Comments Add Comment

बोगटीको मृत्युको कारण बन्यो ‘जनमैत्री अस्पताल’

३१ भदौ, काठमाडौं । सोमबार निधन भएका एकीकृत नेकपा माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको उपचारमा उचित सावधानी नअपनाइएको खुलासा भएको छ ।

बचाउने प्रशस्तै सम्भावना हुँदाहुँदै उनको निधन भएको भन्दै डाक्टरहरुले यस्तो अवस्थामा परिवारका सदस्यले विशेष शतर्कता अपनाउनुपर्ने बताएछन् ।

एक चिकित्सकले दिएको जानकारीअनुसार बोगटीमा हृदयाघात हुनुभन्दा केही घण्टा अगाडि नै हृदायाघातको पहिलो रुप एन्जाइना भएको थियो । तर, उनलाई अस्पताल नलगेर चार दलको बैठकस्थलबाट घर पठाइयो । हृदयाघात भएपछि बोगटीलाई एमाओवादीको लगानीमा खोलिएको जनमैत्री अस्पतालमा निकै ढीलो गरी पुर्‍याइयो ।

बैठकस्थलबाट आराम गर्न भन्दै घरमा

posta-bogati1बिहीबार चार दलको बैठक चलिरहेको समयमा नै बोगटीलाई हृदयाघातको प्रारम्भिक लक्षण देखिएको थियो । बैठक भइरहेको समयमा बोगटीलाई छातीमा पीडा हुने, पसीना आउने र आँखा धमिलो हुने समस्या देखिएको थियो ।

मुटुरोग विशेषज्ञहरुका अनुसार उच्च रक्तचाप भएका व्यक्तिहरुमा यस्तो लक्षण देखिनु मुटुरोगको पहिलो अवस्था एन्जाइना हुनु हो । एन्जाइना शुरुको अवस्था हो भने हृदयाघात विकसित अवस्था हो । बोगटी पहिलेदेखि नै उच्च रक्तचापबाट ग्रसित थिए ।

मुटुरोग विशेषज्ञहरुका अनुसार छाती दुख्न शुरु भएको समयलाई हृदयाघातको शुरु मान्नुपर्छ । छाती दुख्न शुरु भएको एक घण्टाभित्र रगतको थेग्रो जमेर बन्द भएको कोरोनरी रक्तनलीलाई औषधि दिएर वा अन्य उपाय (एन्जियोप्लास्टी)बाट खोल्न सकिन्छ ।

तर, बोगटीलाई छाती दुख्न शुरु भएपछि आरामका लागि भन्दै बैठकस्थलबाट घर लगिएको थियो । यस्तो प्रारम्भिक लक्षण देखिएका व्यक्तिलाई १ देखि ६ घण्टाभित्र उपचार गर्न सकेमा पूर्णरुपमा ठीक पार्न सकिने चिकित्सकहरु बताउँछन् ।

छाती दुखेको ६ घण्टा नाघिसकेपछि जति ढीलो हुन्छ, त्यति नै मुटु बढी क्षतिग्रस्त हुन्छ । बोगटीको हकमा पनि त्यही भएको चिकित्सकहरुको विश्लेषण छ । ‘बैठकमै एन्जाइना देखिएपछि बोगटीलाई तत्काल मुटुरोग विशेषज्ञकहाँ लगिनु पर्ने थियो’ नर्भिक अस्पतालका एक चिकित्सकले भने, ‘तर उहाँहरुलाई हृदयाघातको लक्षणका बारेमा थाहा नभएर होला, आरामका लागि घरमा पठाइयो ।’

उनका अनुसार बिहीबार दिउँसो नै एन्जाइना देखिएका बोगटीलाई राति ९ बजेतिर म्यासिभ हृदयाघातले समातेको थियो ।

जनमैत्री अस्पताल लैजानु अर्को गल्ती

‘हृदयाघात भएलगत्तै पनि बोगटीको उपचार एक घण्टाभित्रै भएको भए बाँच्ने सम्भावना धेरै हुन्थ्यो’ ती चिकित्सकले भने, ‘तर उहाँलाई पहिला जनमैत्री अस्पताल र त्यसपछि मात्रै गंगालाल लगियो, जतिबेला धेरै ढीला भैसकेको थियो ।’

मुटुरोग विशेषज्ञहरुका अनुसार हृदयाघात भएका व्यक्तिलाई एक घण्टाको समयमा अस्पताल पुर्‍याउन सकिएमा धेरै हदसम्म बचाउन सकिन्छ । चिकित्सकीय भाषामा यसलाई ‘गोल्डेन आवर’ भनिन्छ ।

