‘नयाँ राष्ट्रिय एकीकरण’ त्रैमासिकको प्रथम अंक सम्पादकीयमा प्रचण्ड विचारधारा निर्माणको प्रस्ताव भएको छ ।
उक्त त्रैमासिक एकीकृत नेकपा (माओवादी) समर्थित संयुक्त राष्ट्रिय मोर्चाको मुखपत्र हो । त्रैमासिकको विमोचन समारोहमा अध्यक्ष प्रचण्डले प्रचण्ड विचारधारा प्रस्तावमा आफू असमहत रहेको बताउनुभएको कुरा विभिन्न सञ्चार माध्यमबाट सर्वत्र प्रचार भएकै छ । उक्त असहमतिलाई अध्यक्ष प्रचण्डको महानताको रुपमा त्यही समारोहमा स्पष्ट गरिसकिएको छ ।
विमोचन समारोहमा नेपालमा नयाँ राष्ट्रिय एकीकरण आजको वस्तुगत आवश्यकता रहेको भन्दै अध्यक्ष प्रचण्डले पृथ्वीनारायण शाहको भौगोलिक एकीकरण त्यसबेलाको वस्तुगत आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको थियो । तर, पुरानो एकीकरणले आजको नेपालको आवाश्यकता संबोधन गर्न नसक्ने भएकाले नयाँ राष्ट्रिय एकीकरण टड्कारो रहेको बताउनुभयो ।
गणतन्त्र नेपालको युगमा नयाँ एकीकरण गरेर मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा सीमान्तकृत समुदाय सबैको न्याय र समानता हुने अध्यक्षले बताउनुभयो । त्यस्तै, अभिजातवर्गीय पहाडिया अहंकारवादले नै नेपाली राष्ट्रिय एकता कमजोर बनाएको स्पष्ट गर्दै नयाँ राष्ट्रिय एकीकरण प्रकाशनको शुभकामना दिनु भएको थियो ।
अध्यक्ष प्रचण्डका प्रस्तुत वैज्ञानिक बिचारहरुमाथि मिडियामा चरम पहाडिया अहंकारग्रस्त प्रतिक्रियाहरु पनि सार्वजानिक भए । ती प्रतिकृयाहरु हेर्दा यहाँ दिगो शान्ति र अग्रगामी संविधान दुरुह बन्ने खतरा प्रवल देखिन्छ ।
मिडियामा आएका प्रतिकृयाहरु के कति विश्वसनीय छन्, त्यो छुट्टै पाटो हो, तर यसको विश्लेषण गर्दा उनीहरुमा वर्ग दृष्टिकोण स्पष्ट नभएको अनुमान सहजै लगाउन सकिन्छ । र, त्यस प्रतिकृयाले अभिजात वर्गीय पहाडिया अहंकारवाद मृत्यु शैय्यामा अन्तिम छटपटाहट गरिरहेको नै स्पष्ट गर्छ ।
प्रचण्ड विचारधाराको समग्र सैद्धान्तिक ब्याख्या विश्लेषण, विचार संघर्ष र दुईलाईन संघर्षमा जोडदार ढंगले जारी रहने नै छ । यहाँ केवल यसको पृष्ठभूमि र औचित्य प्रकाश पार्ने काम गरिएको छ ।
क्रान्ति र प्रतिक्रान्तिको प्रश्न
लेनिनका अनुसार कुनै पनि क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी सिद्धान्त र संगठन आधारभूत सर्त हो ।
माओका अनुसार कम्युनिष्टले राज्यसत्तामा पुग्नका लागि क्रान्ति, सत्तामा पुगेर पनि खराब विचार प्रवृत्तिकाविरुद्ध क्रान्ति र जबसम्म विश्व साम्यवादी व्यवस्था सुनिश्चित हुँदैन, तबसम्म निरन्तर क्रान्ति जारी राख्नु पर्छ ।
अध्यक्ष प्रचण्डका अनुसार २१ औं शताब्दीको सर्वहारा वर्गले क्रान्ति गर्ने मात्र होइन, खासगरी प्रतिक्रान्ति रोक्ने वैज्ञानिक विचार र विधिको विकास गर्न सक्नुपर्छ ।
नेपालमा क्रान्ति भनेको विगत एकात्मक सामन्ती राजतन्त्रद्वारा उत्पीडित मजदुर-किसान, सुकुम्बासी, जाति, क्षेत्र तथा महिलाहरुको राजकीय पहिचान र अधिकार संस्थागत गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नु हो । साथै, प्रगतिशील पंक्ति र देशको माया गर्ने राष्ट्रिय चरित्रका पुँजीपति समेतको प्रोत्साहनबाट नयाँ राष्ट्रिय एकीकरण कार्य सफल तुल्याउनु हो । प्रतिक्रान्ति भनेको स्वतःक्रान्ति विपरीत गएर देश र जनतालाई संकटमा धकेल्नु हो ।
अत : सर्वहारावर्गको अग्रदस्ताले समाजवादी, जनवादी र राष्ट्रिय मुक्तिआन्दोलन लडिरहेका शक्तिहरुलाई एकतावद्ध तुल्याउनुका साथै अनेक रुप-रंगका प्रतिक्रान्तिकारी गतिविधिमाथि निर्णायक विजय हासिल गर्दै अघि बढ्न विज्ञानको विकास गर्नै पर्छ ।
प्रचण्डविचारधारा जिन्दावाद !
दिगो शान्ति र नयाँ संविधान निर्माणका क्रममा माओवादी र प्रचण्डको पूरै छाला काढियो । तर, क्रान्ति पूरा भएन, न त नयाँ नेपाल नै बन्यो । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै फेरि परिवर्तन र पहिचान पक्षधर एकीकृत नेकपा -माओवादी) र अध्यक्ष प्रचण्डसँगै आशावादी देखिन्छन् ।
संघीय गणतान्त्रिक मोर्चा तथा अनेक संघीय गठबन्धन लगायत पार्टी अन्तर्गतकै वितृष्ण देखिने मोर्चा संगठनहरु दोस्रो संविधानसभाबाट जनपक्षीय संविधान निर्माणको पक्षमा आन्दोलित बन्नु यसको प्रमाण हो । परन्तु, क्षणिक जागरण वा उत्तेजनाले मात्र परिवर्तन र पहिचान संस्थागत हुन सक्दैन । यसको वास्तविक सँस्थागत कार्यका लागि विज्ञानको विकास र आत्मसातीकरण प्रारम्भिक शर्त हो ।
त्यसैले यहाँ प्रचण्ड विचारधाराको स्थापना अपरिहार्य छ । यसको अभावमा वैज्ञानिक विचार र क्रान्तिकारी नेतृत्वको अभाव हुन्छ ।
त्यसैले माओवादीमात्र होइन, परिवर्तन र पहिचान पक्षधर सबैले प्रचण्ड विचारधारा जिन्दावादको जोड्दार नारा दिन जरुरी छ । आदिवासी, जनजाति, मधेशी, महिला, दलित, मुस्लिम र सीमान्तकृत सबै माओवादी बन्न जरुरी छ । तब दीगो शान्ति र संविधान सम्भव हुन्छ ।
अन्तमा, एक्काइसौँ शताब्दीको गणतन्त्र नेपालमा एक सवल सर्वहारावादी पृथ्वीनाराण शाहको आवश्यक छ । देश र जनताको पक्षमा समर्पित प्रचण्ड जस्ता नेताहरु जीवित रहेकै बेला उहाँहरुको सकारात्मक मूल्याङ्कन तथा समर्थन आज अनिवार्य छ । जसले नयाँ राष्ट्रिय एकीकरणको सफल नेतृत्व गरोस् ।
(एमाओवादीका स्थायी समितिका सदस्य किरातीको यो व्यक्तिगत विचार हो )
प्रतिक्रिया 4