाका रुपमा स्थापित गर्नुपर्छ ।’

स्वरोजगार कोषका कार्यक्रम अधिकृत मोहन अर्यालले पनि महंगी नबढाउने गरी तलब-भत्ता वृद्धि गर्नुपर्नेमा जोड दिए । ‘अहिलेको महंगीलाई थप चर्काउने गरी तलब भत्ता बढाएमा सर्वसाधारण मारमा पर्छन्’ उनले भने- ‘अहिलेको महंगीलाई ब्यालेन्स गर्ने गरी तलब भत्ता वृद्धि गर्नुपर्छ ।’ अर्यालले बजेट सिधै जनतामा पुग्ने खालको हुनुपर्ने बताए । कृषिमा लगानी बढाएर गाउँ-गाउँसम्म रोजगारी सिर्जना गर्ने तथा युवाहरुलाई स्वरोजगार बनाउनेतर्फ बजेटले जोड दिनुपर्ने उनको भनाइ छ । कृषिमा युवाहरुलाई आकषिर्त गर्न सोही अनुरुपमा आकर्षक सेवा-सुविधाहरु उपलब्ध गराउनुपर्नेमा उनले जोड दिएका छन् । उनले उर्जा र पर्यटन क्षेत्रमा पनि लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment