११ भदौ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले नेपालको जलस्रोतलाई बाँदरका हातमा नरिवल बनाइएको बताएका छन् । जलस्रोतको धनी भनेर गर्व गर्ने तर त्यसको उपयोग गर्न नदिने प्रवृत्ति हावी भएको भन्दै उनले यस्तो बताएका हुन् ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १५ वाषिर्क साधारणसभामा मन्त्री महतले भारतसँग हुन लागेको पावर ट्रेड एगि्रमेन्टको विरोध गर्नुको तुक नरहेको दाबी गरे ।
‘हामीले २० औं वर्षदेखि नेपाल जलस्रोतको धनी देश भन्दै गर्व गरिरहेका छौं’ महतले प्रश्न गरे- कहिलेसम्म जलविद्युतलाई बाँदरका हातमा नरिवलजस्तो बनाउने ?
माथिल्लो कर्णालीको पीटीएको विरोध गर्नेहरुप्रति लक्षित गर्दै पीटीए नगर्ने हो जलविद्युतमा ठूलो लगानी नआउने उनले बताए । ‘कतिपय साथीहरुले माथिल्लो कर्णालीको पीटीए अहिलेको प्राथमिकता होइन भनिरहनुभएको छ, त्यसो भए हाम्रो प्राथमिकता भारतबाट विजुली किन्ने हो ?’ उनले प्रश्न गरे ।
नेपालको राजनीतिमा अहिले पनि व्यवधानकारी प्रवृति हावी भएको उनको भनाई थियो । कुरा अग्रगमनका गर्ने तर मुलुकलाई सम्मृद्धितर्फ जान नदिने गैरजिम्मेवार राजनीति गर्ने अधिकार कसैलाई पनि नभएको उनले प्रष्ट पारे ।
अब देशलाई सम्मृद्धिको बाटोमा अघि बढ्न कसैले रोक्न नसक्ने उनको दाबी छ । टाट उल्टिएका दिवालीया आर्थिक सोच पश्चगमन भएको उनले बताए ।
आर्थिक उदारीकरणको विकल्प नरहेको दाबी गर्दै मन्त्री महतले उदारीकरणका नाममा सरकारले पूर्णरुपमा खुल्ला नछाड्ने बताए । ‘नेपालमा सरकारको नीति सफल भएको छ तर सरकार स्वयम भने असफल भएको छ’ उनले भने- प्रभावकारी अनुगमन गर्न नसक्दा सरकार असफल भएको हो । कर्मचारीतन्त्रमा व्यापक राजनीतिकरण भएकाले सरकार असफल भएको उनको भनाई थियो ।
त्यसैगरी मन्त्री महतले काम नगर्ने सरकारी संस्थानको दायितव सरकारले लिनुको औचित्य नभएको बताए । ‘सरकारले जति धेरै ठाउँमा हात हाल्छ त्यो सरकार र राष्ट्र दुबै असफल हुन्छन्’ उनले भने -सरकारको काम नियमन गर्ने मात्रै हुनपर्छ ।
मन्त्री महतले आर्थिक आर्थिक पत्रकारहरुको क्षमता विकास र आपतकालीन सहयोग गर्न अर्थमन्त्रालय तयार रहेको समेत जानकारी दिए ।
प्रतिक्रिया 4