तर, बोगटीलाई हृदयाघात भएपछि पनि केहीबेर घरमै राखिएको थियो । सानोभर्‍याङस्थित निवासमा बोल्दाबोल्दै एक्कासी उनी बेहोस भएर ढलेका थिए ।

पार्टीनिकट सूत्रका अनुसार बेहोस हुनुअघि उनले ‘मलाई हर्ट एट्याक भएजस्तो छ’ भनेर छातीमा हात राखेका थिए । त्यसपछि बेहोस भएका बोगटीलाई कहाँ लैजाने भन्ने अलमलमा परेका परिवारले चिकित्सकको खोजी र आवश्यक तयारी गर्दागर्दै झण्डै एक घण्टा बितिसकेको थियो ।

मुटुरोग विशेषज्ञहरुका अनुसार हृदयाघातका कारण बेहोस भएका व्यक्तिलाई एक घण्टाभित्र हृदयाघातको उपचार सुविधा भएको स्थानमा पुर्‍याइसक्नुपर्ने हुन्छ । तर, बोगटीको गोल्डेन आवर घरमा नै बितिसकेको थियो ।

गोल्डेन आवरमा अस्पतालमा नपुगेका धेरै मानिसको बाँच्ने सम्भावना कम हुन्छ । यस्तै कोहीमा बेहोस भएर ढलेको ९० मिनेटसम्म पनि गोल्डेन आवर हुने गर्दछ । तर, बोगटीले उक्त ९० मिनेटमा पनि मुटुरोग विज्ञकहाँ पुग्न पाएनन् ।

जनमैत्री अस्पताल त्यही थियो, जसमा लगानी गरिएको लडाकूको सम्पत्तिबारे बोगटीले जीवित हुँदा छानविन गरेका थिए । बोगटीको प्रतिवेदन अझैसम्म छानविन गरिएको छैन । यसलाई एउटा अनौठो संयोग नै मान्नुपर्ने हुन्छ, बोगटीलाई अन्तिम घडीमा सोही अस्पतालमा पुर्‍याइयो ।

राजधानीमै भए पनि डाक्टरसम्म पुग्न ढिलाइ

बेहोस भएर ढलेको झण्डै एक घण्टामा मात्रै बोगटीलाई बालाजुस्थित जनमैत्री अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल स्रोतका अनुसार घरबाट जनमैत्री लैजाने समयमा नै ढीला भैसकेको थियो, जनमैत्रीले हृदयाघातले गम्भिर रुपमा च्यापिसकेको भन्दै बोगटीलाई बाँसबारीस्थित गंगालाल अस्पताल पठाएको थियो । गंगालालमा पुगिसक्दा बोगटीको अवस्था निकै नाजुक भैसकेको थियो ।

गंगालाल अस्पताल स्रोतका अनुसार बोगटीलाई अस्पतालमा ल्याइपुर्‍याउँदा मस्तिष्कघात समेत भैसकेको थियो । समयमा नै बन्द भएको मुटुको रक्तनली नखोलिँदा मस्तिष्कको नली फुट्न पुगेको बताए ।

गंगालालले ढीलै ल्याइए पनि मुटुको रक्तनली खुलाउन एन्जिओप्लास्टी सर्जरी गरेको थियो । त्यसपछि उनको मुटुको चालमा केही सुधार आएको थियो । तर, समयमै एन्जिओप्लास्टिका लागि अस्पतालमा ल्याइनपुर्‍याएकाले बोगटीको बायाँ भागको मस्तिष्कमा पूरै रगत जमिसकेको थियो ।

‘हृदयाघातका कारण मुटुमा रगत प्रवाह बन्द भएपछि शरीरको जुनसुकै भागको नसा फुट्न सक्छ’ ती चिकित्सकले भने, ‘यस्तो बेलामा धेरैजसोको मस्तिष्कको नली फुट्ने सम्भावना हुन्छ, दुर्भाग्य, उहाँको पनि त्यस्तै भयो ।’

गंगालालले शुक्रबार बिहान गरेको सिटीस्क्यानमा बोगटीको मस्तिष्कमा रगत जमेको पाइएपछि मास्तिकष्कघात भएको पुष्टि भएको थियो । त्यसपछि उनलाई नर्भिक अस्पताल सारिएको थियो ।

नर्भिक अस्पतालमा बोगटीलाई पुर्‍याइउँदा उनको मुटुको चाल निकै मन्द अवस्थामा थियो, मष्तिष्कघातका कारण शरीर प्यारालाइसिस भैसकेको थियो । समयमा नै रोगको जटिलताका बारेमा जानकारी नहुँदा गम्भीर अवस्थामा गंगालाल र पछि नर्भिकमा पुर्‍याइएका बोगटीलाई निको पार्न मिराकल नै हुनुपर्ने भन्दै नर्भिकका चिकित्सकले जोडतोडले मिहेनत गरिरहेका थिए ।

‘गंगालालमा नै समयमा पुर्‍याएको भए उहाँलाई मस्तिष्कघात नहुने रहेछ’ नर्भिकका एक चिकित्सकले भने-‘तर रोगको जटिलता नबुझ्दा ठूलो दुर्घटना बेहोर्नुपर्‍यो ।’

डाक्टरको अथक प्रयास

नर्भिकले उपलब्ध गराएको बोगटीको स्वास्थ्य विवरणअनुसार उनी अस्पतालमा आइपुग्दा प्यारालाइसिस भैसकेको, बोल्न नसक्ने, एउटा आँखामात्र सामान्य हल्लिने, रगतको चाप कहिले एक्कासीमाथि चढ्ने त कहिले निकै तल झर्ने अवस्था थियो ।

अस्पतालले बोगटीलाई बचाउन ब्लड प्रेसर कायम हुने औषधि तथा अन्य औषधि र उपचार विधिको प्रयोग गर्दै भेन्टिलेटरमा राखेको थियो ।

अस्पतालले पटक-पटक मुटुको चाललाई कायम गर्न कार्डियाक पल्मोनरी रिसाइटेस (सीपाअर) पनि गरेको थियो । आधुनिक औषधि तथा उपचारसँगै अस्पतालले परम्परागत उपचार विधि पनि अपनाएको थियो । तर, आइतबार बिहान ७ बजेर २५ मिनेटमा उनको मृत्यु भयो ।

नर्भिकका चिकित्सकले पनि समयमा नै रोगको गम्भीरता नबुझ्दा बोगटीको मृत्यु हुन पुगेको जनाएका छन् ।

हृदयाघातमा ख्याल गर्नुपर्ने कुराहरु

चिकित्सकका अनुसार हृदयाघात भएका बिरामीमध्ये झण्डै ५० प्रतिशतको मृत्यु १ घण्टाभित्रै हुन्छ । हृदयाघातपछि अस्पतालको उपचार पाउने बिरामीमध्ये पनि ६ देखि ९ प्रतिशतको मृत्यु हुन्छ ।

मुटुमा रहेका रक्तनलीहरुमा बोसो जम्दै गएर रक्तनलीमा रक्त प्रवाह कम हुन्छ । बिस्तारै रक्त प्रवाह नै रोकिएपछि मुटुका मांसपेशीको मृत्यु हुन्छ । यसले गर्दा हृदयाघात हुन्छ ।

हृदयघातका कारक तत्वहरुमा बढ्दो उमेर (पुरुषमा ४५ वर्षमाथि र महिलामा ५५ वर्षमाथि), वंशाणुगत कारण, धूमपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपना, आलस्यपना, मानसिक तनाव, चिन्ता आदि हुन् ।

धूमपान गर्ने व्यक्तिमा हृदयघातको सम्भावना २ देखि ३ गुणाले बढी हुन्छ । चिल्लो, नुनिलो र बोसोयुक्त खाना, शारीरिक व्यायामको कमी तथा मानसिक तनाव पनि हृदयघातका कारक तत्व हुन् ।

हृदयाघातका लक्षणहरु

छातीको बीच भागमा पीडा हुनु, चक्कर लाग्नु, खल्खली पसीना आउनु, सास नपुगेको जस्तो भई निसास्निु, दम बढ्नु र आँखा धमिलो हुनु आदि हृदयाघातका लक्षण हुन् ।

छातीको पीडा बढ्दै गएर सहन नसक्ने गरी दुख्ने, छातीमा ढुंगाले थिचेजस्तो हुने र यो पीडा बाँया पाखुरा, चिउँडो हुँदै घाँटीतर्फ सर्ने यसका लक्षण हुन् ।

बच्ने उपायहरु

यस्तो लक्षण देखिनासाथ मुटुरोगको उपचार हुने स्वास्थ्य संस्थामा गैहाल्नुपर्छ । हृदायाघात हुन नदिन मुटुको रक्तचाप बढ्न नदिने, नून, चिल्लो एवं कोलेस्टेरोल कम भएका हरियो सागपात, गेडागुडी र फलफूल बढी खाने सल्लाह चिकित्सकहरुको छ ।

त्यस्तै नियमित व्यायाम गर्ने, रातो मासु नखाने, धुम्रपान नगर्ने, मानसिक तनाव नलिने, मधुमेहको नियन्त्रण गर्ने सुझाव चिकित्सकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment